यातायात बन्द गर्ने व्यवसायीको रुट पर्मिट आजै खारेज
सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा शुक्रबार सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने यातायात व्यवसायीहरूको रुट पर्मिट (इजाजत) यातायात व्यवस्था विभागले आजै खारेज गर्ने भएको छ।
आज गाडी नचलाउने देशभरका व्यवसायीहरूको तथ्यांक संकलन भइरहेको जानकारी दिंदै आजै विभागको बैठक बसेर उनीहरूको पर्मिट खारेज गरिने विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताएका छन्।
देशका विभिन्न जिल्लाबाट यातायात सेवा बन्द गर्नेहरूको सबै तथ्यांक आइसकेपछि बेलुका बस्ने विभागको बैठकले उनीहरूको पर्मिट खारेज गर्ने उनको भनाइ छ।विभागले पर्मिट खारेज गरेपछि त्यस्ता गाडी जफत गरी चलाउने तयारी सरकारले गरेको छ।
उता विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले हड्ताल गर्ने यातायात व्यवसायीलाई के कारबाही गर्ने भन्ने निर्देशन कुरिरहेको बताएका छन्।
सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा यातायात व्यवसायीले आज काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात बन्द गरेका छन्। सवारी नचल्दा यात्रुहरू मर्कामा परेका छन्।
यसैबीच यातायात व्यवसायीको सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले पर्यटक बोक्ने (टुरिष्ट) बस चलाउने भएको छ। टुरिष्ट बस सञ्चालन गरेर भएपनि सर्वसाधारणलाई सुविधा दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। मेट्रोसिटी, साझा यातायात, धुम्बाराही, बाबागोकर्णेश्वर, सेतो टेम्पो लगायतका यातायातका साधन चलिरहेकाे महाशाखाले जनाएको छ। ।
यस्तै विभागमा पञ्जीकरण भएका सवारी साधन देशभर चल्ने यातायात व्यवस्था विभागले जानकारी दिएकाे छ। सरकारले सिण्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ। महासंघको बन्दका कारण शुक्रबार बिहानैदेखि काठमाडौं लगायत देशभरि भाडाका सवारी साधनहरू चलेका छैनन्।