
दुर्घटना न्युनिकरण गर्न ठुलो आँगनमा कन्भेक्स मिरर राखियो
चैत्र, १५ गोरखा ः सडक दुर्घटना न्यूनिकरण गर्न गोरखा नगरपालिकाको विभिन्न ठाउँमा कन्भेक्स मिरर राखिएको छ । गोरखा उद्योग वाणिज्य संघ गोरखाको सहयोगमा ठुलो आँगन चोकमा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा नगरप्रमुख राजनराज पन्तले मिरर राखेको जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाराम पौडेलले जानकारी दिए ।
नगर क्षेत्रको सडकमा सवारी दुर्घटना कमी गराउन मिरर प्रदान गरिएको उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष जीवन ज्योती श्रेष्ठले बताए ।
‘गोरखामा हुनेगरे सडक दुर्घटनाबाट पाठ सिक्दै भविष्यमा हुनसक्ने दुर्घटना न्युनिकरण गर्नका निम्ति मिरर राख्न सहयोग गरेका हौँ’ उनले भने ‘हामीले दुर्घटना कम गर्नका लागि सुरुवात मात्र गरेका हौँ । यदि यस कामले सकारात्मक प्रभाव पारेमा यस्तै नयाँ योजना थप गर्ने छौँ ।’ कन्भेक्स मिरर संघले स्थापना गरेपनि त्यसको संरक्षण स्थानीयहरुले गर्नुपर्ने श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको मिरर उद्घाटन कार्यक्रममा नगरप्रमुख पन्त, प्रहरी उपरिक्षक भेषराज रिजाल, ट्राफिक प्रहरी प्रमुख दयाराम पौडेल, वडा अध्यक्ष नारायण अर्याल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
मिरर राखेर सम्भावित दुर्घटना न्युनिकरणमा सहयोग पु¥याउने भन्दै नगरप्रमुख पन्तले उद्योग वाणिज्य संघप्रती आभार प्रकट गरे । ‘यसरी नै निजी क्षेत्रबाट सहयोग हुँदै जाने हो भने नगर विकासमा टेवा पुग्छ’ पन्तले भने ‘यो कामले सडक दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्छ यस्ता सकारात्मक काम गर्ने प्रती नगरपालिकाको तर्फबाट सधैँ साथ र सहयोग रहने छ ।’ त्यस्तै होटल बृन्द्धावन नजिकैको ठुलो घुम्तीमा भने शुक्रबार (आज) मिरर राखिने पौडेलले जानकारी दिए ।