कथा : तनाव
भरत केवट ।
किलर माउन्टेनको नामले चिनिएको मनास्लु हिमालको काखबाट दक्षिणतिर बेजोडसित बुढीगण्डकी नदी बगिरहेको थियो ।नदीको तुफानी बेग अनि गहिराइले सबैको मुटु कमाउँथ्यो। त्यही गण्डकी नदीको तिरमा सुनमायाको घर थियो। आमाबाबा होटेल व्यवसायी हुनुहुन्थ्यो। पैसाको राम्रो कमाइ हुन्थ्यो ।
सुनमाया आफ्नो आमाबाबाको एक्ली सन्तान थिई । गाउँमा आधारभूत तहसम्म मात्र पढाइ हुन्थ्यो ।छोरीलाई पढाउनका लागि अन्यत्रै पठाउनुपर्ने भएको थियो । छोरी काठमाडौँ गएर पढ्न चाहन्थी ।छिरिङचाहिँ काठमाण्डौँ पठाउने मुडमा थिएनन् किनकि यसपाली उनलाई चुनाव लड्नुपर्ने थियो। त्यसमा पनि काठमाडौँ जस्तो खर्चिलो ठाउँमा राखेर छोरीलाई पढाउँदा खर्च बढी लाग्थ्यो । त्यस सहरमा चिनेजानका कोही आफ्ना आफन्त पनि थिएनन् ।अलिकति छिरिङले पैसा जम्मा पनि पारिसकेका थिए अझै धेरै जम्मा पार्नु थियो।आम्दानीको स्रोत भने उही होटेल व्यवसाय मात्रै थियो।
उनले सुनेका थिए चुनावमा धेरै पैसा खर्च गर्नुपर्छ तब मात्रै चुनाव जितिन्छ। राजनीति गर्न पनि कहाँ सजिलो छ र ? उनले राम्ररी बुझेका थिए।डोल्माले होटेल समाल्थिन् । छिरिङ र डोल्माको घरगृहस्थी राम्ररी चलिरहेको थियो ।यी दमपत्ती एउटा मात्रै सन्तान जन्मेकोमा अलिअलि तनावमा थिए। घरीघरी उनीहरुले भन्ने गर्थे सुनमायाको ठाउँमा छोरा जन्मेको भए अथवा एउटा छोरा अनि एउटी छोरी भएको भए कति राम्रो हुन्थ्यो तर ईश्वरले हामीमाथि न्याय गर्नुभएन ।
आफू अन्यायमा परेको भन्दै धेरै पटक गुम्बामा गएर भगवानसँग गुनासोसमेत गरे ।उनीहरुको गुनासो सुनुवाइ भएन।डोल्माको अर्को कोख खुल्न सकेन ।उनीहरु अनेकौँ प्रयत्न गरे सबै व्यर्थ भयो।छिरिङ दोस्रो विवाह पनि गर्न सक्थे तर त्यसो पनि गरेनन्।धर्मपुत्र पाल्ने सल्लाह पनि नभएको होइन । उनीहरु जीन्दगीको यात्रामा सपना अधुरो भएकोमा खिन्न थिए ।अन्ततः परिवारको छोरा भनौँ या छोरी सबैथोक उही थिई ।
छिरिङ गाउँका कहलिएका भद्र मानिस थिए। आफूलाई एकचोटी नेता बनाउन चाहेका थिए । गाउँमा आफ्नो कीर्ति फिजाउन चाहन्थे ।गाउँमा कुनै सामाजिक समस्या पर्दा समाधानका लागि छिरिङ नै अगाडि सर्थे। गाउँमा लोकको हितका निम्ति काम गर्थे। सडक, बिजुलीबत्ती ,खानेपानी ,शिक्षा,स्वास्थ्य जस्ता हरेक सामाजिक कार्यमा उनी उत्तिकै सक्रिय थिए ।उनलाई नचिन्ने त्यो क्षेत्रमा कमै थिए ।जन्तीदेखि मलामी जानेसम्म हरेक दुखसुखमा सहभागी हुने गर्थे ।
आफ्नी छोरी सुनमायालाई एउटा राम्रो स्कुलमा भर्ना गरेर पढाउन पाए त एकोहोरो भएर आफ्नो धन्दातिर ध्यान दिन पाइन्थ्यो भनी लेकको दुर्गम मध्येको सुगम मानिएको विद्यालयमा कक्षा ९ मा भर्ना गरिदिए।जहाँ छात्रवासको सुविधासहित कक्षा १२ सम्मको पढाइ हुन्थ्यो। छिरिङले आफ्नी छोरीलाई छात्रवासमा राखिदिए। घरायसी वातावरणमा पठनपाठन हुने र छात्रवासको समेत राम्रो व्यवस्था भएकोले उनलाई छोरी पढाउने चिन्ता भने अलि कम भयो।
