| शुक्रबार, बैशाख ३, २०७८

लखन थापा मगरको नेतृत्वको जनविद्रोह र जङ्गबहादुरको हत्या

“म मर्न गइरहेको छैन, यदि म मूर्दा अवस्थामा परिणत भएँ भने जङ्गबहादुरको पनि प्राण अन्त्य हुनेछ ।“

जीवन आले मगर

प्रथम शहीद लखन थापा मगर
वि.सं. १९०३ देखि १९०४ सम्म कोतपर्व, भण्डारखाल पर्व जस्ता नरसंहारकारी काण्डहरु गराएर जङ्गबहादुर राणाले नेपालको शासन सत्ताको बागडर हात पारेका थिए । उनले जग बसालेको राणा शासन वि.सं. २००७ सम्म कायम रह्यो । उक्त १०४ वर्षे राणा शानको स्थापन गर्ने जङ्गबहादुर राणाले ३० वर्ष सम्म नेपालको प्रधानमन्त्री रही शासन गरेका थिए । उनको मृत्यु वि.सं. १९३३ फागुन १३ गते बाराको पत्थरघट्टामा भएको थियो (पुरुषोत्तम शमशेर जबरा, श्री ३ हरुको तथ्य वृतान्त, भाग (१, छैठौँ संस्करण, वि.सं. २०७६, पृ. २१२(२१४) ।जङ्गबहादुरको मृत्युलाई इतिहासका जानकार व्यक्तिहरु स्वाभाविक मृत्यको रुपमा स्वीकर गर्न तयार देखिँदैनन् । ज्वरो आएर, मुटुमा बोसो लागेर, झाडापखाला लागेर वा घाइते बाघले मारेको भन्ने भनाइमा देशी विदेशी इतिहासकारहरुले शंका गरेका छन् ।

जङ्गबहादुरको कालगतीले मृत्यु नभई हत्या भएको तथ्य इतिहासकार एवं खोजकर्ताहरुले उजागर गरेका छन् । ऐतिहासिक घटनाक्रम र तथ्यहरुलाई अध्ययन गर्दा उनको हत्यामा लखन थापा मगरको नेतृत्त्वमा भएको प्रथम जनविद्रोहको समेत हात रहेको अनुमान गरिएको पाइन्छ ।


लखन थापा मगरको नेतृत्वमा प्रथम जनविद्रोह


नेपालको इतिहासमा राणा शासन व्यवस्था विरुद्ध जन स्तरबाट पहिलो पटक वि.सं. १९२७ देखि १९३३ सम्म जन विद्रोही अभियान सञ्चालन भएको थियो ।

लखन थापा मगरको नेतृत्त्वमा वि.सं. १९३२ चैत (ई.सं. १८७६ अप्रिल) मा जनविद्रोहले सशक्त रुप लिएको पाइन्छ (भुवनलाल प्रधान, नेपालको जनक्रान्ति २००७, सन् २०१४, पृ.१४)। उक्त जनविद्रोहको सिलसिलामा राणा शासन अन्त्य गरी प्रजातान्त्रिक प्रणाली स्थापना गर्ने र कानून बमोजिम शासन सञ्चालन गर्न राजनैतिक घोषणा पत्र र लिखत तयार पारिएको थियो (चिरञ्जिवी वाग्ले, लखन थापाः केही टिपोट, मघुपर्क, वर्ष ९, अंक ४(५, वि.सं. २०३३, पृ. ८९) ।
उक्त विद्रोह सञ्चालनका क्रममा गोरखा जिल्ला स्थित हालको शहिद लखन गाउँपालिका, वडा नं. ७, काहुले भंगार, बुंकोटमा बलियो किल्ला निर्माण गरिएको थियो ।

