| शनिबार, कार्तिक १७, २०८१

मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै, ध्रुवे हात्ती

मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै, ध्रुवे हात्ती

चितवन– मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।  स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए । उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएराति ११ बजेको समयमा हात्तीले घर भत्काएको हो । धु्रवे हात्तीले भरतपुर महानगरपालिका– २३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको हो ।

अर्यालका अनुसार गएराति घर भत्काउन थालेपछि सुरक्षा निकायको सहयोगमा हात्ती धपाइएको थियो । धु्रवे हात्ती केही दिनयता कसरा र सुखीभार क्षेत्रमा पोथी हात्तीसँगै बस्दै आएको थियो ।

विगत केही वर्षयता नेपाल र भारतमा गरी १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती केही दिनअघि शुक्रनगर क्षेत्रमा पसेपछि निकुञ्जले लखेटेको थियो । दुई वर्षअघि निकै मातेर आतंक फैलाएको ध्रुवे यतिबेला पुनः मात्तिन थालेको हो ।

सोही क्षेत्रमा शनिबार बिहान स्थानीय ५२ वर्षीया देवी अधिकारीलाई बँदेलले आक्रमण गरेपछि उनी घाइते भएकी छन् । घाइते अधिकारीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्