| बुधबार, अशोज १७, २०८०

मृत्यु

बिद्यालयमा फेल भएपछि बालिकाले गरिन् आत्महत्या

दाङमा एक १४ वर्षीया बालिकाले परीक्षामा फेल भएपछि आत्महत्या गरेकी छन्।

राप्ती गाउँपालिका वडा नं. २ बराहाखुटीको आदर्श नमुना मावि लालमटियामा कक्षा ८ मा अध्यनरत १४ वर्षीया शकुन्तला केसीले आत्महत्या गरेकी हुन्। राप्ती गाउँपालिका वडा नं. २ लालमटिया निवासी केसीले वैशाख २ गते नतिजा सार्वजनिक भएकै दिन आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

विद्यालयका प्राचार्य बाबुराम ज्ञवालीले पनि छात्राले आत्महत्या गरेको सेतोपाटीलाई बताए।

यथार्थमा केसी उत्तिर्ण नै थिइन्। तर, विद्यालय प्रशासनले पछिल्लो तीन महिनाको मासिक शुल्क १ सय ७५ का दरले ५ सय २५ रूपैंया नबुझाएको भन्दै केसीको नतिजा रोकेको थियो।

केसीले अन्तिम तीन महिनाको मासिक शुल्क ५ सय २५ विद्यालयमा बुझाएकी थिइन्। तर, लेखा शाखामा काम गर्ने शिक्षकले समयमै केसीले बुझाएको मासिक शुल्क चढाउन भुलेपछि उनको नतिजा विद्यालय प्रशासनले रोकिदिएको थियो।

मासिक शुल्क बुझाए पनि परीक्षाफल रोकिएको हुँदा १४ वर्षीया छात्रा सकुन्तला केसीले परीक्षाफल  प्रकाशित भएकै दिन आत्महत्या गरेकी प्रहरीले जनाएको छ।

‘दिउँसो परीक्षाफल प्रकाशित भयो र साँझ उनले घरमै पासो लगाएर आत्महत्या गरिछन्, तर त्यो नियतवस भएको होइन, काम गर्ने क्रममा भएको त्रुटि मात्रै हो,’ प्राचार्य ज्ञवालीले  भने।

लेखापाल विद्यालयकै काम विषेशले उक्त समयमा काठमाडौं गएकाले केसीले तिरेको मासिक शुल्क चढाउन भुलेको प्राचार्य ज्ञवालीले दाबी गरे।  ‘गल्तिबस पछिल्लो तीन महिनाको शुल्क बुझाएको भए पनि त्यो समयमै चढाउन बाँकी रहेछ,’,प्राचार्य ज्ञवालीले थपे, ‘त्यही भएर विद्यालय प्रशासलने शुल्क क्लियर नभएको हुँदा नतिजा रोकिएको छ, भन्ने लेखेको थियो। तर त्यही सहन गर्न नसकेर छात्रा केसीले आत्महत्या गरिन्।’

ती छात्राले मैले शुल्क बुझाएकी हुँ भनेको भए पनि तल्कालै नतिजा हेरफेर हुनसक्ने अवस्था थियो तर, उनले आत्महत्या नै गर्दा समस्या उत्पन्न भएको प्राचार्य ज्ञवालीले बताए।

प्रतिक्रिया दिनुहोस्