उक्त किल्लाको स्वरुप युद्ध किल्ला वा गढी जस्तो थियो (महेशचन्द्र रेग्मी, रेग्मी रिसर्च सेरिज, वर्ष(१२, अंक(५, १९८० डिसेम्बर, पृ. ७४)। लखनको नेतृत्त्वमा भएको विद्रोहमा करिब दुई हजारको संख्यामा जनसेना तयार भएको थियो । जनसेनालाई हातहतियार एवं तालिमको समेत व्यवस्था गरिएको थियो (प्रमोद शमशेर राणा, राणा शासनको वृतान्त, तेस्रो संस्करण, वि.सं. २०७०, पृ. ८८)। त्यतिबेला राणा शासन व्यवस्था र जङ्गबहादुरको सरकार विरुद्ध लखन थापाको नेतृत्त्वमा बैकल्पिक सरकारको रुपमा जनसरकार समेत गठन भएको थियो (मुक्ता श्रेष्ठ, जङ्गेको सत्ता विरुद्ध ठाडो चुनौतीः लखन थापा मगर, नवयुवा, वर्ष(१ अंक( १०, वि.सं. २०५३ माघ)। त्यतिबेला जहरे (जयसिंह) चुमी राना मगरलाई जनरलको पदवी दिई जनसेनाको सेनापति बनाइएको थियो भने जुठ्या थापा मगर, बिराज थापा मगर र जीतमान गुरुङ्गलाई जनसेनाको कर्णेल पद दिइएको थियो (महेश चन्द्र रेग्मी, रेग्मी रिसर्च सेरिज, वर्ष(१२, अंक(५, सन् १९८० डिसेम्बर, पृ. ७४)। इतिहासकार, खोजकर्ता एवं जानकार व्यक्तिहरुका अनुसार तत्कालिन जनसरकारमा कालु (कानु) लम्साल, अछामी मगर, अजपसिंह थापा मगर, सुकदेव गुरुङ्ग, कुराल राना मगर, सन्त ज्ञान दिल दास र सुपति गुरुङ्गलाई समेत जनसेनाको महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएको थियो ।


राणा शासन व्यवस्था विरुद्ध जनस्तरमा संगठन गरी जनसेना र जनसरकार समेत गठन गरेर विद्रोह गरेको अभियोगमा लखन थापा र अन्य ६ जना व्यक्तिहरुलाई वि.सं. १९३३ मा झुण्ड्याएर मारिएको थियो । त्यतिबेला लखन थापा मगरसँगै उनका सहयोद्धाहरु जयसिंह चुमी राना मगर, बिराज थापा मगर, जुठ्या थापा मगर, जीतमान गुरुङ्ग, अछामी मगर र अजपसिंह थापा मगरलाई पनि फाँसी दिइएको थियो । यिनै नेपाल आमाका वीर सपूतहरुको सम्मानमा हरेक वर्ष फागुन २ गते स्मृति दिवस कार्यक्रम हुने गरेको छ । साथै प्रत्यक वर्ष स्थानीय जनसमुदायले विद्रोही किल्ला नजिकै रहेको भयँरी थानमा पुसको पहिलो पञ्चमीमा पूजा गर्दा लखन थापा र उनका सहयोद्धा शहीदहरुलाई स्मरण गर्ने प्रचलन यद्यापि रहेको छ ।

जंगबहादुरको मृत्यु वा हत्या?


जङ्गबहादुर राणाका छोरा पद्मजंगले जङ्गबहादुरको मृत्यु झाडापखाला र ज्वरोको कारणले भएको उल्लेख गरेका छन् (पद्मजंग राणा, जङ्गबहादुरको जीवन यात्रा, वि.सं. २०७४, पृ. २८७(२८८)। मुटुमा बोसो लागेको कारणले उनलाई अकस्मात आँखा नदेख्ने र दिसा लाग्ने समस्या देखिएको इतिहासकार पुरुषोत्तम शमशेर जबराले तर्क गरेका छन् (पुरुषोत्तम शमशेर जबरा, श्री ३ हरुको तथ्य वृतान्त, भाग(१, छैठौँ संस्करण, वि.सं. २०७६, पृ. २१३)
तर जङ्गबहादुर राणाको मुटु वरिपरि बोसो जम्न लागेको भनी डाक्टरले बताएको भन्ने भनाइलाई इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धरले इन्कार गरेका छन् (त्रिरत्न मानन्धर, नेपालको इतिहासमा जङ्गबहादुर, वि.सं. २०७७, पृ. १६३)।

अन्वेषक तथा इतिहासकार जनकलाल शर्माले जङ्गबहादुर राणाको हत्या सेतो बाघको आक्रमणबाट भएको भन्ने प्रचार असत्य भएको बताएका छन् । व्यक्तिको आक्रमणबाट मारिएका जंगबहादुरको हत्यालाई गोप्य राख्न उनको लासलाई कपडाले छोपेर सती जाने उनका रानीहरुलाई समेत शव हेर्न नदिई शव राखिएको बाकस नखोलिकनै दाहसंस्कार गरिएको थियो (जनकलाल शर्मा, जोसमनी सन्त परम्परा र साहित्य, वि.सं. २०२०, पृ. ९५(९८) ।
नेपाली समाजमा जङ्गबहादुरलाई लिँडे बाघले मारेको भन्ने अनुश्रुति रहेको छ।राणाकालीन नेपाल र राना मगरको वंशावली अनुसार जङ्गबहादुर राणाबाट जार काट्ने अनुमति लिएका एक जना मगर युवक (जस्को श्रीमती जङ्गबहादुरले लगेका थिए) को खुकुरी प्रहारबाट जंगबहादुरको हत्या भएको बताइन्छ ( मधुसुदन पाण्डेय, नेपालको इतिहासका केही अपुष्ट पक्षहरु, वि.सं. २०७६ माघ, पृ. १६२(१६३) । भनिन्छ जंगबहादुर राणालाई जीवनको अन्तिम समयमा पालकीमा राखेर पत्थरघट्टाको बागमती किनार लाने बेलामा उनले रक्त बमन गरेका थिए (पद्मजंग राणा, जङ्गबहादुरको जीवन यात्रा, वि.सं. २०७४, पृ.२८८) ।

