| शनिबार, कार्तिक ८, २०७७

नेपालमा तीन जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा बिहीबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवलको कोरोना विशेष अस्पताल र भैरहवास्थित भीम अस्पतालमा एक-एक जनाको मृत्यु भएको छ। त्यस्तै, एक जनाको भने बुटवलमा आइसियु बेड नपाएपछि दाङ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

भीम अस्पताल भैरहवामा मृत्यु हुनेमा कञ्चन गाउँपालिकाका ५५ वर्षीय पुरुष रहेका छन्। उनको बिहीबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए।

उनमा श्वासप्रश्वास, मुटु, मिर्गौला तथा उच्च रक्तचापको समस्या थियो। उनलाई असोज २७ गते कोरोना पुष्टि भएको थियो।

यसैगरी, लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ की ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो। डा. गौतमले मृतक महिलामा  कोरोनाबाहेक अन्य दीर्घ रोग भने नदेखिएको बताए।

यसैगरी रुपन्देहीका कोरोना अस्पतालका आइसियू बेड भरिएपछि दाङको बेलझुण्डी लैजाँदै गर्दा एक संक्रमितको बाटैमा मृत्यु भएको छ।

असोज २७ गते कोरोना संक्रमण पुष्टि भएका अर्घाखांची भुमिकास्थान ९ का ७३ वर्षीय पुरुषको आईसीयू बेडका लागि दाङ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्