| शनिबार, बैशाख २२, २०८१

विद्यालयलाई राजनीतिमुक्त बनाऔं

भविष्यका कर्णाधार उत्पादन गर्ने थलो भनेकै विद्यालय हो । अहिले विद्यालयहरुमा विद्यार्थी संघ, संगठन बनाउने क्रममा मन्दी आएको छ । जसले गर्दा भविष्यका राजनीतिकर्मीको जग कमजोर बन्दै गएको बारे चर्चा चल्ने गर्छ ।
अर्कातिर विद्यालयमा शिक्षक र समितिको राजनीति भने चर्को हुने गरेको छ । समिति गठनमै राजनीति लाग्छ । शिक्षकहरु राजनीतिक विचारलाइनका आधारमा ग्रुपिज्म हुने, लाइन मिलेका प्रअलाई सहयोग, असहयोग गर्ने खालका राजनीति लागिरहन्छ । जसले गर्दा विद्यालयको जग भने कमजोर बन्दै गइरहेको छ ।
केहीदिनअघि विन्द्रावती माविमा भएको घटना पनि राजनीतिक पृष्ठभूमिकै हो । त्यसलगत्तै रत्नराज्य माविमा देखिएको घटना पनि राजनीतिक पृष्ठभूमिकै हो । यस्ता खालका राजनीति ओतप्रोत घटनाले विद्यालयका छवि बिग्रन्छ । पठनपाठन बिग्रन्छ । भविष्यका कर्णाधारको मन मस्तिष्क बिग्रिन्छ । यसप्रति विद्यालय प्रशासन, विद्यालय परिबार, व्यवस्थापन समिति, अभिभावक सबै सचेत हुनुपर्छ ।
कसैको राजनीतिक स्वार्थ, कसैको पदीय स्वार्थ पूर्तिका लागि अरु गोटी बन्ने मुर्खताबाट अझै हाम्रो समुदाय मुक्त हुन सकेको छैन । रत्नराज्य माविको प्रअको विषयमा धेरै विद्यार्थी फेल भए । त्यस कारण फेर्नुपर्छ भनेर दबाब दिन आएका अभिभावक, गैरअभिभावकहरु विद्यालयको पठनपाठन सुदृढ गर्नुपर्छ भन्ने विषयमा छलफल गर्न कति दिन आए ? के के बिकल्पहरु पेश गरे ? आफ्नो तर्फबाट गर्न सकिने योगदान के के गरे ? सोचनीय छ ।
तसर्थ विद्यालयलाई राजनीतिक थलो होइन, शैक्षिक थलो बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्