| मङ्लबार, बैशाख ४, २०८१

राष्ट्रिय विभूतिका हकदार सहिद लखन थापा मगर

जीवन आले
नेपालमा १९०३ सालदेखि २००७ सालसम्म १०४ वर्ष निरंकुश राणाशासन सञ्चालित थियो। जनविरोधी सो व्यवस्थाविरुद्ध नेपाली जनतालाई जागृत गराउँदै संगठित रूपमा विरोध गर्ने पहिलो व्यक्ति थिए, लखन थापामगर। परिणाम तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको आदेशमा १९३३ फागुन २ गते थापालाई झुन्ड्याएर मृत्युदण्ड दिइयो। जसले उनलाई नेपाली जनक्रान्तिको इतिहासमा प्रथम सहिद स्थापित गरेको छ। नेपालको इतिहासबारे सामान्य ज्ञान र जानकारी राख्नेहरूले नेपालको पहिलो सहिद लखन थापामगर हुन् भनी उहिलेदेखि नै पढ्ने र सुन्ने गर्छन्। तर लखनले शहादत प्राप्त गरेको १४० वर्षपछि नेपाल सरकारले उनलाई २०७२ असोज ३ गते औपचारिक रूपमा प्रथम सहिद घोषणा गरेको थियो।

प्रथम सहिद घोषणा गरिदिने कार्यले मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन। उनलाई वर्तमान पुस्ताका माझ परिचित गराउने र उनीप्रति सम्मानित वातावरण बनाउनेतर्फ सरकारको ध्यान र कदम पुग्नुपर्छ। लखनको जन्म गोरखाको सहिद लखन गाउँपालिका ७, काहुले भंगारमा १८९१ सालमा भएको थियो। उनी १९११ मा नेपाली सेनाको पुरानो गोरख गण ९मगर पल्टन०मा भर्ना भएका थिए। लखनले तत्कालीन युवराज त्रैलोक्य र विक्रम शाहको अंगरक्षकको रूपमा समेत जिम्मेवारी निर्वाह गरे ९नेपालको सैनिक इतिहास–२, २०६५०।

सेनामा रहँदा राणाशासन व्यवस्थाले नेपाली जनतामाथि गरेको थिचोमिचोको नजिकबाट अनुभव गरेका लखनले १९२७ सालमा सेनाको जागिर छाडे। त्यसपछि घर गई स्थानीयवासीलाई सचेतना प्रदान गरी राणाशासनविरुद्ध संगठन गर्दै जनविद्रोह गर्ने अभियानमा सक्रिय भए ९नवयुवा, २०५३०। यो नेपालको राजनीतिक इतिहासमा निरंकुश शासन सत्ताविरुद्ध ‘प्रथम जनविद्रोह’ थियो।

इतिहासकार प्रमोदशमशेर राणाको ‘राणाशासनको वृत्तान्त’ अनुसार लखनले राणाशासनविरुद्ध करिब दुई हजार जनसेना तयार पारेका थिए। त्यतिबेला एकताबद्ध जनताले उनको नेतृत्वमा राणाशासनविरुद्ध जनसरकार र जनसेनासमेत गठन गरेका थिए। जुन जंगबहादुरको निरंकुश सत्ताविरुद्ध नेपालीले गठन गरेको पहिलो वैकल्पिक सत्ता थियो। फ्रान्सेली अनुसन्धाता मेरी लेकोम्ते टिलोइनले लखनले राजनीतिक कार्यक्रमसहित जंगबहादुरविरुद्ध किल्ला र जनसेना तयार गरी वैकल्पिक सत्ता स्थापना गरेको उल्लेख गरेका छन्।

अनुसन्धाता महेशचन्द्र रेग्मीका अनुसार लखनको नेतृत्वको त्यो जनसरकारले जयसिंह चुमी रानामगरलाई सेनापति, जुठ्यार थापामगर, विराज थापामगर, जितमान गुरुङलाई कर्णेलको जिम्मेवारी दिइएको थियो। स्थानीय बुढापाका र बुद्धिजीवीका अनुसार झिल्के कुराल रानामगर, कालु ९कानु० लम्साल, पलसिंह अछामी मगर, सन्त ज्ञानदिलदास, सुपति गुरुङ, शुकदेव गुरुङलगायत विद्रोहमा थिए।

