बंगलादेश जान प्लेन चढ्न नपर्ने
बंगलादेश, भुटान, इण्डिया नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुरुप सोमवार विहानबाट त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी शुरु भएको हो । चार देशबीच सम्झौता भएका तीन वर्षपछि रुट परीक्षण शुरु भएको हो ।
दक्षिण एशियाली मुलुकहरु बंगलादेश,भुटान,भारत र नेपाललाई यातायात कनेक्टिभिटीबाट जोड्न रुट सर्भे तथा सवारी परीक्षणका सिलसिलामा दुईवटा बस ढाकाबाट अघि बढेको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) बिनोद भट्टराईले जानकारी दिए । उनी सहित बिभिन्न मन्त्रालयका ६ जना नेपाली अधिकारीहरु ती बसमा सवार छन् ।
ढाकाबाट अघि बढेका बस सोमवार साँझ बंगलादेश र भारतको सिमावर्ती रंगपुर शहरमा रहनेछन् । मंगलवार रंगपुरबाट अघि बढ्दै भारतको सिलिगुडीमा पुग्नेछन् भने बुधवार नेपालको भरतपुरमा पुग्नेछन् । विहीवार तीन देशका ३० पाहुना सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुसुदन अधिकारीले काभ्रेको धुलिखेलम स्वागत गर्ने कार्यक्रम छ ।
बिबिआइन मोटर भेहिकल सम्झौता २०१५ मा भएको थियो । जसमध्ये भुटानको माथिल्लो सदनले सो सम्झौता अनुमोदन गरिनसकेका कारण रुट सर्भे तथा परीक्षणका क्रममा भुटान सहभागी छैन । नेपालको मन्त्रिपरिषदले लेटर अफ एक्सचेन्ज अनुमोदन गरेपछि सम्भवतः ६ महिनाभित्रमा नियमित चारदेशीय बस सेवा सन्चालन हुनेछ ।
सर्वसाधारण यात्रुका लागि वातानुलित बसमा वाइफाइ लगायतका सबै अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सुबिधाहरु उपलव्ध हुनेछन् । बसको रुट ढाका–बंगलाबन्धु–सिलिगुडी, काँकडभिट्टा हुँदै काठमाडौं पुग्नेछ । ढाकाबाट अघि बढेका बसले काठमाण्डुसम्म पुग्दा करीव १२ सय किलोमिटरको दूरी पार गर्नेछन् ।