
जारको पानीमा दिसाको जीवाणु
राजधानीवासीले उपभोग गर्ने खानेपानीका सबै स्रोत दूषित भेटिएका छन्। धारा र इनारको मात्र होइन, ट्यांकर, जार र बोतलको पानीमा पनि दिसामा पाइने जीवाणु भेटिएका छन्। सर्वसाधरणले पिउने जारको पानी सबैभन्दा बढी प्रदूषित रहेको एक अध्ययनले देखाएको छ।
खाजाघर, पानीपुरी पसलमा पिउनका लागि ग्राहकलाई दिइने जारको पानीमा दिसामा हुने हानिकारक जीवाणु इ. कोली र कोलिफर्म भेटिएको हो। वातावरण तथा जनस्वास्थ्य संगठन (इन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन)ले चालु आर्थिक वर्षमा गरेको अध्ययनले पानीमा हानिकारक जीवाणु फेला पारेको हो।
मनसुन सिजनमा संकलन गरिएको पानीको नमुनामध्ये जार र ट्यांकर, ढुंगेधारा र इनराको पानीमा सबैभन्दा बढी दूषित पाइएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार जार, ट्यांकर, ढुंगेधारा र इनारको पानीको शतप्रतिशत नमुनामा इ. कोली र कोलिफर्म पाइएको थियो।