
बृहत दरौंदी खानेपानी आयोजना संचालका आधारहरु
२०६० को दशकमा गोरखा जिल्लाको सदरमुकाममा शहरीकरणको साथ साथै बढदो जनसंख्याको कारणबाट स्थानीय स्तरमा रहेको पानीको श्रोतको अभाब हुदै गए पश्चात तत्कालीन अबस्थाका समाजसेवी र सचेत नागरिकहरुको अगुवाइमा स्थापित पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था आज २० बर्ष पुरा गरेर २१ औं बर्षमा प्रबेश गर्दै छ ।
तत्कालीन अबस्थामा निर्माण भएका संरचना र साधन श्रोतले आज सम्म पानी बितरण गर्दै आइरहेको छ । बर्तमान जनसंख्याको अबस्था र पानीको मागलाई परिपूर्ती गर्न संस्था निरन्तर लागिरहेको छ । तर पनि चर्काे खडेरी र सुख्खा समय बढदै जाने हो भने संस्थालाई पानी बितरण गर्न कठिन हुँदै जाने देखिएको छ । साना शहरी मात्र नभई दरौंदी उपभोक्ता संग आबद्ध २१ ओटा संस्थाहरु नै चरम पानीको अभाबमा गुज्रिने निश्चित छ ।
त्यसैले आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर संचालन गर्नु पर्ने दरौंदी खानेपानी आयोजना बेखबर जस्तो भएको कारणबाट बृहत दरौंदी खानेपानी आयोजना संचालनको आधारहरु के के हुन सक्छन ? भन्ने उद्धेश्यले यो लेख तयार पारिएको हो । दरौंदी खानेपानी आयोजनाको निर्माण, कूल लागत रकम, उपभोक्ताहरुको लागत योगदान, सम्बन्धित निकायहरुको जिम्मेवारी, समितिको काम कर्तब्य र अधिकार तथा आयोजना संचालनको मुख्य पक्षहरु बाट आयोजना बिश्लेषण गरी कार्य गरेको खण्डमा अयोजना सफल हुन सक्छ ।
तसर्थ अब बृहत दरौंदी खानेपानी आयोजना के हो त ? यसैमा आम उपभोक्तारुको ध्यान केन्द्रित गर्न चाहन्छु । नेपाल सरकारको प्रचलित कानुनको अधिनमा रहेर बिधान अनुसार गठन भएको दरौंदी खानेपानी आयोजनाको कूल अनुमानित लागत रकम ६०,८४,२३५१२.८ मध्ये उपभोक्ताहरुबाट १ प्रतिशत रकम योगदान गर्नु पर्ने भएकाले २१ ओटा संस्थाहरु बाट कूल रकम ६०,८४,२३५.१३ रकम उठाई आयोजना निर्माण गरिएको हो ।
उक्त आयोजना टेण्डर प्रक्रियामा जाँदा घटि घटाउमा मूल्य अभिबद्धी कर सहित ४०,१२,५३,३८३ रुपैयाँ रकममा ठेक्का करार संझौता भई निर्माण कार्य अगाडी बढेको पाइन्छ । यो आयोजनाको मुख्य खानेपानी श्रोत गोरखा नगरपालिका वडा नं ३ स्थित जरेबर क्षेत्रमा रहेको दरौंदी नदिको किनारमा २ ओटा सम्पवोयल ईनार निर्माण गरिएको छ । जस मध्ये एउटा इनारमा २ ओटा मोटर पम्प राखिएको छ भने अर्काे इनारमा १ मोटर पम्प जडान गरिएको छ ।
पानी तान्न प्रयोग भएको उक्त मोटर पम्पहरुको क्षमता ४१ हर्स पावरको रहेको छ । पहिलो स्थान मुहानबाट सिधै घलाङमा रहेको छ लाख लिटर क्षमता भएको ट्यांकीमा पानी संकलन गरि सोहि ट्यांकीमा संगै रहेको स्लोस्याण्ड फिल्टरमा फिल्टर भई ट्यांकीमा पानी पुगे पश्चात ७५ हर्स पावरको क्षमता भएको मोटर पम्पले जल्किनी भन्ने स्थानमा रहेको ट्यांकीमा पानी जम्मा हुन्छ ।
