| बिहिबार, मंसिर ११, २०७७

म्हेन्दोको काँडा बिझ्ने स्कूल

शिव उप्रेती

स्यारको साल्मेभीरमा घण्टा बजाउँदै गाई गोरु चरिरहेका छन् । म्हेन्दो डोल्मा धुपीको पोथ्रामा चढेर चराको भन्दा चर्को स्वरमा गीत गाइरहेकी छ । त्यो भन्दा माथिको रुखबाट फुर्बुले गीतको जवाफ दिइरहेको छ । दुवैको गीत तिब्बती भाषा, तिब्बती भाकामा छ ।
घरीघरी उ रुखबाट पात चुँडेर फाल्छे । पात फिनिनिनी घुम्दै स्यार खोलामा खसेको हेर्न कम्ति रमाइलो छैन । आफ्नो पालोमा गीतको जवाफ फर्काउने ध्याउन्न एकातिर, अर्कातिर पात खसाएर रमाइलो गर्न उनलाई भ्याइनभ्याइ छ ।
ठाडो भीरको जोखिम उनले पत्तै पाएकी छैन ।
रुखबाट बाँदर झै कराएर चुमभ्याली जाने पर्यटकलाई जिस्क्याउनुको मज्जा बेग्लै । कोही बटुवा उस्तै आवाजमा जवाफ फर्काउँथे । कोही फोटो खिच्दै जान्थे ।
शरद ऋतु, मध्यान्नको सुमधुर घाम । बारीमा लट्टे राताम्यै छ । स्यारखोला वारिपारि साल्मेभीर छ । छङ्गाछुर भीरमा गाउँलेहरु साल्मे घाँस काटेर सुकाउने काममा ब्यस्त देखिन्छन् । चिप्लियो भने सिधै दुईसयतीनसय मिटर तल स्यारखोलाको प्रवाहमा पुग्ने छङ्गाछुर भीरको डर कत्तिपनि छैन । केवल पुसमाघतिर हिउँ पर्छ । चरन हिउँले ढाक्छ । त्यतिबेला गाईबस्तुलाई साल्मेको पराल खुवाउन गज्जब हुन्छ भन्ने मात्र मनमा छ ।
ऐनाजस्तो कञ्चन चुम उपत्यका । पूर्वी घेरामा देखिने गणेश हिमाल, आफ्नै शीरमाथि चमार हिमालको ग्ल्यासिएर, पश्चिमतर्फ वुद्ध हिमालको अँगालोमा रमाएर म्हेन्दोो १० बर्ष बितेको छ ।
यो उमेरसम्म म्हेन्दोहरुले स्कूल नदेखेका होइनन्, गाउँमै छ पेमाथाङ प्रावि । उनीहरुका बा त्यही स्कूलमा भर्ना भएका थिए कुनै दिन । अहिले म्हेन्दोहरु त्यही स्कूलको कोठाकोठामा याकचौरी चराउँछन् । बर्खा महिनामा त झाडीले ढपक्कै ढाक्छ, छिचोल्न पनि नसकिने गरी । स्कूलमै बस्तुभाउ डुब्छन्, हराउँछन् ।
म्हेन्दो गाईबाख्रा लिएर खोच्याउँदै खोच्याउँदै साँझतिर घर पुग्छे । खुट्टामा काँडा पसेकाले दर्द धेरै नै थियो । त्यसैले कम्मलमा गुटुमुटु भएर अँगेना नजिकैको ओछ्यानमा सुत्छे ।
अँध्यारो छिप्पिदै गएपछि आमाले उसलाई उठाइन् । फकाइफकाइ ढिडो खुवाइन् । पीडा र आमाको ममताले उसको आँखाबाट भल्भली आँशु झरिरहेको थियो ।
आमाले सुम्सुम्याउँदै सोधिन्, ‘कहाँ बिझ्यो काँडा ?’
‘स्कूलमा ।’
‘उठ् म झिकिदिन्छु ।’ टाउकोमा हात लगाएर उठाइन् ।
‘किन लगेकी त स्कूलमा याक चौँरी ?’
‘मलाई त्यतै जान मन पर्छ ।’
‘स्कूलमा पढ्न जान पाइनस् । गाई चराउन जान मन गरेर के गर्छेस् त ?’
