| आइतवार, असार ३१, २०८१

मानव अधिकार तथा शान्ति समाजको गरिमा एवं उपादेयता

गोमा दुवाडी ।
मानव अधिकार विश्वव्यापी अवधारणा हो । मानव भएका नाताले पाउनुपर्ने अधिकारलाई मानव अधिकार भनिएको पाइन्छ । यो सांसारिक, अविभाज्य र अहरणीय हुन्छ । जाति, वर्ण, लिङ्ग, भा षा, धर्म, राजनीतिक वा अन्य विचारधारा आदिका आधारमा विना भेदभाव स्वतन्त्र रूपमा बाँच्न पाउने यो अधिकार अत्यावश्यक र विशेष चर्चाको विषय बनिरहेको छ । कानुनी शासनले प्रत्याभूत
गरेका सबै विषय मानव अघिकारभित्र जोडिएको हुन्छ ।

शान्ति, अहिंसा र लोकतन्त्र यसको प्राण हो । समानता, स्वतन्त्रता र प्रतिष्ठाको अधिकार अर्को अर्थमा मानव अधिकार हो । यसभित्र जीवनको अधिकार, जन्मसिध्द अधिकार, स्वतन्त्रताको अधिकार, धार्मिक स्वतन्त्रताको अधिकार, सुरक्षाको अधिकार, प्रतिष्ठा र ख्यातिको सुरक्षण गर्ने अधिकार, राष्टिूयताको अधिकार जस्ता थुप्रै अधिकारहरू पर्दछन् । मानव अधिकारसम्बन्धी अवधारणा सन १९४८ मा संयुक्त राष्ट्रसंघको प्रयासमा प्रकाशमा आएको हो ।

आज आएर यससम्बन्धी विभिन्न महासन्धिहरू निर्माण भइसकेका छन्। मानव अधिकारसम्बन्धी पृष्ठभूमि धेरै अघिदेखि बन्दै आए पनि सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापनापछि मात्र यसको संस्थागत विकास भएको हो । पहिलो र दोस्रो विश्वयुध्दले संसारभरि पुग्न गएको क्षतिबाट शान्तिकामी विश्व समुदायको ध्यानाकर्षण भई यो पवित्र विचार जन्मेको हो । यसले युध्द हुनै हुँदैन भन्ने मान्यता राख्दछ ।

एक राष्ट्रले अर्को राष्ट्रमाथि आक्रमण गर्नु भनेको मानवता विरुध्दको कार्य हो भन्ने मान्यता हो यसको । आणविक अस्त्र प्रयोग गरी विनाशमा रमाउनेहरूका लागि गतिलो झापड हो यो । प्रत्येक तानाशाही शासनको विरुध्द यसले आवाजलाई बुलन्द गर्दछ । मानव अधिकारभित्र बाँच्न पाउने अधिकारका अतिरिक्त गास, बास,कपासलगायत शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता यावत् विषयहरू समाहित भएका हुन्छन् ।

कानुनी शासनले प्रत्याभूत गराउने सबै विषय मानव अधिकारभित्र जोडिएको हुन्छ । जीवन रक्षाको अधिकार मानव अधिकारको चुरो हो । समाजमा प्रत्येक मानिस पूर्ण रूपमा सुरक्षाको प्रत्याभूतिसहित बाँच्न चाहन्छ ।अतः यो स्वतन्त्रत्राका लागि हुने आन्दोलन हो । स्वतन्त्रता मात्र मानव अधिकारको विषय होइन । स्वच्छन्दता पनि मुख्य विषय हो । सुनको पिँजडामा बसेको सुगाभन्दा खुला आकाश स्वच्छन्द रूपमा उड्न पाएको चरा बढी खुसी देखिन्छ । हुन पनि हो – मानिस ब्रेडले होइन, ब्रेनले बाँच्छ ।

