| शुक्रबार, बैशाख २१, २०८१

लिगलिगकोटको बाँसे पोल कहिले होला बिस्थापन ?

आम नेपालीहरुले सरकारी संस्थान तथा व्यापारिक प्रतिष्ठानप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक पाइँदैन । तर केही बर्षदेखि नेपालीहरुले विद्युत प्राधिकरणप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । कुलमान घिसिङले लोडसेडिङमुक्त नेपाल घोषणा गरेपछि विद्युत प्राधिकरणप्रति आमको धारणा सकारात्मक छँदैछ, यसले केही गर्ला भन्ने अपेक्षा राख्न सक्ने ठाउँमा प्राधिकरणलाई राखेको पाइन्छ ।
विद्युत प्राधिकरणको गोरखा कार्यालयले अहिले दुईवटा नीतिलाई तीब्र रुपमा अघि बढाएको देखिन्छ । विद्युत चुहावट रोक्ने र काठे पोल बिस्थापित गर्ने । यसमा केही देखिने काम पनि नभएका होइनन् तर लिगलिगकोटको गाउँमा जे देखियो, त्यसले विद्युत प्राधिकरणको अभियानलाई लाजमर्दो बनाएको छ ।
२८ घर दलित र एक घर ठकुरीको बसोबास भएको लिगलिग गाउँमा बाँसको घनोमा नाङ्गो तार टाँगिएको छ । होचो र कमजोर जीर्ण बनेको सो घनोमा जुनकुनै बेला जुनकुनै ठाउँमा दुर्घटना हुनसक्ने अबस्था छ । स्थानीयबासी तथा जनप्रतिनिधिले बाँसेपोल हटाएर फलामे पोल स्थापना गरिदिन पटकपटक गरेको अनुरोध, आग्रहलाई प्राधिकरणले सुनेको छैन ।
प्राधिकरणको काम सबैठाउँमा यस्तै हुन्छ भन्ने आशय त होइन, तर लिगलिग गाउँले प्राधिकरणको काममा जस दिने ठाउँ देखाएन । सो ठाउँमा बाँसे पोल विस्थापित गर्न फलामे पोल लगेर राखेको पनि दुइृ महिना भइसक्यो तर अहिलेसम्म पोल गाड्ने तार टाँग्ने काम भएको छैन । यसप्रति विद्युत प्राधिकरण ज्यादै सम्बेदनशील हुनुपर्छ ।
विद्युत तार लत्रिएर कतिपय ठाउँमा दुर्घटना भएका घटना छन् । त्यस्ता घटना हुनुअगावै प्राधिकरणले बाँसे पोल बिस्थापित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्