
सुन काण्डका अधिकांश अभियुक्तले बयान फेरे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन्।
मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तहरूले बयान फेरेका हुन्। पाँच दिन लगाएर जिल्ला अदालत मोरङको ६ नम्बर इजालसमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा अभियुक्तले बयान दिएका थिए। बयान फेर्नेमा प्रहरी जवानदेखि, एरलाइन्सका कर्मचारी, व्यापारी, तस्करीमा संलग्न गिरोहसमेत रहेका छन्। अदालतमा आठ प्रहरीसहित अधिकांश अभियुक्तले यसअघि छानबिन समितिलाई दिएको भन्दा फरक बयान दिएको सरकारी वकिलको कार्यालय मोरङ जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए।
फागुन १९ मा शाक्यको शवसहित पक्राउ परेका टेकराज मल्ल ठकुरीले समेत बयान फेरेका छन्। प्रहरी समक्ष उनले दिएको बयानको आधारमा थुप्रै प्रमाण र अन्य अभियुक्त पक्राउ पर्न सफल भए पनि उनले अदालतमा बयान फेरेका हुन्। उनले अदालत समक्ष दिएको बयानमा भनेका थिए, ‘यातना दिने क्रममा सनमको मृत्यु भएको हो। दुवईबाट पटक पटक विमानस्थल हुँदै सुन ल्याएको हो। तर सुन कसले कहाँ लान्थ्यो, त्यो मलाई थाहा छैन।’ उनले अदालत समक्ष बयानमा एयरलाइन्सका कुनै कर्मचारी नचिन्नेसमेत बताएका छन्। प्रहरी जवान विष्णुबहादुर खड्काले समेत बयान फेरेका छन्। प्रहरी र अनुसन्धान गर्ने टिमलाई दिएको बयानमा खड्काले सुरक्षा अधिकृतले सुन चोरी पैठारीबाट लिएको आर्थिक रकमदेखि विमानस्थलबाट आएको सुन कहाँसम्म पुग्छ भन्नेबारेमा बताएका थिए। तर अदालत समक्ष उनले दिएको बयानमा यसबारे आफूलाई कुनै जानकारी नभएको र आफूले ‘अफिस’को ‘ड्युटी’ मात्र पूरा गर्ने गरेको उल्लेख गरेका छन्।