| शनिबार, बैशाख ८, २०८१

झर्ने सुन्तला जोगाउन बोट वरिपरि जाली ओछ्याउँदै

 

गोरखाको सुन्तला जोनका किसानले सुन्तला भित्र्याउँदा १० प्रतिशत फुटेर नष्ट हुने गरेको तथ्याङ्क छ । सुन्तला जोन परियोजनाको कार्यालयले जोन अन्तर्गतका ४९ वटा बगैंचाको सर्भेक्षण गर्दा यस्तो तथ्याङ्क भेटिएको परियोजनाको कार्यालयले जनाएको छ ।

‘गोरखामा गतबर्ष ७६०० मेटिूकटन सुन्तला उत्पादन भएको थियो’, सुन्तला जोन कार्यक्रमका प्रमुख अजय अधिकारीले भने, ‘४९ वटा बगैंचाको अध्ययन गर्दा १० प्रतिशत सुन्तला झार्ने क्रममा फुटेर नष्ट हुने पाइयो ।’ भित्र्याउँदा नष्ट हुने समस्या निराकरणका लागि यसबर्ष जाली बितरण गरिएको उनले बताए ।

जाली टाँगेर सुन्तला झार्दा नष्ट हुने सम्भावना पूर्ण रुपमा निराकरण भएको सुन्तला उत्पादक किसान जिल्ला संघका अध्यक्ष ध्रुव खनालले बताए । ‘एउटा बोटको सुन्तला झार्दा कम्तिीमा पनि तीनचार किलो सुन्तला झरेर नष्ट हुन्थ्यो । एउटा बगैंचाको सुन्तला झार्दा त धेरे नष्ट हुन्थ्यो’, खनालले भने, ‘अहिले सुन्तलाको रुख वरिपरि घोचा गाडेर जाली टाँगेर सुन्तला झारेपछि झरेर नष्ट हुने सम्भावना पूर्ण रुपमा हटेको छ ।’
सुन्तला जोन कार्यक्रम अन्तर्गत यसबर्ष शुभविहानी सुन्तला उत्पादक कृषक सहकारी ताङ्लिचोक, हरियाली कृषक समूह मास्कीछापलाई जाली प्रदान गरिएको छ । त्यस्तै चण्डेश्वरी सुन्तला कृषक समूह तीनमाने र मनकामनाका सुन्तला किसानलाई पनि जाली प्रदान गरिएको अधिकारीले बताए । ‘यो बर्ष नमूनाका रुपमा हामीले कृषक सहकारी र कृषक समूहलाई जाली वितरण गरिएको छ’, उनले भने, ‘संस्थाले माताहतका किसानहरु लाई भित्र्याउने बेला आलोपालो गरेर जाली दिन्छ । यदि यो उपाय प्रभावकारी भयो भने आउँदो बर्षदेखि जाली वितरण कार्यक्रम लाई बढाइनेछ ।’

गोरखाको शहीद लखन गाउँ पालिका, गण्डकी गाउँ पालिका, गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र पालुङ्टार नगरपालिकाको वडा नं. ९ र १० लाई समेटेर सुन्तला जोन कार्यक्रम लागु गरिएको छ । सुन्तला जोन कार्यक्रमले सुन्तलाका लागि प्रसिद्ध मनकामनामा प्रशोधन उद्योग सञ्चालन गर्ने भएको छ । ‘सुन्तला सबैभन्दा धेरै उत्पादन हुने मनकामनामा सुन्तलाको रसबाट जुसलगायत बिभिन्न बस्तु बनाउने प्रशोधन उद्योग सञ्चालनको तयारी गरिरहेका छौं’, कार्यक्रम प्रमुख अधिकारीले भने ।

सुन्तला जोन कार्यक्रमले यसबर्ष ४० वटा बगैँचामा साना सिँचाई, १५० जना किसानको भकारो सुधार कार्यक्रम र यसबर्ष पुरानो बगैंचा हटाएर नयाँ बगैँचा लगाउने कार्यक्रम पनि सञ्चालन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्