| बिहिबार, मंसिर २०, २०८१

नौकिलोघाटबाट बालुवा चोरी , नगर प्रमुख र जिससको कुरो बाझियो

दरौँदी ः गोरखा नगरपालिका १२ नौ किलोघाटमा बालुवा चोरी भइरहेको छ । ठेक्का नलागेको सो बगरको पानीको प्रबाहबाट दैनिक दुईवटा जेसिबीले बालुवा झिकेर निकासी गरिरहेको हो ।
एक स्थानीयका अनुसार यहाँबाट बालुवा चोरी निकासी भइरहेको दुईहप्ता भन्दा धेरै समय भएको छ । नदीजन्य सामग्री उत्खनन, संकलन तथा ओसारपसारको अनुमति दिने तथा नियमन गर्ने जिल्ला समन्वय समिति मौन हुँदा नदी दोहन बढिरहेको देउराली क्षेत्रका बासिन्दाले बताए ।
जिल्ला समन्वय समितिले भने नगरपालिकाको सिफारिसमा आफूले योजनाका लागि अनुमति दिएको जनाएको छ । ‘सतिपिपलको सडक कालोपत्रे गर्नका लागि नगरपालिकाको सिफारिसमा हामीले आरएआर कम्पनीलाई बालुवा झिक्न अनुमति दिएका हौं’ जिससका राजस्व शाखाका रामप्रसाद पोखरेलले भने ।
तर गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने बालुवा झिक्न कसैलाई पनि अनुमति नदिएको बताएका छन् । ‘हामीले कसैलाई अनुमति दिएका छैनौं । कसले किन झिकिरहेको छ भन्ने बारे मैले पनि बुझ्दैछु’ पन्तले भने ‘त्यहाँ मात्र होइन, जहाँतहीं बालुवा चोरी निकासी बढिरहेको गुनासो आएको छ । जिल्ला समन्वय समितिले कडाइ गर्नुपर्छ ।’ यसबर्ष नदीजन्य समग्री उत्खनन, संकलनको अनुमति दिने अधिकार स्थानीय तहलाई नआएकाले जिससले नै नियमन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्