जंगबहादुरको जीवनी लेख्ने उनकै छोरा पद्मजंगका अनुसार लखनको नेतृत्वमा भएको विद्रोहको प्रमुख उद्देश्य जंगबहादुरलाई सत्ताच्युत गरी नेपालमा सुनौलो बिहानी ल्याउने भन्ने थियो। त्यतिबेला राणाशासनको अन्त्य गरी लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्नेलगायत जनविद्रोहसँग सम्बन्धित राजनीतिक दस्तावेज तयार गरिएको पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले मधुपर्क, २०३३ मा उल्लेख गरेका छन्। नेपाली जनतालाई शासन अधिकार सम्पन्न बनाउने, जनअनुमोदित सरकार गठन गर्ने र लोकतान्त्रिक शासन प्रणालीको स्थापना गर्ने कार्यदिशा त्यो विद्रोहले तय गरेको थियो।

लखनको नेतृत्वमा गोरखामा राणाशासनविरुद्ध जनविद्रोह उठेको खबर जंगबहादुरसमक्ष पुगेपछि उनी क्रुद्ध भई दमन गर्न देवीदत्त रेजिमेन्टका तीन कम्पनी सेना गोरखा पठाए (ज.ब.रा., २०७६०) गोरखामा सरकारी सेना र जनसेनाबीच भीषण युद्ध भएपछि अन्त्यमा जनसरकार प्रमुख लखन थापालगायतलाई पाता फर्काएर फलामको सिक्रीले बाँधी यातनापूर्वक काठमाडौं लगियो र थापाथली दरबारमा उनीसमक्ष पेस गरियो (राना, १९७४)।

थापाथली दरबारमा लखनसहितका विद्रोहीमाथि कोर्रा हानियो, नेल ठोकियो। चरम यातना दिइयो तर पनि आत्मसमर्पण गर्न नमानेकाले जंगबहादुरले लखन, जयसिंह, विराज, जितमान, जुठ्यान, अछामी र अजपसिंह थापामगरलाई गोरखा काहुलेस्थित उनीहरूले नै निर्माण गरेको किल्ला परिसरमा लगेर मृत्युदण्ड दिने आदेश दिए। आदेशबमोजिम देवीदत्त गणका सेनाले उनीहरूलाई त्यहाँ पु¥याए। विद्रोहमा नलाग्न चेतावनी दिन स्थानीयवासीलाई भेला गराइयो। सर्वप्रथम जनविद्रोहका प्रमुख लखनलाई छाला काढेर अमिलो चुक र खुर्सानी लगाई बर्बरतापूर्वक झुन्ड्याइयो ९लखन–७ का ८७ वर्षीय मीनबहादुर हुन्चिङ रानामगरसँग २०६३ मा गरेको कुराकानी०। अन्य ६ जनालाई पनि किल्ला परिसरमै फाँसी दिइयो।

राणाशासनको अन्त्य गर्ने र जनपक्षीय लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने उद्देश्यले जनस्तरबाट संगठित रूपमा लखनको नेतृत्वमा भएको विद्रोहबारे राणा तथा अन्य धेरै इतिहासकारले उल्लेख गरेका छन्। सिंगो निरंकुश राणाशासन व्यवस्थाविरुद्ध पहिलोपटक औंलो ठड्याउने र जनविद्रोहका लागि प्रेरणा प्रदान गर्ने सपूतको रूपमा धेरै इतिहासकार, लेखक र शोधकर्ताले लखनको योगदानबारे चर्चा गरेका छन्। उनी नेपालका प्रथम सहिद हुन् भन्ने त ऐतिहासिक तथ्य प्रमाणले पुष्टि गरेको छ। मन्त्रिपरिषद्को बैठकले निर्णय भई उनलाई प्रथम सहिदको उपाधि प्रदान ग¥यो। तर केही राजनीतिक दलका नेता र स्वार्थसमूह वा व्यक्तिबाट कहिलेकाहीँ यसबारे भ्रम फैलाएको पाइन्छ। जसको कुनै आधार र प्रमाण छैन।