अर्काको अधिनमा बाँच्ने अवस्थालाई मानिस जेल सम्झन्छ । धर्ती जोगाउने र धर्ती बचाउने विषय मानव अधिकारभित्र मुख्य प्राथमिकता बनेर आउनुपर्छ । किनभने मानव जीवनको रक्षा र धर्ती जोगाउने विषय निकै चुनौतीपूर्ण छ । आज धर्तीमाथिको अतिक्रमण भुसको आगो झैँ फैलिएको छ । हिंसात्मक संस्कृति उत्तरोत्तर बढ्दो छ । अतः मानव अधिकारको विषय आफ्नो र प्रकृतिको सुरक्षासंग सम्बध्द तुल्याउनुपर्छ ।

मानव अधिकारभित्र सामाजिक सुरक्षाको विषय महत्वपूर्ण रूपमा जोडिएर आएको हुन्छ । जेष्ठ नागरिक, बालबालिका, असक्त, अपाङ्ग, आर्थिक रूपले विपन्न समुदाय, गर्भवती तथा सुत्केरी महिलालगायत सबैनागरिकहरूको जीवनयापनलाई जोखिममुक्त बनाई सहजीकरण गर्ने काम पनि मानव अधिकारभित्र पर्दछ । विभिन्न महामारी (कोभिड ( १९) तथा विपद्जन्य अवस्थाबाट हुने विकराल स्थितिबाट सुरक्षित रहन र यो सुन्दर जीवनलाई गुणस्तरीय तुल्याउन पनि मानव अधिकारले टेवा पुर्याउँछ ।

आज समाज लिङ्ग, धर्म, भाषा, जातजाति आदि आधारमा विभाजित छ, विभेद छ, सहिष्णुताको खडेरी छ, भातृत्व टुक्रिएको छ; समाज अस्वस्थ छ । हामीमा अधिकार मात्र खोज्ने तर कर्तव्य पूरै बिर्सने संस्कृतिको विकास भइरहेको छ । मानव अधिकारको विषयभित्र अधिकार र कर्तव्य एक सिक्काका दुई पाटाका रूपमा आएका हुन्छन् । अधिकार नैसर्गिक तथा जन्मसिध्द विषय हो । यता कर्तव्यको दुनियाँ आकाश जस्तै फराकिलो छ ।

यसलाई सीमाबध्द गर्न कठिन छ । अधिकार सीमित हुन्छ तर कर्तव्य असीमित । हाम्रो चलन छ–अधिकार खोज्ने तर कर्तव्य भुल्ने ।मानव अधिकार भनेको अधिकार र कर्तव्य दुवैको सन्तुलन हो । अतः अधिकार र कर्तव्य दुवैलाई एकाकार गरी अधिकारमुखी संस्कृतिमार्फत विभेदरहित समाज बनाउने दिशामा अघि बढ्नु जरूरी छ । यसका लागि समावेशीता, समानता, सहभागीतामूलकताको संस्कृतिसहित समृध्द, सुसंस्कृत, स्वस्थ, अग्रगामी एवं प्रगतिशील समाज बनाउन विलम्ब गर्ने अवस्था छैन ।

मानव अधिकार प्रदूषणमुक्त समाज बनाउने विषयसंगजोडिएको हुन्छ । आफ्नो घर तथा स्वर्ग जस्तो देशमा बस्दा तोकिएको ठाउँमा फोहोर नफाल्ने हामी नेपाली विदेश गएपछि रोबट झैँ सिस्टमभित्र आइहाल्छौँ । यो के भएको हो ? यस विषयमाथि गम्भीर भएर सोचौँ त । आफ्ना कर्तव्य पूरै भुल्ने अनि अरुमाथि दोष थुपार्ने चलनको होड छ । एउट औँलो अरुतिर सोझ्याउँदा बाँकी चार वटा औँला आफैँतिर फर्किएको पनि ख्याल गर्ने हो कि ? साँच्चै भन्ने हो भने स्वाभिमान र आत्मसम्मान हाम्रा अमूल्य पूँजी हुन् ।

नागरिकहरूको सर्वोच्चता अर्को महत्वपूर्ण पक्ष हो । यसमा नागरिक संस्कृति महत्वपूर्ण हुन आउँछ । को रक्षा, अहिंसा एवं शान्ति र समृध्दि वर्तमान आवश्यकता हो । मानव अधिकारले यी र यस्ता सबै पक्षमा काम गर्छ । राजनीतिमा हुने शुध्दीकरणले मानव अधिकारको कार्यान्वयनमा टेवा पुग्दछ । राजनीतिका आँखाबाट नजर लगाउँदा सबै नागरिक भगवान् सरह हुन् । लोकतन्त्रमा नेता मानिसमात्र हुन्तर नेता बनाउने भोटर सबै देवतासरह हुन् ।