केही दिन सुनमायालाई नयाँ ठाउँ, नयाँ स्कुल,नयाँ साथी त्यसमाथि आमाबाबाबाट टाढिनुपर्दा केही असहज भयो तर सुनमायाले जीवन सधैँ एउटै सरल रेखामा हिँड्दैन उतारचढाव धेरै आउँछ्न् भनी चित्त बुझाई । पछिपछि सबै सहज हुँदै गयो । ठूलो सपना बोकेर पढ्नआएकी सुनमाया अत्यन्तै चञ्चले अनि नक्कली स्वभावकी थिई । फक्रदै गरेको फूलको झैँ सुनमायाको बैँस भर्खर फक्रिन लागेको थियो । उमेर नै गुलाबी थियो ।
चमेली र जस्मीन फूलको झैँ वासना छर्न नसके पनि भिरमा फूलेको लालीगुराँसले झैँ साराको ध्यान खिचेको चाहिँ अवश्य नै थियो। फूलहरु संग बिष र अमृत दुबै हुन्छ । कहिले कहीँ अमृतको खोजिमा लागेकाहरु बिषपान गरि अकाल मृत्यु वरण गर्छन् । फूलहरु क्षणिकता बोकेर फुल्छ्न् अनि अरुलाई हसाएर वा रुवाएर ओइली जान्छन् । एक वर्षको पढाइको यात्रा राम्रै रह्यो।सुनमाया कक्षामा सेकेन्ड पोजिसन हासिल गरी ।आमाबाबाको एक्ली सन्तान थिई।
छोरीले मागेजतिको रकम छिरिङले पठाइदिन्थे । उसका विरलै चाहनाहरु मात्रै पूरा हुँदैनथे ।त्यस मध्येको काठमाडौँ गएर पढ्ने रहर मात्र पुरा हुन सकेको थिएन।छिरिङ र डोल्माले वर्षमा एक दुई पल्ट भेट्न पनि आउँथे। लामो विदामा त छोरी आफै घर जाने गर्थी ।
सुनमाया एस इ इ को परीक्षाको तयारीमा जुटेकी थिई भने छिरिङ गाउँपालिका अध्यक्षमा चुनाव लड्ने तयारी तीब्र बनाएका थिए। बुवा छोरी दुबै जनालाई फरक फरक तनावले सताउन थालेको थियो। छिरिङ अध्यक्ष पदको टिकटका लागि जिल्लातिर त कहिले केन्द्रतिर पार्टीको मिटिङमै व्यस्त हुन थालेका थिए।आफूले लामो समयदेखि पार्टीलाई अमूल्य सहयोग गरे पनि उनलाई टिकट पाउनका लागि अनि ठूलै रकमको पुजाही दिनु परेको सुनिएको थियो।
त्यस दिनदेखि नै वास्तवमा उनले दुनियाँमा सबै भन्दा मूल्यवान रुपैयाँ नै रहेको बुझे।जीन्दगीभर कमाएको पैसाले त टिकट पाए यद्यपि सङग्राम बाँकि नै थियो।मुख्य लडाइँ त अब सुरु भयो भनी कार्यकर्ताहरुले सुनाउने गर्थे ।पार्टी प्रचारप्रसार ,सङ्गठन सुदृढीकरण ,कार्यकर्तालाई सहयोग ,गुण्डा नाइकेहरुलाई उपहार गरेर अझै मोटै रकमको जोहो गरे मात्रै चुनाव जितिने कुरा सबैले गरे। पैसाले भोट किन्ने हो हैन भने त उपाय नै छैन ।उनलाई अर्को तनाव थपियो। छिरिङले बैङ्क र सहकारीबाट गरी कुल पचास लाख ऋण खोजे अनि चुनावी मैदानमा उत्रिए ।
यता भने होस्टेलमा पढ्ने वातावरण नभएको भन्दै सुनमाया होस्टेल बाहिर बस्ने निर्णय गरी । यो खबरले उनीहरु स्तब्ध भए । छिरिङले मनमनै सोच्न थाले।छोरी ठुली भइसकेकी छे । घरकी एक्ली सन्तान हो। हाम्रो लागि सुन जत्तिकै मूल्यवान छिन् ।जे निर्णय लिएकी छिन् ;राम्रै होला भनी चित्त बुझाए।यसमा पनि सुनमायको खुसीलाई छिरिङ र डोल्माले नकार्न सकेनन् ।
