| बिहिबार, बैशाख ६, २०८१

गुण्डागर्दीमा रमाएका दीपक मनाङे कारागारमा ‘लाइफ कोच’

पक्राउ परेपछि दीपक मनाङेले भने, ‘मलाई वकिलले डुबाए, अदालत जानुपर्ने, यता (हिरासत)मा पो आउनुपर्‍यो’

काठमाडौँ: मनाङबाट प्रदेश सभा सदस्यमा चुनाव जिते पनि कैद भुक्तान बाँकी रहेको खबर सार्वजनिक भए लगत्तै फरार रहेका दीपक मनाङेलाई बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ।

स्वयम्भूको तीनधारामा लुकेर बसेको अवस्थामा मनाङेलाई पक्राउ गरिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

पहिलोपोस्टसित कुरा गर्दै मनाङेले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट नै आफू भारतको सिक्किम गएको बताए। उनले भने, ‘वकिलले  मलाई डुबाए। अदालत जानुपर्ने म, आज यसरी यहाँ आउनुपर्‍यो।’

मनाङेले आफू अदालती प्रक्रिया मिलाउन १३ दिन अगाडि काठमाडौं आएको बताए, ‘सिक्किमबाट १३ दिन अगाडि नेपाल आएको हुँ।’

उनले आफूले अात्मसमर्पण गर्न नचाहेकोसमेत स्पष्ट पारे।

फरार सूचीमा रहेका मनाङेका लागि प्रहरीले रेडकर्नर नोटिस जारी गरी खोजी गरिररहेको थियो। परिसरले मनाङे नेपाल आएको सूचना पाएर नुवाकोटमा जिल्लामा समेत प्रहरी पठाएको थियो।

२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा राजीव गुरुङ भनिने दीपक मनाङेसहित गणेश लामा, उमेश लामा, रेवत कार्की र रमेश सुनुवारलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। काठमाडौँ जिल्ला अदालतले ०६१ सालमा मनाङेलाई २ वर्ष जेल सजायको आदेश गरेको थियो। अन्य चार प्रतिवादीले जिल्ला अदालतबाट सफाइ पाएका थिए।

जिल्लाको फैसलामा चित्त नबुझाउँदै सरकारी वकिलले तत्कालीन पुनरावेदन अदालत पाटनमा सरकारका तर्फबाट पुनरावेदन गरेको थियो। पुनरावेदन अदालत पाटनबाट एकराज आचार्यसहितको इजलासले ०६९ सालमा जिल्ला अदालतको फैसला केही उल्टी गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने आदेश गरेको थियो। अन्य चार प्रतिवादीले भने सफाई पाएका थिए।

यसमा पनि चित्त नबुझाई सरकारले बाँकी चारलाई पनि सजाय हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। गएको माघ महिनामा सर्वोच्चले यो मुद्दामा फैसला गरेपछि मनाङेको पुरानो कैद भुक्तान बाँकी रहेको खुलेको थियो।

मनाङेले २ वर्ष ३ महिना कैद बसिसकेको हुनाले बाँकी कैद भुक्तान गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्