| शनिबार, बैशाख ८, २०८१

सिन्डिकेट

पक्राउ परेका सिण्डिकेट पक्षधर व्यवसायीलाई कानुन अनुसार छ महिना कैद

दरौँदी ः सिण्डिकेट पक्षधर यातायात व्यवसायीले आफ्नो गाडीहरु थन्क्याएर राखेपछि सरकारले धमाधम ब्यवसायीहरुलाई पक्राउ गरेको छ ।

शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहालगायतका धेरै व्यवसायीहरु विभिन्न जिल्लामा पक्राउ परेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले प्रमुख जिल्ला अधिकारीहरुलाई  दिएपछि धमाधम पक्राउ पर्न थालेका हुन् ।
सरकारले यातायात क्षेत्रलाई आवश्यक सेवामा राखी हड्ताल निषेध गरेकाले यातायात नचलाउने ब्यवसायीहरुलाई पक्राउ गरेको हो ।

आवश्यक सेवा ऐन २०१४ अनुसार नेपालमा यातायात क्षेत्रमा हड्ताल गर्न पाइदैन । उक्त ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ ‘सार्वजनिक हितको लागि आवश्यक एवं उचित लागेमा सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएको कुनै आवश्यक सेवामा हड्ताल निषेध गर्न सक्नेछ ।’

यस अनुसार सरकारले यातायात क्षेत्रमा हड्ताल निषेध गरी सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ ।

यसरी निषेध गरेको क्षेत्रमा हड्ताल गर्नेलाई ६ महिना कैद वा २ सय रुपैयाँसम्म जरिवाना वा दुबै सजायको व्यवस्था छ ।

शुक्रबार पक्राउ परेका यातायात व्यवसायीलाई सरकारले आवश्यक सेवा ऐन अनुसार कारबाही गर्ने बताएको छ । यदि सरकारले यसै ऐन अनुसार कारबाही गरेमा उनीहरुलाई ६ महिना कैद वा २ सय रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्नेछ । यद्यपी सरकारले आवश्यक सेवा ऐनअनुसार मुद्दा चलाउने वा नचलाउने हेर्न बाँकी नै छ ।

हड्ताल गर्न कसैलाई उक्साएमा १ वर्ष कैद र १००० हजार रुपैयासम्म जरिवाना हुनसक्नेछ । हड्तालका लागि चन्दा वा नगद सहायता दिनेलाई पनि १ वर्ष कैद र १ हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनमा गरिएको छ

प्रतिक्रिया दिनुहोस्