मृत्यु अघिको समग्र घटनाक्रमलाई बिश्लेषण गर्दा उनले रगत बमन गरेको भन्ने सन्दर्भमा बास्तविकता के हुन सक्दछ भने बाह्य आक्रमणबाट भएको चोटको कारणले उनको शरीरबाट रगत बगेको थियो । आक्रमणबाट घायल भई रगत बगेको र सोही कारणबाट मृत्यु भएको यथार्थलाई ढाकछोप गर्नको निम्ति रगत बमन गरेको प्रचार गरिएको देखिन्छ ।


लखन थापाको विद्रोह र जंगबहादुरको हत्या बीचको सम्बन्ध


लखन थापा मगरको नेतृत्त्वमा भएको विद्रोह मुख्य गरी राणा शासन र जंगबहादुरको सरकार विरुद्ध केन्द्रित थियो। त्यसैले लखन थापा मगरले जङ्गबहादुरलाई हत्या गरी पदच्यूत गर्ने र नेपालमा सुनौलो (प्रजातान्त्रिक) व्यवस्था ल्याउने योजना बनाएका थिए (पद्मजंग राणा, जङ्गबहादुरको जीवन यात्रा, वि.सं. २०७४, पृ. २८४ ) । ई.सं. १८७६ फेब्रुअरीमा जंगबहादुर राणा कैलालीको बनबासामा शिकार खेल्न गएका थिए (पुरोषत्तम शमशेर जबरा, श्री ३ हरुको तथ्य वृतान्त, भाग(१, छैठौँ संस्करण वि.सं. २०७६, पृ. १९८)। उक्त शिकार सकेर काठमाडौँ फर्कँदा चन्द्रागिरीको देउरालीको आसपासमा धराप थापी आक्रमण गर्ने लखन थापाले योजना बनाएका थिए। उक्त योजना बारे सुराकी मार्फत् गोप्य सूचना प्राप्त भए पश्चात सुरक्षा व्यवस्था मिलाएर जंगबहादुर काठमाडौँ फर्किएका थिए (प्रमोद शमशेर राणा, राणा शासनको वृतान्त, तेस्रो संस्करण, वि.सं. २०७०, पृ. ८८) । जङ्गबहादुरले लखन थापा मगरको जन विद्रोहको सम्पूर्ण योजना थाहा पाए पश्वात आफ्नो शासन सत्तामा चुनौती आएको महसुस गरी उक्त विद्रोहलाई दबाउन योजनाहरु बुन्न लागे, सोही क्रममा देवी दत्त पल्टनको ३ कम्पनी सेना लगाएर विद्रोहलाई दबाउन गोरखा पठाए (पुरुषोत्तम शमशेर जबरा, श्री ३ हरुको तथ्य वृतान्त, भाग(१, छैठौँ संस्करण वि.सं. २०७६, पृ. २०८)।सोही अनुसार लखन थापालाई झुण्ड्याएर मार्ने आदेश दिइसके पश्चात तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरलाई उनकी एकजना रानीले लखन थापालाई मारेमा शुभ नहुने र जङ्गबहादुरको गाथमा राम्रो नहुने सपना देखेकाले उनलाई नमार्न आदेश गर्नु भनी बिन्ती गरेको बिषय समेत उजागर भएको छ (जीवन आले मगर, नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर, वि.सं. २०६४, पृ. ४० )।