सोही स्थानमा रहेको ७५ हर्स पावरको क्षमता भएको मोटर पम्पले गो.पा.३ कै श्वाँरा भन्ने स्थानमा रहेको टयांकीमा पानी संकलन हुन्छ । पुनः त्यहाँको मोटर पम्प मार्फत गौह्ी कुवामा रहेको टयांकीमा पानी संकलन गरिन्छ । तत् पश्चात गोरखा नगरपालिकाको उपल्लो कोटमा रहेको ट्यांकीमा पानी संकलन गरिन्छ । यसरी क्रमिक रुपमा निर्माण भएको संरचना मार्फत बिभिन्न उपभोक्ता संस्थाहरुलाई आफु थोक बिक्रेता बनेर उपभोक्ता संस्थाहरु कै आबश्यकता र माग बमोजिम उक्त दरौंदी खानेपानी आयोजनाले पानी सर्बशुलभ रुपमा पारदर्षि ढंगले उपलब्ध गराउने गरी संरचना निर्माण गरिएको छ ।
आयोजना गोरखा नगरपालिका को वडा नं ३ देखि ९ सम्मका जनसंख्यालाई मुख्य अधार मानेर २१ ओटा उपभोक्ता समितिहरुको उपभोक्ता संख्याको आधारमा प्रतिनिधिहरु उपस्थित भई दरौंदी उपभोक्ता समिति निर्माण गर्ने र उक्त समितिले आबश्यकता बमोजिम सबै फिडर संस्थाहरुमा समन्वय गरि समयमानै आयोजना सम्पन्न गराई खानेपानी उपलब्ध गराउने मुख्य दायित्व पुरा गर्नु पर्ने हुन्छ । उपभोक्ता समितिले सम्बन्धित सरोकार राख्ने पक्षहरु संग समन्वय गरि आयोजनाको गुणस्तरमा बिशेष ध्यान दिने ।
यदि गुणास्तरमा कमी कमजोरीहरु भएका छन भने त्यसलाई तत्काल सच्याउन लगाउने, बिबाद भएको स्थान वा पक्ष सँग आबश्यक समन्वय गरि बिबाद समाधान गर्ने कार्यहरु गर्नु पर्ने हुन्छ । सायद त्यसैले नै उक्त उपभोक्ता समिति गठन गर्न परेको होला । समिति गठन हुनु मात्र नभई आर्थिक रुपमा गरेका कार्यहरुलाई समेत पारदर्षि ढंगबाट कार्य सम्पन्न गराउने दायित्व पनि रहन्छ ।
यि पक्षहरुको साथ साथै आयोजना निर्माण गर्ने ठेकेदार बाट इस्टमेट अनुसार कार्य भए नभएको, संझौता अनुसारको कार्यहरुको स्थिति आदि पक्षहरुमा फिडर संस्थाहरुलाई जानकारी गराउनु पर्नेमा पुरै बेवास्ता गरि आयोजना बिभिन्न बहानामा पानी संचालन गर्न असमर्थ भएर महत्वपूर्ण खानेपानी आयोजना बेबारिसे बन्ने अबस्थामा पुग्न लागेको भान भएको छ ।
किनकी उक्त आयोजनाका फिडर संस्थाहरुलाई हाल सम्म पानी बितरण गर्न सकेको छैन । साच्चै भन्नु पर्दा गोरखा जिल्लाको सदर मुकाममा रहेको दरौंदी बृहत खानेपानी आयोजना निर्माण भएर पनि संचालनमा रहेको छैन । अझ आयोजनाको ढोकामा ताला लगाएर राखिएको छ ।
यस्तो चरम खडेरीको समय र उपभोक्ताहरुबाट उच्च पानीको माग भैरहेको अबस्थामा जिम्मेवार निकाय, निर्माण कम्पनी र दरौंदी उपभोक्ता समिति बेखबर जस्तो भएर कानमा तेल हालेर बसेको छ । के दरौंदी खानेपानी आयोजना सुख्खा समयमा पानी नदिएर यत्तीकै बस्न खोजेको हो ? कि आयोजना संचालनका क्रममा गरिएका बाचा कवल र संझौता अनुरुप कार्य नभएर पानी संचालन गर्न नसकिएको हो ? उपभोक्ता समिति आफैं समस्यामा छ ।
सुन्नमा आए अनुसार आयोजना निर्माणको क्रममा २१ ओटा फिडर संस्थाबाट उठाइएको रकमको हाल सम्म स्पष्ट हिसाब किताब छैन । साथ साथै नयाँ कार्य समिति चयन गर्दा संंथाको बिधान अनुसार २१ ओटा संस्थाको प्रतिनिधि, संस्थागत प्रतिबेदन तथा सार्बजनिक लेखा परीक्षण प्रतिबेदनको अधारमा नभई टिके प्रथा द्धारा नयाँ समिति बनाइएको छ । त्यही समिति हाल सम्म आफ्ना फिडर संस्थाहरु लाई बेवास्ता गर्दै आफ्नो रोटी सेक्ने दाउमा रहेको छ ।
