| बिहिबार, मंसिर २०, २०८१

सुन

३३ किलो सुन तस्करको यस्तो छ बयान

काठमाडौं : साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना पूर्वसहकर्मीलाई मोरङको जंगलमा पुर्‍याएर यातना दिइरहेका थिए। उनलाई पिछा गर्दै मोरङको पोखरिया पुगेको प्रहरी टोलीले ‘रणनीतिक’ रूपमा फोनमा गरेको सम्झौताअनुसार गोरे मध्यरातमा मोरङको पोखरिया आउन तयार भएका थिए। सम्झौताअनुसार पर्खिरहेको प्रहरी टोलीका अगाडि आएर स्कर्पिओ गाडी रोकियो। तर, गोरे आएनन्, बरु गाडीमा उनका सहयोगी सनमको शव आयो। गोरेले करेन्टसहित दिएको यातना सहन नसकेर सनमको मृत्यु भइसकेको थियो। सो गाडीका चालक काभ्रेका टेकराज मल्ल मात्र होइन, उनको सहयोगमा पक्राउ परेका मोरङ उर्लाबारीका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेसँग प्रहरीले बयान लियो। सुन लुकाएको आरोपमा उनीहरू पनि सनमसँगै बन्धक बनाइएका थिए।

स्रोतबाट प्राप्त बयानको समग्र विवरणः गत ७ माघमा दुबईबाट आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो। यसरी सुन ल्याउने प्रक्रिया गोरेका लागि सामान्य थियो। अवैध सुन भरियामार्फत भारत पुर्‍याउने गरिन्थ्यो। त्यो दिन आएको साढे ३३ किलो सुन विमानस्थलबाट सहरसम्म ल्याउने जिम्मा थाई एयरवेजका कर्मचारी पुण्यप्रसाद लामा, लालबहादुर मगर र सानु बनको थियो। उनीहरूले मोटरसाइकलको तेल ट्यांकीमा राखेर पटक–पटक खेप गरेर अनामनगरस्थित एउटा घरमा पुर्‍याए। अब ट्यांकीबाट निकालेर सबै सुन झोलामा राखी किराना पसलजस्तो स्थानमा पर्खिएका भरियालाई दिनुपर्ने थियो। तर, पसलमा लग्न सानु बनले बोकेको सुन एकाएक गायब भयो। र, त्यहीँबाट सुरु भयो यत्रो सुनको महाभारत। सुन बुझ्नुपर्ने सनम शाक्य भने ठमेलतिर होटलमा मस्तीमा थिए। सुन आउँछ भनेको ठाउँमा नपुगेपछि गोरेले सनमलाई फोन गरेर कहाँ छस् भने। सनमले उर्लाबारीमा छु भनेर ढाँटे। तर, पछि कुरो बुझ्दा सनम काठमाडौंमै भएको खुल्यो। त्यसपछि सनम गोरेको शंकामा परे। तर, सनमले भने सानु बनलाई शंका गरे। यता, गोरेले सानुलाई सिन्धुलीको खनियाखर्कमा ल्याएर सुन कसले लग्यो भन्दै केरकार गरे। भुजुङ गुरुङले सुन गायब बनाएको जवाफ सानुले गोरेलाई दिए। गोरे बुझ्न लागे। तर, भुजङले गायब पारेको पुष्टि भएन। अन्ततः सानुले नै गायब पारेको निष्कर्षमा गोरे पुगे। नयाँ पत्रिका  |

प्रतिक्रिया दिनुहोस्