यसै गरी पत्रकार एवं खोजकर्ता लोकनेश ढेँगा मगरका अनुसार घोडामा चढेर शिकार यात्रामा गएका जंगबहादुरलाई धादिङ्गको बेनीघाटतिर लुकेर बसेका लखन थापा मगरले खुकुरी प्रहार गरी घालय बनाएका थिए।त्यस पश्वात जङ्गबहादुर भुईमा खसेर बेहोस भए । त्यहाँ रहेका सैनिकहरुलाई धीर शमशेरले केही धन दिएर रगतले सहीछाप गर्न लगाई हत्याको रहस्य उजागर नगर्ने सपथ गराई घायल भई बेहोस भएका जङ्गबहादुरलाई पत्थरघट्टा पु¥याए । उनको त्यहीँ मृत्यु भएको प्रचार गरियो (लोकनेश थापा ढेँगा मगर, ऐतिहासिक पृष्ठभूमीमा प्रथम शहीद लखन थापा मगर, वि.सं. २०५७, पृ. ११(१२)। गोरखा विद्रोहको दौरानमा गोरखाको दक्षिणी भू(भागसँग जोडिएको बेनीघाटमा जंगबहादुरलाई हमला गरेर मार्नुमा लखन थापाको प्रमुख हात थियो (उमेश बहादुर राना मगर, क्रान्तिकारी लखन थापा मगर, वि.सं. २०६३, पृ. १३)। ऐतिहासिक घटनाक्रम र तथ्यहरुबाट के बुझ्न सकिन्छ भने लखन थापा मगरको नेतृत्वमा भएको राणा शासन विरुद्धको जनविद्रोहमा हजारौँ नेपाली जनताहरु आवद्ध भई प्राजतान्त्रप्रति सचेत भएका थिए । नेपाली जनमानसमा फैलिएको प्रजातान्त्रिक चेतनाको डोब र राणा बिरोधी विद्रोही अभियान लखन थापाको भौतिक शरीर नरहे पनि रोकिने अबस्थामा थिएन । त्यसैले जङ्गबहादुरको जीउज्यान असुरक्षित हुने देखेर चिन्तित भई रानीले सपना समेत देखेको हुन सक्दछ ।

लखन थापालाई फाँसी दिइएको छोटो समयमा नै राणा सरकार बिरुद्ध सुकदेव गुरुङ्ग र सुपती गुरुङ्गले “नौ सरकार बादशाह“ को नामबाट विद्रोह अघि बढाएका थिए (प्रा.डा. त्रिरत्न मानन्धर, नेपालको इतिहासमा जङ्गबहादुर, वि.सं. २०७७, पृ. १५४(१५६) ।यसबाट के स्पष्ट हुन्छ भने जंगबहादुरले लखन थापाको हत्या गरेपनि नेपाली जनताहरुमा राणा शासनप्रतिको रोष र असन्तोष कायमै थियो । त्यसैले लखन थापा मगरले देखाएको बिद्रोही बाटोमा नेपाली जनताहरु अग्रसर भएका थिए । नेपाली समाजमा जङ्गबहादुरको हत्या लिँडे बाघ वा मगर युवकबाट भएको भन्ने जनश्रुति रहेको छ । तत्कालिन समयमा बिद्रोहीहरुको वास्तविकता उजागर हुने गरी लिखित रुपमा कोही कसैले लेख्न सक्ने वातावरण नभएकाले अलिखित रुपमा बूढापाका जानकार व्यक्तिहरुबाट हस्तान्तरण हुँदै आएको मौखिक जानकारीलाई समेत ऐतिहासिक घटनाक्रम र अन्य तथ्यहरुसँग विश्लेषण गरेर इतिहासको श्रोतको रुपमा ग्रहण गर्नुपर्ने हुन्छ ।

तत्कालिन समयमा क्रान्तिकारी व्यक्तिहरुको विषयलाई तोडमोड गरी सम्प्रेषण गर्ने गरिएको पाइन्छ । त्यसैले लिँडे बाघ वा मगर युवकको हातबाट जङ्गबहादुरको हत्या भएको भन्ने भनाइले कुनै साहसी मगर युवकको आक्रमणबाट जङ्गबहादुरको हत्या भएको प्रस्ट हुन्छ । लखन थापा मगरको नेतृत्वमा राणा शासन विरुद्ध जनविद्रोह सञ्चालन गर्ने क्रममा निर्माण गरिएको किल्लाको नजिक रहेको बेनीघाट क्षेत्र त्यति बेला उक्त विद्रोहको प्रभावित क्षेत्र भित्र पर्दथ्यो। त्यसैले उक्त प्रथम जनबिद्रोहको क्रममा प्रशिक्षित विद्रोहीको आक्रमणबाट जङ्गबहादुर राणाको हत्या भएको भन्ने विषय बढी विश्वसनीय देखिन्छ । त्यतिबेला बेनीघाटबाट नजिक रहेको काठमाडौँमा उनको शव नलगी धेरै टाढा रहेको बाराको पत्थरघट्टामा शव पु¥याउनुलाई उक्त हत्याकाण्डको वास्तविकता गोप्य राख्ने प्रयासको रुपमा लिन सकिन्छ ।

(लेखक ः गोरखाको शहिदलखन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन आले मगर)

प्रतिक्रिया दिनुहोस्