समितिको काम आयोजना निर्माण कर्ता र सम्बन्धित निकायलाई जानकारी गर्दै समन्वयात्मक ढंगबाट अगाडी बढनु पर्छ । अन्यथा बिधान सम्मत बाटो खुल्ला गर्नु पर्छ । यसको लागि पनि उ तयार छ ? मलाई लाग्छ छैन । अनाबश्यक दाउ पेच र खिचातानीको सिकार बनाएर जनताले पानी खान नपाउनु यहाँ भन्दा ठूलो बिडमबना अरु के हुन सक्छ ? पानीमा राजनिति गर्न आबश्यक छैन ।
खाली साना शहरी लाई दोष लगाएर पानी माथिको ओभानो बन्ने प्रयास आफ्नो असफलता हो भन्ने बुझन आबश्यक छ । दरौंदी खानेपानी संचालन गर्न नसक्ने हो भने साना शहरीले दरौंदी चलाउन सक्छ । म आग्रह गर्दछु । यहाँहरुले हामीलाई दिनुहोस हामी चलाएर आम उपभोक्ताहरु लाई पानी खुवाउन सक्छौं । राज्यको झण्डै ६१ करोड लगानी गर्ने गरी आएको महत्वपूर्ण बृहत दरौंदी खानेपानी आयोजना निर्माण कार्य प्रारम्भ भएको ३ बर्षमा सम्पन्न गरी आम उपभोक्तालाई पानी बितरण गर्ने लक्ष्यका साथ अगाडी बढेको देखिन्छ ।
तर आज सम्म यस आयोजनाले मुर्त रुप पाउन सकेको छैन । किन यस्तो भएको होला ? खानेपानी जस्तो संबेदनशिल बिषयमा सम्बन्धित पक्षहरु के गरेका होलान ? खानेपानीमा राजनीति पो भएको छ कि ? उपभोक्ताहरुले चासो नदिएका होलान कि ? के होला ? यि र यस्ता थुप्रै प्रश्नहरु रहेका छन । तर यि प्रश्नहरुको उत्तर ऐले सम्म आएको छैन ।
आशा गरौं सम्भबत ढिलो चाडो जबाफ आउने नै छ । चैतमा नपाएको पानी कहिले पाउने ? खडेरी त्यही माथि बिद्मुतको अनियमितता र हावा हुरी र चर्काे उपभोक्ताहरुको माग आदि पक्षलाई परिपूर्ती नगर्ने जिम्मेवार पक्षहरुको भूमिकालाई कसरी हेर्ने ? समस्या यहि छ । समाधान पनि छ । बिना समस्या समाधान हुदैन । त्यसैले गौतम बुद्धले भनेका छन जहाँ समस्या छ, त्यहाँ समाधानका उपाएहरु प्नि छन । तसर्थ बृहत दरौंदी खानेपानी आयोजना संचालनका केही मुख्य आधारहरु यस प्रकार रहेका छन :
क.स्थानीय सरकार, सम्बन्धित निकाय र २१ ओटा फिडर संस्थाहरुको उपस्थितिमा पानी संचालन समिति बनाएर तुरुन्तै पानी संचालन गर्ने ।
ख.दरौंदी खानेपानी उपभोक्ता समितिले ढिलो नगरी तत्काल २१ ओटा फिडर संस्थाहरु संग पानी संचालनको आधारहरु तय गर्ने ।
ग.आयोजना निर्माणमा प्रयोग भएका औजार र सामाग्रीहरुको स्थलगत अध्ययन गरि सुधार गर्नु पर्ने पक्षहरुको सुधार गर्ने र फेर्नुु पर्ने लाई फेर्ने ।
घ.आयोजना निर्माणको लागि गरिएको संझौताहरु पूर्ण रुपमा लागू गराउने ।
ङ.आयोजनामा प्रयोग भएको बिधुत ट्रान्स फर्मर, मोटर पम्प, प्रयोग गरिएका तारहरु र भौतिक संरचनाको गुणस्तरियता र क्षमताको सुनिश्चितता गर्नु पर्ने ।
च.आयोजना प्रभाबित क्षेत्रका समुदाय संग बसेर उहाँहरुको मुख्य मागको समाधान गर्नु पर्ने ।
छ.अबैधानिक दरौंदी खानेपानी उपभोक्ता समिति खारेज गरेर बिधान सम्मत बिश्वाशिलो नयाँ कार्य समिति चयन गर्नु पर्ने ।
ज.संस्था संचालनमा उपभोक्ता संस्थाहरुबाट लिइएका रकम तथा हरहिसाब सार्बजनिक लेखा परीक्षण सहित सार्बजनिक गर्नु पर्ने ।
झ.पानी संचालनको लागि बिशेष कोष संचालन गर्ने ।
ञ.शुलभ रुपमा पानी उपलब्ध गराउने संभाबनाका क्षेत्रहरु पहिल्याउने । लेखक पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी अध्यक्ष पनि हुन् ।