यहाँ छिरिङले पनि गहिरिएर छोरीलाई बुझ्ने प्रयत्न गरेनन् किनकि उनी आफै सङ्कटको भुमरीमा फसेका थिए । उनले भन्ने गर्थे, “छोरी सुनमाया तिमी हाम्रो घरकी सुन भन्दा पनि बहुमुल्य रत्न हौ । तिमी ठूली भैसकेकी छ्यौ धेरै के भन्नू र खै ? तिमीले हाम्रो नाक काट्ने काम चाहिँ नगरे ।”
समय बित्दै गयो सुनमायाको असाध्यै मिल्ने साथी फूलमाया थिई। फूलमाया डेरा गरेर बस्थी अनि कक्षा ११ मा पढ्थी। उसका दुइटा बोइफ्रेन्ड थिए। फूलमाया जस्ता अन्य साथीहरु पनि थिए । उनीहरुको जिन्दगी नै रङ्गीन थियो ।सुनमाया फूलमायाकै रङ्गमै रङ्गीन चाहन्थी। घरबेटी घरमा बस्दैनथे ।उनीहरु पोखरातिर बस्थे। बर्षको दुई फेर मात्रै घर आउँथे। त्यो घरमा फूलमाया र सुनमायाकै बहार थियो।सुनमायाले अन्लाईन कक्षाका लागि आमासगँ मोबाइल किन्नुपर्ने कुरा गरेकी थिई।
आमाले पनि पढाइकै लागि हो भने त किन्नै पर्यो भनेर मोबाइल किनेर पठाइदिनु भएको थियो ।सुनमायाका डिमान्डहरु बढ्दै जान थाले । दिनरात मोबाइलमा व्यस्त हुनथालेपछि विद्यालय जाने काम पनि घट्दै गयो। हुँदाहुँदै सुनमायाको पढाइप्रतिको रुचि नै घट्यो । सुनमायाका केटा साथीहरु बढ्दै गए । अपरिचित व्यक्तिहरुसँग पनि सुनमायाको सम्बन्ध विस्तार हुँदै गयो । बोइफ्रेन्ड बढ्दै गएकोमा सुनमायालाई आनन्द र सन्तुष्टि प्राप्त हुँदै गयो ।
दुई वर्ष देखि गाउँपालिका अध्यक्ष पदमा चुनाव लड्ने छिरिङको प्रतीक्षाका दिनहरु पनि समाप्त भए। धुमधामसँग चुनावमा प्रचारप्रसार, भोजभतेर, लेनदेनका कार्यक्रम समापन भयो । दुई ओटा पार्टीको केन्द्रमा गठबन्धन भयो । यो खबरले छिरिङलाई आफू पराजित भइने पो हो कि भन्ने ठूलो डर लाग्न थाल्यो । छिरिङको केन्द्रीय पार्टी सङ्ग्ठनले कसैसँग गठबन्धन नगर्ने निर्णयले यिनको भोक ,निद्रा ,प्यास सबै उडाइदियो।एक चोटी आफ्नो केन्द्रीय पार्टी सभापतिलाई पनि तपाईँहरुले यो कस्तो निर्णय गर्नुभएको हो? राम्रो निर्णय भएन ।
हामीले गठबन्धन गरेर अगाडि बढेनौँ भने हार्ने कुरा पक्का छ। “पार्टी सभापतिले भन्नुभयो, “हाम्रो सङ्गठन मजबुत छ ढुक्क हुनुहोस् हामी बहुमतका साथ जित्छौ ।” निर्वाचन पनि धाधलीरहित सम्पन्न भयो । छिरिङले चुनाव जित्नका लागि साम ,दाम ,दण्ड र भेद सम्पूर्ण नीति अपनाए । उनीसँग भएको सम्पूर्ण पैसा स्वाहा भयो।तनाव भने झन बढेर आयो । मतपेटिका सङ्कलन कार्य सकिएपछि मतगणना कार्य सुरु भयो।
छिरिङ्को मुटुको धड्कन झन् झन् बढ्दै जान थाल्यो।दुई ओटा वडाको मत गणना हुँदासम्म त छिरिङ अगाडि थिए तर त्यसपछिका अन्य वडाका मतहरु गन्दै जाँदा गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै लगे र अन्त्यमा छिरिङले ठूलो मतअन्तरले पराजय व्यहोर्नुपर्यो। निर्वाचन हारे पश्चात छिरिङले जनतालाई बल्ल चिने ।आफ्ना कार्यकर्ताहरु अनि गुण्डा नाइके सबैलाई चिने। मज्जासँग चिने । अझ अर्को कुरा पैसाले जनताको मत कहिल्यै किन्न नसकिने रहेछ भन्ने कुरा बुझे । त्यस दिनदेखि उनी राम्रोसँग निदाउन सकेका थिएनन् ।
