| बिहिबार, चैत्र ६, २०८१

बाढी पहिरोबाट सजग रहौँ

जल तथा मौसम विज्ञान विभागले यो मनसुनमा धेरै वर्ष हुने जनाएको छ । गोरखाका पहाडहरु भुकम्पले हल्लाएर थिलोथिलो भएको अवस्था छ । यहाँका जमिनहरु राम्ररी जमिसकेका छैनन् । वर्षाका बेला बग्ने र पहिरिने सम्भावना ज्यादा रहन्छ ।
त्यसमाथि पनि पहाडमा जताततै सडक खन्नाले सामान्य वर्षामा पनि पहिरो जाने सम्भावना बढी हुन्छ । पहिरो सहितको अनियन्त्रित बाढीले फाँटहरुमा असिमित क्षती गर्ने गरेको छ । त्यसैले यस्तो बेलामा सचेत रहनु जरुरी छ ।
गोरखाका धेरै बस्तीहरु जोखिम भएकाले भुगर्भविदहरुले सुरक्षित स्थानमा स्थानान्तरण गर्न सिफारिस गरेका छन् । तर, न सरकारले स्थानान्तरणका लागी पहल कदमी लिएको छ, न स्थानीय बासी जोखिम बस्ती छोड्न नै तयार छन् । यसले पनि अप्रिय घटना घट्न सक्छ ।
अहिले सामाजिक सञ्जालको पहुँच जहाँतही छ । सरकारले पनि बाढी पहिरोको पूर्वअनुमान गरेर सामाजिक सञ्जालमा सचेतनाका सामाग्री राखिदिएको पाइन्छ । यस्ता सामाग्रीहरु हेरेर, सुनेर सचेत रहन सकिन्छ । प्रायको हातहातमा स्मार्ट मोबाइल छ । यस्को दुरुपयोग धेरै हुने गरेको छ । त्यसो नगरी राम्रो कुरामा मोबाइलको प्रयोग गरेर धेरै लाभ लिन सकिन्छ । अहिले नेपाल टेलिकम तथा एनसेलले पनि अधिक वर्षा, बाढी पहिरोको पूर्वअनुमान र यसबाट बच्ने उपायहरुका बारेमा सचेतनाका सन्देशमूलक सामाग्री सम्प्रेषण गर्ने गर्दछ । यसबाट पनि समयमै सर्तक रहन सकिन्छ ।
भनिन्छ, ‘हुलचालमा ज्यान जोगाउनु, अनिकालमा बिउ जोगाउनु’ । विपदको बेलामा जुक्ति र बुद्धिले काम गर्नुपर्छ । यस्तो बेलामा शारिरिक शक्ति, बलको प्रयोगले मात्र जोगिन सकिँदैन । यात्रा गर्नु अघि मौसमको पूर्वअनुमान अध्ययन गरेर मात्र यात्रा गर्नुपर्छ । साथै, यात्रा गर्ने बाटोको अवस्थाको बारेमा पनि राम्ररी जानकारी लिएर मात्र निस्कनु पर्छ ।
यो परिवेशमा आफुपनि सचेत रहनुपर्छ र अरुलाई पनि सचेत गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्