
पालुङ्टार टेण्डर काण्ड ः रोजन भट्टराईलाई सार्वजनिक मुद्धा दर्ता
दरौँदी ः गोरखाको पालुङटार नगरपालिकामा टेण्डर फारम दर्ता गर्न गएका ब्यवशायीलाई चार घण्टा बन्दक बनाएर कुटपिट गरेको आरोपमा रोजन भट्टराईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वल्डवाईड कन्ट्रक्सनका प्रतिनिधि राम थापा र हरि भट्टराईलाई होटल भित्र बन्दक बनाएर कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा पालुङटार ५ का भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पीडित पक्षले सन्दिप तामाङ, खुसी तामाङ र राजिन सुनार बिरुद्ध पनि शरीर बन्दक एवं कुटपिट गरेको आरोमा राम थापा र हरि भट्टराईले किटानी जाहेरि दिएका छन ।
एक जना पक्राउ परेपनि अन्य तीन जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका सई मोहन खड्काले बताए । फरारहरुको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
पालुङटार नगरपालिकाले वडा नम्बर ५ को सडक निर्माण गर्न ९० लाख र वडा नम्बर ९ को वडा कार्यालय भबन निर्माण गर्न ७२ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको थियो । उक्त ठेक्का निर्माण व्यवसायी संघ गोरखाले मिलेमतोमा गर्ने योजना बनाएछि भट्टराई र थापाले आफ्नो फर्म दर्ता गराउँदा बिवाद बढेको थियो । निर्माण ब्यवशायी संघले ठेक्का हालेपछि मिलाउन भन्दै यातना दिएको आरोप पीडित पक्षको छ ।
घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।