| शनिबार, बैशाख ८, २०८१

चितवन निकुञ्जभित्र कुटपिट गर्ने सैनिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

चितवन राष्ट्रिय निकुञ्जभित्र घोंगी खोज्न गएका व्यक्तिहरुमाथि कुटपिटको अभियोग लागेका नेपाली सेनाका जवानलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। 

नेपाली सेनाका जवानले निर्घात कुटपिट गरेको अभियोगमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले मंगलबार सैनिक जवान चिरणकुमार बुढालाई चितवन जिल्ला अदालतमा पेश गरेको थियो।

अदालतले बुढालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले चेपाङको मृत्युका विषयमा प्रमाणहरु बुझ्दै जाँदा सबै पुष्टि भइनसकेका कारण तत्कालका लागि थुनामा राखेर हेर्नुपर्ने भएकाले यस्तो आदेश दिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी शिवप्रसाद अधिकारीले जानकारी दिए।
 
गत साउन १ गते राप्ती–२ का घोंगी खोज्नका लागि निकुञ्ज भित्र पुगेका राजकुमार चेपाङसहितका ५ जनालाई सैनिकले निर्घात कुटपिट गरेका थिए। उक्त घटना भएको ८ दिनपछि चेपाङको मृत्यु भएको थियो।

साउन ११ गते पीडितका बुबा विष्णुलाल चेपाङले आफ्नो छोराको सेनाको कुटाइबाटै मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेर जिल्ला प्रहरीमा उजुरी दिएका थिए।

पछि पीडितको परिवारकातर्फबाट निकुञ्ज सुरक्षार्थ खटिएका सैनिक जवान चिरणकुमार बुढाको कुटाईबाट राजकुमारको मृत्यु भएको भन्दै कारबाहीका लागि किटानी जाहेरीसमेत  दर्ता भएको थियो। सोही जाहेरीको आधारमा प्रहरीले बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

राजकुमार चेपाङको पोष्टमार्टमको भिसेरा रिपोर्टमा कुटाईका कारण मृत्यु भएको स्पष्ट उल्लेख नभएपनि यसबारे केही संकेत भने थियो। घटनाका घाइतेहरुको मेडिकल रिपोर्टमा भने कुटाईको निलडाम देखिएको थियो। 

राजकुमार तामाङलगायतका व्यक्तिहरुलाई निकुञ्जभित्र सेनाले कुटपिट गरेको खबर सार्वजनिक भएपछि विभिन्न मानवअधिकारबादी संस्थाहरुले समेत यस विषयमा अनुसन्धान गरी कारबाहीका लागि प्रशासनलाई दबाब दिँदै आएका थिए।

भदौ १६ गते मृतकका परिवारसँग चितवन राष्ट्रिय निकुञ्जले राहत उपलब्ध गराउने सहमति गरे पनि अझै पुरै राहत पाएका छैनन्। निकुञ्जले ७ लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेकोमा एक लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ। राप्ती नगरपालिकाले भने सहमतिअनुरुप ३ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस्