| बिहिबार, मंसिर २१, २०८०

तस्बिर गुगल 

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा डोजर जल्यो

गोरखा ः मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा काम गरिरहेको एक डोजर अज्ञात समूहले जलाएका छन् । घ्याम्पेशाल–निबेलको बनियाँगाउँ खण्डमा काम गरिरहेको बा २ क २३५८ नंबरको २०५ जेसिबी एक्साभेटरमा गएराती १२ बजेतिर अगलागी भएको साइट इन्चार्ज छबिलाल थापाले जानकारी दिए ।
राती १२ बजे डोजरमा आगो सल्किरहेको देखेपछि स्थानीयले आफूलाई खबर गरेको उनले बताए । सो डोजर जलेर पूर्ण क्षति भएको थापाले दाबी गरेका छन् ।
घटना बारे छानबीन भइरहेको गोरखाका प्रहरी प्रमुख एसपी प्रकास अधिकारीले जानकारी दिए । कसले किन जलायो भन्ने बारे खोजी भइरहेको उनले बताए ।
साइट इन्चार्ज थापाका अनुसार पेटी ठेकेदार कैलालीका सूर्य खड्काले कामदारलाई पैसा नदिई भागेपछि मजदुर र मुख्य ठेकेदार बीच भनाभन भएको थियो । घ्याम्पेशाल–निबेलको सो प्याकेजको काम एमपी–एससीएफ–पीसीसी जेभी कम्पनीले गरेको थियो । ‘मुख्य ठेकेदारसंग भुक्तानी लिएर पेटी ठेकेदार सूर्य खड्का भागे’ विवादको पृष्ठभूमि बारे थापाले भने ‘दुई महिनाअघि यही बिषयमा कामदार र ठेकेदार बीच चर्काचर्की भएको थियो । त्यही बिषयमा अर्धभूमिगत माओवादीका चट्टानसंग पनि चर्काचर्की भएको थियो । फेरि दुई हप्तााअघि सोही पार्टीका इन्चार्ज योगन्द्र कुमालले फोन गरेर भुक्तानी नदिए जे पनि हुनसक्छ भनेर चेतावनी दिनुभएको थियो ।’ तर यो घटना कसैले पनि जिम्मा नलिएको उनले बताए ।
एकघण्टा लामो मिहिनेतपछि स्थानीयबासीले पानी र ढुङ्गामाटो हालेर साँढे एकबजेतिर आगो निभाएको वडाअध्यक्ष बद्री श्रेष्ठले जानकारी दिए । तस्बिर गुगल

प्रतिक्रिया दिनुहोस्