
साउदी जेलमा रहेका गोरखाका रानालाई फर्काउन ‘ब्लडमनी डोनेसन’ अभियान सुरु
काठमाडौं : विगत सात महिनादेखि साउदीमा जेलजीवन बिताइरहेका गोरखा बोर्लाङका कुमार रानाको जीवन रक्षाका लागि ‘ब्लडमनी डोनेसन’ अभियान, २०१८ सुरु गरिएको छ। पीडितको तर्फबाट राना मगरको जीवन रक्षाका लागि ब्लडमनी संकलन अभियानले पत्रकार सम्मेलन गरेर शुक्रबारबाटै अभियान सुरु गरेको जानकारी दिइएको हो।
कुमार रानाकी श्रीमती अम्बिका रानामगरले साउदीमा जेलजीवन बिताइरहेका आफ्ना श्रीमान रानाको उद्धारमा साथ दिन आग्रह गरेकी छन्। अम्बिकाले भनिन्, ‘मेरा श्रीमान विगत छ वर्षदेखि वैदेशिक रोजगारीमा जानुभएको थियो। गत असोज १० गतेदेखि साउदीको जेलमा जीवन बिताइरहनुभएको छ।’ अम्बिकाले थपिन्, ‘नेपालीको बाध्यतामाथि विडम्बना आइलाग्दोरहेछ, गास, बास र कपासको बन्दोबस्त गर्ने उद्देश्यले विदेश जानुभएका श्रीमानको पाँच महिना बितिसक्दा पनि कतैबाट उद्धारको पहल भएन।’ अम्बिकाले आफ्ना श्रीमान द गोरखाज नामक म्यानपावरबाट साउदी गएको बताइन्।
अम्बिकाले भनिन्, ‘२०७३ चैत १२ गते उहाँले रोकिराख्नुभएको गाडीमा पछाडिबाट आएको गाडीले ठक्कर दियो र त्यही केशमा उहाँलाई विभिन्न कागजमा सही गर्न लगाएर फसाइएको छ।’ कम्पनीका मालिकले घाइते साउदी नागरिकसँगको मिलापत्र कागजको नाममा हस्ताक्षर गर्न लगाएर कुमार रानालाई फसाइएको पीडित परिवारको दाबी छ। पीडित परिवारले नक्कली कागज बनाएर आफ्नो मान्छेलाई फसाइएको भन्दै जेलजीवन बिताइरहेका कुमार रानालाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ। रानाकी श्रीमती, दुई छोरी र एक छोरा छन्। उनलाई उद्धार गर्नका लागि नेपाली करिव ८३ लाख रुपैयाँ लाग्ने बताइएको छ। परिवारले आफूनो आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले सहयोगको याचनासमेत गरेको छ। वैदेशिक रोजगारमा गएर अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धारमा क्रियाशील कलाकारद्वय रूपा लामा र नवीन खड्काको सम्पर्कमा पत्रकार समक्ष आएकी कुमार रानाकी श्रीमती अम्बिकाले आफ्नो श्रीमानलाई सकुशल स्वदेश फर्काउनका लागि साथ र सहयोग मागिरहेकी छन्।
कुमार राना रक्षार्थ संचालन गरिएको अभियानका संयोजक कृष्णप्रसाद ढकालले सबै नेपालीलाई सक्दो सहयोग गर्नका लागि आग्रह गरेका छन्। ढकालले भने, ‘रानाको उद्धारका लागि मनकारी नेपालीले साथ दिनुहोस्, सानो सहयोगले कुमारलाई नेपालमा फर्काउन सक्छौँ।’ रानाको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेले प्रभु बैंक कलंकी शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३९०१००१००६५६९०००००१ मा पनि सक्दो सहयोग गर्नका लागि अभियानले आग्रह गरेको छ।