यो मर्मलाई आत्मसात् नगर्ने नेता राजनीतिज्ञ होइन । उसले राजनीतिबाट विश्राम गर्दा नागरिकको कल्याण हुन्छ । खास भन्ने हो भने आजको राजनीति प्रायः कार्यकर्ता पोस्ने, ब्रह्मलुट गर्ने र सत्ता एवं शक्तिको चरम दुरुपयोग हुने गरी नातावाद, कृपावाद तथा स्वार्थलिप्सामा अल्झेको छ । यसो भइरहँदा मुलुकको भविष्य कहाँ पुग्ला ? मानव अधिकार राजनीतिभन्दा माथि छ ।
राजनीतिमा राम्रालाई भन्दा हाम्रालाई हेर्ने होड बढ्यो । अनि आफू इतरलाई खुइल्याउने कामधन्दा बढी छ । यसले पक्कै राम्रो गर्दैन ( न व्यक्तिलाई, न राजनीतिलाई, न मुलुकलाई ।

नागरिकको मनोभावना तथा आवश्यकताको कदर गर्दै निःस्वार्थ ढङ्गले समानता एवं निष्पक्षतापूर्वक जनप्रतिनिधिहरूले आफ्ना पद र कर्तव्यलाई शिरमा राख्नुपर्छ । भ्रष्टीकरणको चरित्र निर्मूल हुनुपर्छ अनि उद्यमशीलताको चरित्रको विकास गर्नुपर्छ । मानव अधिकारको क्षेत्र आज मानव मात्रको रक्षाको चिन्तनमा मात्र सीमित छैन । हामीले हाम्रा सन्ततिको भविष्यको चिन्तन गर्नुपर्ने बेला आइसक्यो । हाम्रा सन्ततिलाई यो सुन्दर विश्व कसरी स्वस्थ र सुरक्षित बनाई छाड्ने भन्ने कुरा मूल हो आज ।

भावी पुस्ताको बाँच्ने अधिकारलाई धावा बोलेर भावी सन्ततिका लागि धर्ती सुरक्षित हुन सक्दैन । यो धर्ती मेरा लागि मात्र होइन, भावी सन्ततिका लागि हो भनी हृदयङ्गम गरी जैविक विविधताको संरक्षण र सम्बध्र्दनमा हाम्रो ध्यान पुग्नु जरुरी छ । मानव अधिकार र शान्ति समाज एउटा विशुध्द सेवाभावले ओतप्रोत पवित्र संस्था हो ।

यसले मुलुकलाइ शिरमा राख्छ । मानवता र राष्ट्रियता यसको अभीष्ट हो । जीवन रक्षाको अधिकार यसको चुरो हो । हामी दिनहुँ सुन्छौँ – भ्रष्टाचार बढ्यो, हिंसा बढ्यो, व्यभिचार बढ्यो, दुराचार बढ्यो । यस्तो किन हुन्छ ? मानव अधिकार तथा शान्ति समाजको चिन्तनको विषय हो यो । यो उत्पीडित तथा उपेक्षितहरूको उत्थान गर्ने मञ्च हो ।

युध्दविरोधी दर्शन भएकाले युध्द र उन्मादी मानिसहरूलाई न्याय र मानवताको मार्गमा दिशानिर्देश गराउने यस अभियानका कारण कैयन् आपराधिक गतिविधिहरू निस्तेज पनि भएका छन् । हाम्रै देशमा आफ्नै नेपाल आमाका एउटै सन्तान बीच मनमुटाव हुँदा, हतियार उठ्दा, कालो बादल मडारिँदा, हिंसात्मक गतिविधि हुँदा आँकलन गर्न नसकिने क्षति बेहोर्नु पर्ने भयो । मानव अधिकार तथा शान्ति समाजको जन्मको पृष्ठभूमि बन्न पुग्यो यो घटना ।