‘खै कहाँनेर बिझ्यो ?’
‘यी यहाँ ।’
‘पख् है म तेल तताएर ल्याउँछु ।’
पेमाथाङ प्रावि बन्द भएको २० बर्षभन्दा बढि भएको थियो । शिक्षक र विद्यार्थी नभएपछि स्कूल आफसेआफ बन्द भएको थियोे । शिक्षक सबै तल्लो भेगका थिए । चार, पाँच दिनको बाटो हिडेर गएका शिक्षक बर्षमा जम्मा ३० दिन पनि बस्दैनथे ।
‘स्कूलमा विद्यार्थी नै आउँदैनन् । एक दिन, दुई दिन, तीन दिन, कति दिन बस्ने रित्तो स्कूलमा ? शिक्षक प्रश्न गर्थे ।
‘दशै मान्न गएका मास्टरहरु दशै, तिहार सकेर कात्तिकको अन्तिम हप्ता, मंसीरको पहिलो हप्तातिर आउँछन् । अनि पुस एकगते जाडो विदा गरेर झर्छन् । चैतसम्म हिउँ पर्ने सिजन । वैशाख, जेठ घरमा ढोका थुनेर यार्सागुम्बा टिप्न जाने सिजन, बालबच्चा पनि लेकतिर जान्छन् । असार, साउन, भदौ बर्खा महिना बाटोघाटो हिडिसक्नु हुदैन । अनि एकैचोटि असोजमा केही दिन आउँछन् । केही दिन बसेर दशै मान्न जान्छन् । अनि विद्यार्थी कसरी स्कूल जाउन् ?’ अभिभावकहरु प्रश्न गर्थे ।
दुई पक्षको आ(आफ्नै प्रश्न थियो । तर विद्यालय बन्द किन भयो भन्ने खास निश्कर्ष कसैले खोजेनन् ।
स्कूल जंगल जस्तो बनेको थियो तर शिक्षक बेलाबेला किन झुलिरहन्छन् ? किन अध्यक्षलाई भेटिरहन्छन्, भनेर कुनै अभिभावकले पनि चासो राखेनन् ।
विद्यालय बन्द भए पनि उनीहरु अध्यक्षसंग लोलोपोतो मिलाएर विद्यालयको अभिलेख अद्यावधिक गरिरहन्थे । म्हेन्दोहरुको नाममा पाठ्यपुस्तकको रकम आउँथ्यो । छात्रवृत्ति रकम आउँथ्यो । पिसिएफ, मसलन्द सबै आइरहन्थ्यो ।
बाह्रै महिना दस नङ्ग्रा खियाउने गाउँलेलाई यस्ता कुरा थाहा होओस् पनि कसरी ?
पाँचबर्ष अघि शिक्षा कार्यालयले विधिवत रुपमा पेमाथाङ बन्द गरिदियो । शिक्षकलाई फिलिम र गपमा सरुवा गरिदियो । विद्यार्थीहरुचाहिँ घरघरमै ।
आमा तातो तेल लिएर आइपुगिन् । ‘खै कहाँनेर हो थाप् त ?’
