| बुधबार, अशोज २३, २०८१

Gorkha Mun गोरखा नगरपालिकामा धेरै सहकारी

काम नगर्ने तीन जना ठेकेदारको धरौटी जफत

योजना सम्झौता गरेर काम नगर्ने तीन जना ठेकेदारको धरौटी गोरखा नगरपालिका कार्यालयले जफत गरेको छ ।

सिएमसी निर्माण कम्पनी, अकलामाई निर्माण कम्पनी र    आरएआरई कम्पनीको धरौटी जफत गरेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप अधिकारीले जानकारी दिए  ।

सीएमसी निर्माण कम्पनीले दुई ओटा र अरु दुई निर्माण कम्पनीले एकेक वटा सडक निर्माण कामको जिम्मा लिएर काम नगरेको अधिकारीले बताए । उक्त कम्पनीहरुले कामको जिम्मा लिएर पनि महिनौसम्म काम नथालेर सम्पर्कमै नआएपछि      धरौटी जफत गरेको अधिकारीले जानकारी दिए । नगरपालिकाले तीन कम्पनीबाट कुल सात लाख रुपियाँ जफत गरेको उनले बताए ।

‘तीन ओटै कम्पनीले कामको जिम्मा लिएर पनि महिनौसम्म सम्पर्कमा आएनन्’ अधिकारीले भने ‘ती कम्पनीका ठेकेदारहरुले जिम्मा लिएको कामको अबधि अझै केही महिना बाँकी नै भएपनि उनीहरुले काम अलपत्र पारी सम्पर्कमै नआएकाले कारवाही गरेका हौँ ।’

नगरपालिकाले कामको जिम्मा लिएर सम्पन्न नगरी छाड्ने निर्माण कम्पनीहरुमाथि  कारवाही सुरु   गरेको छ । अलपत्र परेका चार ओटै ठाउँको सडक निर्माणका लागि नगरपालिकाले अन्य निर्माण कम्पनीसँग सम्झौता गरी  काम सुरु गर्न लागेको अधिकारीले  जानकारी दिए । गोरखा नगरपालिका भित्र सञ्चालन भईरहेका सम्पूर्ण विकास निर्माणको काम तोकीएको समयभित्र ८० प्रतिशतभन्दा कम सम्पन्न भएको पाईएमा उक्त कामको जिम्मा लिएको  कम्पनी तथा उपभोक्ता समितिलाई समेत कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।

‘कामको जिम्मा लिएर समयमै काम सम्पन्न नगर्ने र नगरपालिकासँग सम्पर्कमै नआउने सबैलाई कारवाही हुन्छ’ अधिकारी भने ‘हामीले नगरपालिकामा सञ्चालन भईरहेका सम्पूर्ण विकास निर्माण कामको अवलोकन गरिरहेका छौँ । विगतमा जस्तै समयमै काम सम्पन्न नगर्नेलाई विना कारवाही छाड्ने छैनौँ ।’  विगतका समयमा गोरखा नगरपालिका भित्र भईरहेका बिभिन्न विकास निर्माणको काममा निर्माण कम्पनीको लापरबाहीका कारण सर्बसाधरण मर्कामा पर्ने गरेपनि कुनै कारवाही हुने गरेको थिएन ।

‘हाम्रो यो कार्याक्रम निरन्तर चलिरहन्छ’ अधिकारी भन्छन् ‘हामिले तीन कम्पनीलाई कारवाही गरेपछि अन्य निर्माण कम्पनीका व्यक्तिहरु समेत आफै आएर कामको विवरण बुझाउन थालेका छन् ।’ नगरपालिकाले यस कार्याक्रमलाई निरन्तरता दिँदै जाने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्