
१० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन, बंगलादेश र चीनसँग पिटिए तयारी
३ वैशाख– ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी मन्त्रालयले योजना बनाइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री पुनले १० वर्षमा १० हजार मेगावाट विद्युत् आफैं उत्पादन गर्ने गरी काम भइरहेको बताए।
‘दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि पनि हामीले १० वर्षमा यो काम गर्नै पर्छ,’ मन्त्री पुनले भने, ‘२०७२ सालमा सरकारले जारी गरेको ९९ बुँदे ऊर्जानीति कार्यान्वयनमा लैजाँदैछौं । उत्पादित विद्युत् १० वर्षमा आफैंमा खपत हुने उनको भनाइ थियो।१० थरी काममा हात हाल्नेभन्दा एउटै कामलाई निष्कर्षमा पुर्याउने सोचमा आफू रहेको मन्त्री पुनले बताए।
देशमा उत्पादिन विद्युत् निर्यातको वातावरण बनाउने उनको भनाइ छ । नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता ९पिटिए० यसअघि नै भइसकेकाले त्यसलाई परिमार्जन गरेर अनुकूल बनाउने तयारीमा मन्त्रालय रहेको बताए । ‘परिमार्जनको तयारी भइरहेको छ,’ उनले भने, ‘यसको थालनी गरिसकेको छु।’उनले बंगलादेश र चीनसँग पनि पिटिएको तयारी भइरहेको बताए । उनले भने, ‘चीनसँग कुरा भइरहेको छ । बंगलादेशसँग यस विषयमा अन्तिममा पुगेका छौं।’
‘नेपालको पानी जनताको लगानी’ नारालाई व्यवहारमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । जलविद्युत् आयोजनामा सबै नेपालीले लगानी गर्ने वातावरण बनाउन मन्त्रालयले काम गरिरहेको पुनको भनाइ छ ।
‘केही ठूला आयोजना बनाएर सबै नेपालीले जलविद्युत् आयोजनामा लगानी गर्ने वातावरण बनाउँदैछौं,’ उनले भने, ‘जुन आयोजनाले राष्ट्रिय एकताको सन्देश दिइयोस् ।’ बजेट र नीति तथा कार्यक्रममा सरकारले यो कुरालाई सम्बोधन गर्ने बताए।हचुवाको भरमा जनताले विद्युत् आयोजनामा लगानी गर्दा ठूला लगानीकर्ता फाइदामा जाने तर साना डुब्ने खतरा रहेको भन्दै यसतर्फ सरकार सचेत रहेको पुनले बताए।मन्त्रालयले पावर बैंकिङको तयारी गरिरहेको उनले बताए।
’हामी पावर बैंकिङको तयारीमा छौं,’ उनले भने, ‘नेपाल र भारतबीचको सचिवस्तरीय बैठकमा यसबारे कुरा गर्दैछौं ।’ नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक भोलिदेखि सुरु हुँदैछ । पावर बैंकिङ अवधारणामा भारत सकारात्मक रहेको उनले बताए । यो अवधारणा अनुसर काम भए बिजुली खेर नजाने उनको विश्वास छ ।
लाइसेन्सको विधि अवैज्ञानिक
मन्त्री पुनले जलविद्युत् आयोजनाको लाइसेन्स वितरण विधि अवैज्ञानिक रहेको बताए । ‘लाइसेन्स एक ठाउँबाट स्वीकृति लिने तर आवश्यकता अर्को ठाउँमा रहने अवस्था छ,’ उनले भने, ‘प्राथमिकताका आधारमा लाइसेन्स दिने नीति ल्याउँदैछौं ।’आयोजनामा लगानी गर्न नसक्नेहरुको लाइसेन्स खारेज हुने उनले बताए । लाइसेन्स ओगट्ने र बिक्री गर्दै दलाली गर्नेको लाइसेन्स खारेज गर्ने उनले चेतावनी दिए ।
घरघरमा विद्युतीय चुल्हो
मन्त्री पुनले सरकारले घरघरमा विद्युत् चुल्हो राख्नेगरी काम गरिरहेको बताए। विद्युत् आयातलाई प्रतिस्थापन गर्दै जाने योजनाअनुसार काम गरिरहेको भन्दै उनले ग्याँस र पेट्रोलियमलाई पनि बिजुलीले प्रतिस्थापन गर्ने योजना सुनाए।
विद्युतीय गाडीको योजनामा मन्त्रालय रहेको उनको भनाइ छ । पहाडी क्षेत्रमा वैकल्पिक ऊर्जामा जोड दिने पुनले बताए। विभिन्न स्थानमा सामुदायिक उत्पादन क्षेत्र बनाउने, साना उद्योग र सिँचाइको व्यवस्था गरेर काम गरिने पुनले बताए । तराईमा ग्रिड कनेक्सन र सोलार ऊर्जासमेत प्रयोग गर्ने लक्ष्य रहेको पुनको भनाइ छ।
‘सोलार ऊर्जाका क्षेत्रमा काम गर्न केही कम्पनी आइरहेका छन्,’ पुनले भने, ‘छलफलमा छौं रोजगारी सिर्जना हुने गरी काम अघि बढ्ने छ।’सातै प्रदेशलाई आधार मानेर ड्यामयुक्त र ड्यामविहीन आयोजना बनाउने तयारी रहेको उनले बताए । ड्यामविहीन आयोजना निजी क्षेत्रलाई र ड्यामयुक्त आयोजना सरकारले बनाउने पुनको भनाइ छ । विद्युत्लाई सिँचाइसँग पनि जोडिने उनले बताए।
नागरिक दैनिकबाट