उसले बुढीऔँलाको फेदलाई उत्तानो पारी । उनले खप्न सकुञ्जेलको तातो तेल खन्याएर सेकाइदिइन् । तेलमा भिजाएको टालो बालेर घाउमा डामिदिइन् । खुट्टाको दुखाइ टाउकोमा पुग्यो । आत्थाआत्था भन्दै धेरैबेर छटपटाइरही ।
पेमाथाङ प्राविमा जम्मा एउटा चारकोठे भवन थियो । कुनै बेला कक्षा तीनसम्म पढाइ हुन्थ्यो । विद्यालय बन्द भएको दुई दशक भइसकेको थियो । भुइँचालोले गारो ह्वाङ्ङै बनाइदियो । भग्नावशेषमा साल्मे उम्रिएको छ । जस्ताले छाएको स्कूलको छानालाई पातीको बुटाले उछिनेको छ ।
गाउँबाट भिरभिरै पश्चितिर १५ मिनेट हिडेपछि स्कूल पुगिन्छ । स्कूल किन यति टाढा एकान्त जंगलमा बनाएका भन्ने म्हेन्दोले बुझेकी छैन । स्कूल नजिक हुनुपर्छ भन्ने थाहा भयो भने नै यो स्कूलचाहिँ टाढा रहेछ भनेर थाहा हुन्छ ।
म्हेन्दोहरु फिलिम गएका भए स्कूल कहाँ हुनुपथ्र्यो ? कस्तो हुनुपथ्र्यो भनेर थाहा पाउँथे । उनीहरु बाउआमाको पछि लागेर कहिलेकहीँ लोक्पा गएका छन् । चुम्चेत गएका छन् । सिब्चेत गएका छन् । न्याक गएका छन् । ती गाउँमा गएर स्कूल के हो, कस्तो हुनुपर्छ भनेर पत्तो हुदैन ।
पसलवाला साहुले छोरा तेञ्जिङलाई फिलिमको स्कूलमा पढाएको छ । होटल साहुले आप्पालाई गपको स्कूलमा पठाएको छ । उसको साथी डोल्माचाहिँ सामागाउँको गौरीशंकर प्राविमा पढ्छे । यस्तै चारपाँच घरका छोराहरु कोही कोही स्याला गुम्बाले सञ्चालन गरेको स्कूलमा, कोही छेकम्पारको वुद्ध प्राविमा पढ्छन् ।
किन गाउँमा नपढेका हुन् उनीहरु, म्होन्दोहरु बुझ्दैनथे ।
‘हाम्रो स्कूल किन बन्द भएको बा ?’ राती निद्रा नलागुञ्जेल म्हेन्दो सोध्छे ।
‘मास्टर आउँदैनन् । आए पनि स्कूल जाँदैनन् । स्कूल गए पनि पढाउँदैनन्’, म्हेन्दोका बा रिञ्जिनले भनेका थिए, ‘त्यही भएर सक्नेले छोराछोरी काठमाडौं पनि लगेका छन् इण्डियाको धर्मशाला पनि लगेका छन् । तिमीहरुचाहिँ गोठालो हिडेका छौं ।’
‘किन नआका त मास्टरहरु ?’
‘मास्टरहरुको घर र हाम्रो स्कूल धेरै टाढा छ । आउन चारदिन, जान चारदिन लाग्छ । त्यसैले सितिमिति आउँदै आउँदैनन् । आइहाले भने पनि जिल्लामा मिटिङ छ भनेर गइहाल्छन् । बसेका बेलामा पनि रातभरि रक्सी खान्छन् । गाउँका दिदीबहिनीहरुसंग गीत गाएर, रामरमिता गरेर बस्छन् । भोलिपल्ट १० बजेसम्म सुत्छन् । अनि उनीहरुसंग बस्तु चराउन जान्छन् । घाँस दाउरा काट्न जान्छन् । स्कूलै जाँदैनन् । बालबच्चाहरु आधादिनसम्म त स्कुलमै खेलेर बिताउँछन् । अनि घरघरमा जान्छन् ।’
‘ए ।’
‘सँधै संगसंगै हिड्दाहिड्दै हाम्रो गाउँको दिदीबहिनीसँग बिहे पनि गरे तर घर जानेबेला लगेनन् । यहीँ छोडेर गए । मुद्धा पनि लागेको थियो कति जना मास्टहरुलाई ।’
‘ए ।’
