| आइतवार, कार्तिक १८, २०८१

अमेरिकी कम्पनीले नेपाल सरकारलाई भन्यो सोलारबाट छ सय मेगावाट विद्युत निकाल्छौँ

काठमाडौं २ वैशाख– एक अमेरिकी कम्पनीले नेपालमा सोलार पावरबाट ६ सय मेगावाट विद्युत उत्पादन गर्न सरकारसँग प्रस्ताव गरेको छ । तीनदेखि चार वर्षमा ६ सय मेगावाट विद्युत उत्पादन गर्नेगरी १ बिलियन युएस डलर नेपालमा लगानी गर्न सो कम्पनीले प्रस्ताव गरेको छ ।

नेपालमै सोलार प्यानल बनाएर ६ सय मेगावाट विद्युत उत्पादन गर्न प्रस्ताव गरेको उर्जामन्त्री बर्षमान पुनले जानकारी दिए । आइतवार सिंहदरवारस्थित उर्जा मन्त्रालयमा अनलाइन मिडियाका सम्पादकहरुसँगको कुराकानीमा मन्त्री पुनले सरकारले नीति बनाएर सो कम्पनीसंग सम्झौत गर्न लागेको जानकारी गराएका हुन् ।

भारतको गुजरातमा २ सय मेगावाट विद्युत उत्पादन गरिसकेको अमेरिकन कम्पनी स्काइ पावर ग्लोवलले नेपालमा सोलारबाट विद्युत उत्पादनमा ठूलो लगानी गर्न लागेको हो । सरकारसंग औपचारिक सम्झौताका लागि सो कम्पनीका प्रमुख ३० अप्रिलमा नेपाल आउँदै छन् ।

‘१६ हजार नेपालीलाई रोजगारी दिनेगरी स्काइ पावरले प्रस्ताव गरेको छ’ मन्त्री पुनले भने, ‘भरपर्दो कम्पनी भएकोले उसँग सम्झौता गर्दैछौ ।’ सोलारबाट विद्युत उत्पादनका लागि भन्दै कयौ कम्पनीका प्रतिनिधि आउने गरेको भएपनि स्काइ पावरले अन्य देशमा विद्युत उत्पादन गरेका कारण उसलाई अनुमति दिने तयारी गरेको मन्त्री पुनले बताए ।

सोलारबाट उत्पादन हुने विद्युतका लागि प्रतियुनिट कति रुपैया दिने भन्ने बिषयमा भने सहमति भइनसकेको उर्जा मन्त्रालय स्रोतले जनायो । ‘सोलारबाट विद्युत उत्पादनका लागि सबभन्दा ठूलो समस्या प्यानल राख्ने जग्गा कहाँ दिने भन्ने रहेछ’ मन्त्री पुनले भने, ‘सिक्टा सिचाई आयोजनाको नहरको दायाँ वायाँ, सुनकोशी नदीको किनारा लगायत क्षेत्र उपयुक्त हुनसक्छ ।’

सोलार प्रविधि सस्तो हुँदै गएकोले कुल विद्युतको ५ प्रतिशत सोलार उर्जा जडान गर्ने नीति रहेको मन्त्री पुनले बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो कार्यकालमा हावाबाट विजुली उत्पादन गर्ने योजना बनाउनु भएको थियो, त्यो योजना कहाँ पुग्यो ?’ भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री पुनले कुनै जवाफ दिएनन् ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको लगानी रहनेगरी जलविद्युत आयोजना बनाउने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्