चुमनुब्रीमा यार्सा याम सुरु
दरौँदी ः गोरखाको चुमनुब्री गाउँपालिकामा बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्ने सिजन सुरु भएको छ । मङ्गलबारदेखि गाउँले यार्सागुम्बा संकलन गर्न गएको चुमनुब्री १ का अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।
‘आजदेखि यार्सागुम्बा टिप्ने काम सुरु भयो’ लामाले भने ‘यो हप्ता गाउँ वरिपरिको भीरपाखा मात्र खोलिएको छ । १० दिन विदा गरिन्छ । त्यसपछि मुख्य लेक खुल्ला गरिन्छ ।’ मङ्गलबार पहिलो दिन करिब तीनसय जना सामागाउँ र साम्दोबासी यार्सागुम्बा सङ्कलन गर्न गएको उनले बताए । चुमनुब्री गाउँपालिकाको वडा नं. १ को सामागाउँ, साम्दो, वडा नं. २ को ल्हो, वडा नं. ३ को सिर्दिबास र वडा नं. ७ को छेकम्पारमा यार्सागुम्बा पाइने गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ बताउँछिन् । ‘सबैभन्दा धेरै सामागाउँ र छेकम्पारमा पाइन्छ’ उनले भनिन् ‘अनि सिर्दिबासको लेक र ल्हो को लेकमा पनि यार्सागुम्बा पाइन्छ ।’
यसबर्षदेखि यार्सागुम्बा संकलन गरेबापत राजस्व लिने निर्णय भएको उनले बताइन् । ‘यो बर्षको गाउँसभाले एकजनासंग पाँचसय रुपियाँ राजस्व लिने निर्णय गरेको छ’ उपाध्यक्ष गुरुङ भन्छिन् ‘ठेकेदारसंग लिने निकासी करको भने निर्णय भएको छैन ।’ निकासी करको पनि ब्यबस्था गर्ने उनले बताइन् ।छेकम्पारमा यसबर्ष गतबर्ष जत्तिको राम्रो यार्सागुम्बा नपाइएको त्यहाँका निमा लामाले बताए ।
‘परारसाल जस्तो पोहोर पाइएन, पोहर जस्तो यसबर्ष पाइएन’ उनले भने ‘बर्षेनी घट्दैछ । संरक्षणको लागि पहल गर्नुपर्छ ।’
यार्सागुम्बा संकलनको कर गाउँपालिकालाई जस्तै स्थानीय स्तरको समितिलाई पनि तिर्नुपर्ने प्राबधान छ । ‘स्थानीय समितिले एक जनासंग दुईसय रुपियाँका दरले लिन्छ ।
एउटै घरबाट एकजना भन्दा धेरै जना सहभागी छन् भने एकजनासंग दुईहजार पाँचसय रुपियाँका दरले लिने निर्णय भएको छ ।’गाउँलेहरु एकमहिनासम्म लेकमा यार्सागुम्बा संकलन गरी ५० हजार रुपियाँदेखि एक, दुईलाख रुपियाँसम्म कमाउने गर्छन् ।
ठुलो लेकहरुमा खुल्ला गरेको बेला गाउँलेहरु घर बन्द गरेर र विद्यार्थीहरु विद्यालय नै छोडेर यार्सा टिप्न जाने गर्छन ।
यार्सा बेचेर यहाँका अधिकांशले घरखर्च चलाउने आम्दानी गर्ने गरेका छन् ।