‘हामी जिल्लामा गएका बेला शिक्षा कार्यालयमा गएका थियौं । गाउँको स्कूलमा पढाइ भएन । यस्तो यस्तो हुन्छ भनेर जस्ताको तस्तै गुनासो गरेका थियौँ । हाकिमले म हेर्न पठाउँछु भनेर मान्छे पठाएका थिए । तर स्कूल हेर्न आउने मान्छेहरुलाई मास्टरहरुले गाउँ नआउँदै बाटोमै भेटेछन् । उतै रक्सी र मासु खुवाएछन् । रामरमिता गरेछन् । स्कूल एकदम राम्रो छ भनेर उनका हाकिमलाई सुनाएछन् । अनि उनका हाकिमले हाम्रो कुरा भन्दा उनकै मान्छेको कुरा पत्याए । हाम्रो समस्या उस्ताउस्तै ।’
भूकम्पको पन्द्र दिनपछि गाउँमा दुइटा हेलिकोप्टर आयो । एउटा हेलिकोप्टरमा गुरु खेम्पो र उनका साथीहरु थिए । अर्को हेलिकोप्टरमा सोलार पाता, व्याट्रीहरु थिए । प्रत्येक घरलाई राहतस्वरुप चामल, जस्तापाता र सोलार बत्ती बाँड्नका लागि आएका रहेछन् । हेलिकोप्टरले सल्यानटारबाट चामल र जस्तापाता खेप गर्दै थियो ।
ठूलो गरामा हेलिकोप्टर बसेको थियो । गाउँका नाइकेले सबैलाई हाजिर गराए । लाइनवद्ध गराए । सबैजनालाई सामान लिन पालो पालो आउन उर्दी गरे । ‘बुझिलिएँ’ भनेर भरपाइ गराउन हेलिकोप्टरमै आएका एकजना खटिए । टेबलमा भरपाइ र त्यसमाथि कलम थियो । लेख्न नसक्नेका लागि कचौरामा तेल र अँगार फेटेर कालो पदार्थ बनाइएको थियो ।
पहिलो नम्बरमा ४०, ४२ बर्षका जस्ता देखिने एकजना आए । सही गर्न जान्दिन भनेर खिसिक्क हाँसे । सहयोगीले बूढी औला समातेर कचौराको कालोमा घोटे र कागजमा ठोसे । दोस्रो नम्बरका १८, १९ बर्षका जस्ता देखिन्थे । उसले पनि कलम समातेनन् । खिसिक्क हाँसे । सहयोगीले कुरा बुझे । अघिकोलाई जस्तै गरे । तेस्रो नम्बरको आयो । घरमुली नभएर छोरा पठाएका रहेछन् । अन्दाजी १०, ११ बर्षका थिए । उनले पनि कलमतिर हात बढाएनन् । एवं रीतले महिला, पुरुष, बालक, किशोर, युवा, प्रौढ, वृद्ध सबैले कचौराको ल्याप्चे दलेर जस्तापाता र सोलार बुझे ।
लामा खेम्पोले खुई काढे । सतप्रतिशत ल्याप्चे लागेको कागजको फोटो खिचे र कागजतिर हेरिरहे । किन उनी यति दिक्क भए भन्नेतिर कसैले हेक्का गरेनन् ।
खेम्पोउनले गाउँ छाड्दा पेमाथाङ प्रावि भर्खर खुलेको थियो । यत्तिका बर्षसम्म गाउँका धेरैजना साक्षर भए होलान् भन्ने उनले सोचेका थिए ।
कहिल्यै नधोइएको पुक्कपुक्क परेको रातो गाला, नाकमुनि सिँगानको रातै धर्सा । कालो कलिलो आँखा, कहिल्यै नकोरिएको कपाल, कहिल्यै नधोइएको जस्तो देखिने चुवामा पाँच, छ बर्षको जस्तो देखिने एउटा बालकमा खेम्पोको आँखा अडियो । आमा पेमा डिकीसँग लुटपुटिएर उभिएको उ आमाको कम्मर जत्तिकै अग्लो थियो । हातमा एउटा कोकोनट बिस्कुट थियो । पसल देखेपछि आमालाई पिरोलेर किनेको थियो त्यो । उ बिस्कुट नखाई आमाको आम्तुङमा लुटपुट गरिरहेको थियो । आमाले भर्खरै भरपाइमा ल्याप्चे लगाएको सम्झे । गाउँमा स्कूल चलेको भए आफ्नो छोरालाई शिक्षादीक्षा दिनका लागि पक्कै पनि उनले भर्ना गरिदिन्थिन् । छोरा पास हुदै जान्थ्यो । रातदिन मेलापातमा घोटिएर भए पनि ती आमाले ती छोरालाई पढ्न सकेजति, पढ्न चाहे जति पढाउँथिन् होला ।
