समाचार प्रभाव ः गोरखामा पेट्रोल कालोबजारी गर्ने दुई पक्राउ
दरौँदी ः गोरखा सदरमुकाममा पेट्रोलको कालोबजारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दरौँदी दैनिकमा सदरमुकाममै पेट्रोलको कालोबजारी हुने गरेको समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालयले कारबाहीको लागि उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीको टोलीले गोरखा नगरपालिका ६ स्थित आयुर्वेदिक चोकबाट अस्मिता पोखरेल र गोनपा, १० स्थित १२ किलोबाट बिकास सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले जानकारी दिए । पम्पमा प्रतिलिटर एकसय पाँच रुपैँयामा पाइने पेट्रोल उक्त होटलमा एकसय ३५ रुपैँयामा विक्रि गरेको पाइएको प्रहरीले जनाएको छ । त्यस्तै सुनारले १२ किलोमा एकसय १५ रुपैँयामा विक्रि गर्नेगरेको तथ्य खुलेको छ । पोखरेललाई एकसय १२ दशमलब पाँच लिटर पेट्रोल सहित पक्राउ गरिएको हो । ताप्ले घर भई हाल गोरखाको आयुर्वेदिक चोक अगाडि स्टाफ होटल खोलेर बस्ने गरेकी पोखरेल र चितवन घर भई हाल १२ किलोमा जिसस मोवाइल सर्भिस सेन्टर खोलेर बसेका सुनारलाई पेट्रोल कालो बजारी गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सई रोशन थापाले जानकारी दिए । उनीहरुलाई कालोबजार ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।
पोख्रेललाई पक्राउ गरेसँगै पेट्रोलको कालो बजारी गर्ने अरु पनि रहेको आशंकाले जिल्लाका बिभिन्न ठाउँमा निगरानि सुरु गरे सँगै १२ किलोमा रहेको मोवाइल मर्मत सेन्टरबाट २४ लिटर पेट्रोल सहित सुनारलाई पक्राउ गरेको थापाले बताए ।
पोखरेललाई भने बिहीबार नै कालोबजारी ऐन अन्तरगत मुद्धा दर्ता गरी १० दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।