| बिहिबार, मंसिर १४, २०८०

budi-gandaki-hydro

बुढीगण्डकी सोझै चिनियाँ कम्पनीलाई नपाउने

सरकारले बढुगण्डकी जलविद्युत् आयोजना टेण्डरमाफत् अघि बढाउने भएको छ। मंगलबार श्वेतपत्र जारी गर्दै उर्जा तथा सिंचाईमन्त्री वर्षमान पुनले आयोजना निर्माणका लागि टेण्डर आह्वान गर्ने बताएका हुन्।

२१ जेठ २०७४ मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले चीनको सरकारी स्वामित्वको चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई बुढी गण्डकी आयोजनाको निर्माण कार्य जिम्मा दिएको थियो। त्यसको पाँच पहिनापछि गत कार्तिक २७ गते शेरबहादुर देउवा सरकारले चिनियाँ कम्पनीलाई निर्माण जिम्मा दिने पूर्ववर्ती सरकारको निर्णय रद्द गरिदिएको थियो।

१ हजार २ सय मेगावाटको सो आयोजना केपी ओली नेतृत्वको सरकारले फेरि चीनलाई बिना प्रतिस्पर्धा दिन्छ कि भन्ने शंका भइरहँदा मंगलबार उर्जामन्त्री पुनले टेन्डरमा जाने बताएका हुन्। केपी शर्मा ओलीले काम चलाउ देउवा सरकारका सबै निर्णय उल्टाउने बताउँदै बताइरहँदा बुढीगण्डकी फेरि चिनियाँ कम्पनीले सिधै पाउने हो कि भन्ने शंका थियो। मन्त्री पुनको भनाइले चिनियाँ कम्पनीले सिधै बुढागण्डकी नपाउने स्पष्ट पारेको छ।

‘बुढीगण्डकी जलासययुक्त आयोजना निर्माणका लागि आगामी आर्थिक वर्षभित्र बोलपत्र प्रक्रिया सुरु गरिनेछ’, श्वेतपत्र जारी गर्ने कार्यक्रममा उनले भने, ‘यो आयोजना कसैलाई जिम्मा दिने होइन। ढुक्क हुनुहोस्। सरकारले आयोजना अघि बढाउँछ, कम्पनी छान्ने काम हुन्छ।’

बुढीगण्डकीको जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत तयार भइसकेको छ। हाल आयोजनाबाट प्रभावित सर्वसाधारण्लाई मुआब्जा वितरण गर्ने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्