प्रकृतिको हराभरा काखमा हुर्किएको केटो, हिमालबाट बगेको चिसो पानी, हिमाली बतासले पाकेको अन्न, हिमाली झारबुटी खाएर हुर्किएको केटो इमान्दार हुन्थ्यो । जाम्बलाको वरदान र आफ्नो भाग्यले राज्यको कुनै ठूलो पदमा पुग्नसक्थ्यो होला । तर कुटो, कोदालो, हलो चलाउन सक्ने भएपछि उ पनि आफ्नो बाउले जसरी नै खेतबारी खनजोत गर्न थाल्नेछ । भीरपाखामा दगुर्दै गाईबस्तु चराउन जानेछ । तन्नेरी भएपछि बिहे गर्नेछ । अनि त्यसैगरी जीवन बिताउनेछ, जसरी उसका हजुरबुबाले बिताए, बाले बिताए । उनका आँखाभरि बा, आमालाई पछ्याउँदै आएका बग्रेल्ती बालबालिका थिए । सबैको भाग्य सम्झिए । भविष्य सम्झिए । खेम्पोका आँखा पोले । परेला आँशुले भरिए । नाकमा सिँगान भरिएको जस्तो भयो । अरुले देख्लान् भन्ने लाजले हत्तपत्त रुमाल झिकेर पुछे । ‘हाम्रो मात्र होइन, यो स्यार भोट, कुताङ भोट सबैतिर यस्तै हो छोरी’ रिञ्जिनले सुनाउँदै गए । खुट्टामा आमाले ओखती लगाइदिएकाले सञ्चो मानेर उ बुबाका कुरा सुन्दै आनन्दले सुत्दैथिई । ‘न्याकको स्कूलमा पनि सुरुसुरुमा पढाइ राम्रो थियो । पछिपछि हाम्रो जस्तै भएर बन्द भयो । पछि त्यहाँका बालबालिका तीन दिनको बाटो टाढाको साम्दोमा जान थाले । साम्दोमा पनि हाम्रो जस्तै भयो । अहिले एकदिनको बाटो टाढा गपको स्कूलमा जान्छन् । कोही पढाइ छोडेर गोठालो जान्छन् । मेलापात, घाँसदाउरा गर्छन् ।
छेकमकोे स्कूलमा पनि केटाकेटी छैनन् । त्यहाँका मान्छे हाम्रो गाउँका जस्ता होइनन्, अल्लि धनी छन् । त्यही भएर कसैले जिल्लामा लगेर पढाएका छन् । कसैले काठमाडौं लगेर पढाएका छन् । धर्मशालासम्म पनि पढ्न पुगेका छन् । लामाले पनि पढाइदिएको छ । गाउँमा बालबालिका नै छैनन् । अझै सुन । चाइना बोर्डरनेर छुले र निले भन्ने दुईवटा गाउँ छ । त्यहाँ पहिले एउटा स्कूल थियो । हाम्रो पेमाथाङ जस्तै भयो । हाम्रो गाउँमा चाहिँ बाहिरका मात्र मास्टर भएर पढाइ भएन, त्यहाँचाहिँ गाउँकै मास्टर भएर । सबै मास्टरको होटल छ । होटरभरि टुरिष्ट आउँछन् । स्कूल किन जान्थे । अनि मास्टर नभएपछि विद्यार्थी मात्र किन स्कुल जाने ? बाहिरका मास्टर गाउँमै नआउने, गाउँका मास्टर स्कूलमै नजाने ।
अरु पनि सुन । स्यो गाउँको स्कूल पनि बन्द छ । ल्ही, क्वाक, प्रोक, नाम्रुङ, छाक, बिही, क्य्राकको स्कूल पनि बन्द छ । बिही गाउँको स्कूल त भत्काएर त्यही ठाउँमा हेलिप्याड बनाएका छन् । बालबच्चा जति लामाले चोभार, फर्पिङका गुम्बाहरुमा लगेर पढाउँछन् । त्यता गाउँमा जाने हो भने कुनै घरमा पनि बालबच्चा देखिदैन ।
म्हेन्दो, अरु पनि सुन्छौ ? म्हेन्दो, ए म्होन्दो !
म्हेन्दो फ्वाँ फ्वाँ गर्दै निदाइसकेकी थिई ।

प्रतिक्रिया दिनुहोस्