कहालीलाग्दो यस अवस्थामा मानव अधिकार तथा शान्ति समाजले शान्तिको आवाजलाई तिब्रता दियो । हामीले सदा फराकिलो घेराबाट सोच्नु पर्छ । विश्वशान्ति गन्तव्य भएकाले गौतम बुध्दबाट शान्तिको सन्देश प्रवाह भएको यस देव भूमि नेपालले अन्तर्राष्ट्रिय जगत्मा शान्तिको विश्वव्यापी आवाजलाई बुलन्द गर्नुपर्दछ । विश्वशान्तिको आवाजलाई सगरमाथाको चुचुरोबाट शङ्खनाद गर्नुपर्छ । यो मानव अधिकार तथा शान्ति समाजको जिम्मेदारी र कर्तव्य हो ।

यसलाई सार्थकता दिन मानव अधिकार तथा शान्ति समाज गोरखा कटिबध्द र प्रतिबध्द पनि छ । मानव अधिकार तथा शान्ति समाज गोरखा शाखाले मुलुकमा चरम हिंसा र अशान्ति व्याप्त भएको दर्दनाक अवस्थामा हिंसाको अन्त्य गरी शान्ति स्थापनार्थ दृढताका साथ विविध कार्यक्रमहरू गरेको स्मरण गर्न चाहन्छु । मानव अधिकारकर्मी स्थानेश्वर दुवाडीज्यू सभापति हुनु हँुदा म आफू सदस्य हुने अवसर प्राप्त गरेको र थुप्रै साथीहरूसंग जोडिएर कैयन् कामहरू गरेको सम्झना हुन्छ । युध्दकालीन समयमा राम्रा कामहरू गर्न पनि अहिले जस्तो सहज अवस्था थिएन ।

गोरखा सदरमुकाममा शान्ति र्याली निकालेर कार्यक्रम गरेको अहिल्यै जस्तो लाग्छ । कहाली लाग्दा दिनहरू सम्झँदा आँखा पनि रसाउँछ । आङ जिरिङ्ग भएर आउँछ । आखिर जो मरे पनि ती नेपाल आमाकै सन्तति थिए । द्वन्द्वका घाउहरू अझै निको भएका छैनन् । अबका दिनहरू घाउलाग्ने खालका नबनून् भन्ने कामना हो । अग्रजहरू र साथीहरूको माया र विश्वास पाएर मानव अधिकार तथा शान्ति समाज गोरखाको सभापति हुने सौभाग्य पाएको छु ।

सबैको साथ, सहयोग र सत्कर्मबाट मात्र संस्था अघि बढ्न सक्छ । मलाई विश्वास छ– सहयोग र सम्बन्ध बढ्नेछ । मानव अधिकार तथा शान्ति समाज गोरखाको तर्फबाट सदिच्छा राख्दछु–अब यो मुलुकमा हिंसाको अन्त्य होस्र सबै भाइचाराको भावसहित निर्भयपूर्वक बाँच्न पाऊन् । शान्ति र विकासको मूल आधारका रूपमा मानव अधिकारलाई स्वीकार गर्नुपर्दछ । मुलुकमा भएको युगान्तकारी परिवर्तनलाई रक्षा गरी शान्ति र समृध्दिको अभीष्टलाई साकार तुल्याउन मानव अधिकारको पालना गर्नुपर्छ ।

बन्धुत्व, सहअस्तित्व र मानवीय आदर्शको पूर्ण पालनाबाट मात्र यो सम्भव देखिन्छ । देशलाई शिरमा राख्ने, संसारभरि नै शान्तिको आवाज मुखरित गर्ने कर्मयोगको चिन्तनसहितकोविशुध्द सामाजिक सेवाभावले ओतप्रोत पवित्र संस्था भएकाले यसको सान, मान, गरिमा र उपादेयता अद्वितीय छ । युध्दविरोधी दर्शन भएकाले शान्तिको सन्देश प्रवाह गर्न र शान्तिकामी मानव समुदायको शान्तिको अभीष्ट पूरा गराउन मानव अधिकार तथा शान्ति समाजका सारथीहरू सदा निष्कामपूर्वक समर्पित र क्रियाशील रहन सकौँ; यही कामना छ ।

प्रतिक्रिया दिनुहोस्