चुनावमा पराजय बेहोर्नुपरेको खबर हुरीझैँ फैलियो । यो खबर सुनमायाको कानमा पनि पर्यो । यो घटनाले सुनमायालाई केही समय दुखी तुल्यायो।त्यसपछि ऊ आफ्नै रङ्गढङ्गमा ।ऊ एस इ इ परीक्षा दिने तयारीमा थिई । होस्टेल छोडेदेखि उसको पढाइ एकदमै खस्केको थियो । सेकेन्ड पोजिसनबाट उसको पोजिसन घटेर निकै तल पुगेको थियो । हाजिरी पनि पचहत्तर प्रतिशत पुग्ने अवस्था थिएन।तयारी परीक्षामा तीन ओटा विषय लागेको थियो ।
विद्यालय प्रशासनले सुनमायालाई परीक्षाका लागि अयोग्य ठहर गर्ने निर्णयमा पुगेको थियो। विद्यालय प्रशासनले सुनमायाको अभिभावक छिरिङलाई विद्यालयमा बोलायो।यो भन्दा अघि पनि हरेक परीक्षाको नतिजा विश्लेषण गर्दा अभिभावकलाई नबोलाएको पनि होइन ।समय अभावका कारण आउन सकेका थिएनन् । आज भने छिरिङलाई छोरी सुनमायाका लागि पर्याप्त समय थियो।छिरिङ पराजित मुद्रामा एउटा तनाव बोकेर सुनमायाको विद्यालयमा पुगे ।
छिरिङ विद्यालय पुग्दा निकै ढिलो भइसकेको रहेछ। सुनमायाको चरित्र र पढाइ दुबै लिलाम भइसकेको थियो।जुन जति नै मूल्य तिरे पनि फर्किनेवाला थिएन।छोरी सुनमाया, बुवा छिरिङ दुबैजना विद्यालय प्रशासनमा उपस्थित थिए। सुनमाया टाउको निहुराएर बसेकी थिई । छिरिङलाई प्रधानाध्यापकले अलग कोठामा लगेर सुनमायाको सबै क्रियाकलाप सुनाएपछि छिरिङलाई रतौँधी आयो । उनी किंकर्तव्यविमूढ भए ।
छिरिङले आफ्नी छोरी सुनमायालाई भन्नुभयो, “छोरी तिमीले किन यस्तो गर्यौ? हाम्रो परबरिसमा कहाँनेर भुल भयो ? तिम्रो यो पढ्ने उमेर थियो ।आज म हारेको भए पनि तिमीलाई विजय प्राप्त गरेको देख्न चाहेको थिएँ।त्यो मेरो सपनामै सिमित भयो जुन अब फर्केर आउने पनि छैन ।पूरा हुने पनि छैन।हिजो भर्खर मात्र म मेरा खराब साथी अनि पैसाको दम्भले गर्दा लुटिएँ । तिमी आफ्नो यौवन अनि धनको दम्भले गर्दा बर्बाद भयौ।म यी सबै कुरा कसरी बिर्सूँ ?”
सुनमायाले भनी,“ माफ गरिदिनुहोस् बाबा म तपाईँको असल छोरी बन्न सकिनँ ।यसमा तपाईंको कुनै दोष छैन ।मबाट ठूलो भूल भयो । म आफ्नो गल्ती सच्याउन चहान्छु। एकचोटीलाई माफी चहान्छु।” छिरिङले भने, “फूलको सङ्गत गर्नाले मन्दिर पुगिन्छ तर झिँगाको सङ्गत गर्नाले फोहोरमा पुगिन्छ किनकि झिँगाको स्वर्ग भनेको नै फोहोर ठाउँ हो।यो कुरा मैले राम्रोसँग सिकेको छु। असल साथी त्यो हो जो तिमीलाई सत्मार्ग देखाउँछ।गर्तमा गिर्नबाट जोगाउँछ ।तिम्रो सङ्गत खराबहरुसँग छ ।
तिम्रा ती सबै साथीहरु खराब हुन् जसले तिमीलाई गलत रुपमा प्रयोग गरे । तिमीलाई एक दिन सबैले छोडेर जानेछन् ।तिमी एक्लै हुने छौ। तिनीहरुलाई तिम्रो स्वास्थ्य अनि भविष्यसँग कुनै मतलब छैन।मतलब छ भने केवल तिम्रो जवानी र पैसासँग ।”
विद्यालय प्रशासनले एस इ इ परीक्षाका लागि अयोग्य विद्यार्थीहरुको सूचीबाट सुनमायाको नाम हटायो । छिरिङलाई भने छोरी सुनमायालाई कसरी सुधार्ने भन्ने अर्को तनाव थपियो । लेखक श्री भवानी मा.वि. मान्बुका शिक्षक हुन् ।