विप्लवद्वारा करीब सयवटा निजी विद्यालयमा तालाबन्दी
नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले कैलालीका दर्जनौं संस्थागत (निजी) विद्यालयमा बिहीबार तालाबन्दी गरेको छ ।
विभिन्न माग राख्दै नेकपाले जिल्लाभरका करीब १ सय विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । नेकपाका जिल्ला उपाध्यक्ष बबरजंग सिंहले धनगढीस्थित एक्सिस विद्या आश्रम, मोडर्न एरा, स्टेपिङ स्टोन, ग्यालेक्सीलगायत १५ विद्यालयमा तालाबन्दी गरेको जानकारी दिए । त्यस्तै अतरियाका १०, गौरीगंगा नागरपालिकास्थित ५ विद्यालयमा तालाबन्दी गरिएको छ ।
अन्य स्थानीय तहमा रहेका विद्यालयहरूमा पनि तालाबन्दी भएको छ ।
वृद्धि गरिएको शुल्क खारेज गर्नुपर्ने, मापदण्डविपरीतका विद्यालय बन्द हुनुपर्ने लगायतका मागहरू पूरा नभएसम्म ताला नखोलिने चेतावनी उपाध्यक्ष सिंहले दिए ।