राणा सरकारबाट मारिएकै कारण सबै सहिदको कोटीमा पर्छन् रु निश्चय नै पर्दैनन्। उनीहरू के कारणले मारिए र उनीहरूको एजेन्डा र उद्देश्य के थियो भन्ने विषय प्रमुख हो। सहिद सर्वस्वीकार्य हुन्छ। जसको नाम सुन्दै जनताको शिर श्रद्धाले झुक्छ। लखन त्यस्ता व्यक्ति हुन्, जसले राणा सरकारका छिटफुट घटना र व्यवहारसँगै सिंगो राणाशासन व्यवस्थाकै विरोध गरेका थिए। उक्त व्यवस्थाको अन्त्य गर्ने र नेपाली जनतालाई अधिकार सम्पन्न गराई नेपालमा जनपक्षीय प्रजातान्त्रिक शासन प्रणालीको स्थापना गर्ने उनको स्पष्ट उद्देश्य थियो। उनको विद्रोह नेपाली जनताको प्रत्यक्ष सहभागिता र समर्थनमा थियो। जसले राणाशासनको जग हल्लाउने गरी सशक्त जनविद्रोहको आँधीबेहरी सिर्जना गरेका थिए। यसर्थ उनी निर्विवाद रूपमा नेपालका प्रथम सहिद हुन्। जसबारे अन्य तर्क र विश्लेषण गर्नु इतिहासको गलत व्याख्या गर्नु हो। जुन प्रथम सहिद लखनको योगदानको अवमूल्यनबाहेक अरू केही हुनै सक्दैन।

देशले संघीय शासन प्रणाली अवलम्बन गरी तीन तहको सरकार रहेको वर्तमान स्थितिमा राष्ट्रिय सहिदहरूलाई सम्मान गर्नु सबै तहका सरकारको जिम्मेवारीभित्र पर्छ। प्रथम सहिदप्रतिको चासो र सम्मान आजको टड्कारो आवश्यकता छ। प्रथम सहिद लखनलाई अविलम्ब राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्नु राज्यको पहिलो जिम्मेवारी हो। नेपालमा प्रजातान्त्रिक आन्दोलन, देश र जनहितका लागि जीवन उत्सर्ग गर्न भावी सन्ततिलाई प्रेरणा प्रदान गर्ने पहिलो मार्गदर्शक व्यक्तित्व भएकाले लोकतन्त्रको प्रतीकको रूपमा प्रथम सहिद लखनलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिनु औचित्यपूर्ण र सान्दर्भिक हुनेछ। जुन कार्यले समग्र राष्ट्रको ओज र गरिमा झनै उच्च बनाउँछ।

यसैगरी, उनीसँगै बलिदानी दिने प्रथम जनविद्रोहका अन्य ६ सपूतलाई सहिद घोषणा गर्नु अपरिहार्य छ। प्रजातन्त्र र लोकतान्त्रिक व्यवस्थाका प्रथम पथप्रदर्शक लखनलाई लोकतन्त्रको प्रतीकका रूपमा आमसर्वसाधारणमाझ परिचित गराउनु अत्यावश्यक छ। त्यसैले उनको गौरवपूर्ण जीवनी विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिनुपर्छ। उनका नाममा ठूला र महŒवपूर्ण सरकारी पूर्वाधार तथा संरचनाहरू, उनका सालिक र स्मारकहरू बनाउनुपर्छ। उनको नामबाट राष्ट्रिय पुरस्कार, मानपदवी र विभूषणको व्यवस्था गर्नु आवश्यक छ। यस्तै, प्रथम सहिदले शहादत गरेको दिनलाई राष्ट्रिय दिवसको रूपमा प्रथम सहिद दिवस घोषणा गरी सरकारी स्तरबाटै औपचारिक रूपमा मनाउनुपर्छ। र अन्तमा, उनको जन्मस्थल, विद्रोही स्थल र शहादत स्थललाई पुराताŒिवक र ऐतिहासिक स्थल बनाउन पनि ढिला गर्नु हुँदैन।

लेखक प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानका अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस्