| सोमवार, माघ १२, २०७७

पिकअप भ्यान दुर्घटनामा दुई जनाको शव भेटियो, एक जनाको खोजी जारी

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।

प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया जमुना रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसीको शव फेला परेको हो । उनीहरुको शव पिकअप भ्यानभित्रै भेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

१५ वर्षीया जिनिसा रोक्काको खोजी जारी छ । जिनिसा बिरामी थिइन् । उनलाई उपचार गर्न भनेर काठमाडौं जाँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशुलीमा नदीमा खसेको थियो ।

पिकअप भ्यानमा रहेका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का भने पौडिएर बाहिर निस्किएका थिए । उनी घाइते छन् । उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

मुकुन्द राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् । उनी खतरामुक्त छन् । बेपत्ता भएकी जिनिसा मुकुन्दकी छोरी र मृत फेला परेकी जमुना श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस्