| शुक्रबार, बैशाख ७, २०८१

पर्यटक सिजनमा मनास्लु क्षेत्र सुनसान

केहीबर्षदेखि मनास्लु क्षेत्रमा पर्यटकको ओइरो लाग्न थाल्यो । विश्वको आठौँ अग्लो मनास्लु हिमाल आरोहण गर्ने, लार्केपास गर्ने, चुम उपत्यका भ्रमण गर्ने नयाँ गन्तव्यका रुपमा मनास्लु क्षेत्र विकास भइरहेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार बर्षेनी आठहजार भन्दा धेरैले मनास्लु क्षेत्र भ्रमण गर्ने गर्छन् । तीनसय जना भन्दा धेरै आरोही मनास्लु आरोहणका लागि आउने गर्छन् ।


लोकप्रिय बन्दै गएको मनास्लु क्षेत्र यसबर्ष भने सुनसान छ । बिगत बर्ष यतिबेला पर्यटकले भरि भराउ हुने मुख्य केन्द्र माछाखोला, जगत, फिलिम, छेकम्पार, नाम्रुङ, सामागाउँ विश्वव्यापी कोरोना महामारीका कारण सुनसान भएको व्यवसायीहरु बताउँछन् ।


जगत सुनसान छ । स्याउलीभट्टी, ठुलोढुङ्गा, यारुबगर, ठाडो भर्‍याङका साना होटल, टिहाउसमा ताल्चा लागेका छन् । पर्यटकले भरिभराउ हुने होटल, कटेजहरुमा झार उम्रिएका व्यवसायीहरु बताउँछन् ।


‘बरबादै भयो । स्वदेशमै केही गरेर खाउँला भनेर करोडौं खर्च गरेर होटल बनाइयो’, स्थानीय होटल ब्यबसायी गणेश कार्की भन्छन्, ‘तर छ महिना भयो, बन्दको बन्दै छ । ऋण लिएको व्याजले चुर्लुम्मै डुबाइसक्यो । तर कमाइ एकपैसा पनि छैन ।’ कोरोना त्रासले पर्यटनलाई मुख्य पेशा बनाएकाहरु मागेर खाने हालतमा पुगेको उनको भनाइ छ ।


मनास्लुमा बर्षेनी करिब आठ हजार जना विदेशी पर्यटक भित्रिन्छन् । तर कोरोना महामारीका कारण यसबर्ष एकजना पनि विदेशी पर्यटक नआएका कार्कीले बताए ।


मनास्लु हिमाल आरोहण गर्न जाने मुख्य सिजनका बेला फिलिमका होटलहरु पनि यतिबेला सुनसान छन् । लार्केपास जाने, चुम उपत्यका घुमेर फर्कने पर्यटकहरुको दोहोरो भीड लाग्ने फिलिममा अहिले पर्यटक आउने आशा पनि कसैसँग छैन । आएका अजात बटुवालाई बास दिन पनि कोही तयार हुदैनन् । ‘सबैलाई मर्न डर लाग्ने रहेछ’, स्थानीय होटल ब्यबसायी भन्छन्, ‘बाँची बसे व्यवसाय त अर्को बर्ष गरौँला भनेर जति नोक्शान परे पनि सहेर बसेका छौँ ।’ केही बर्षयता होटलमा करोडौँ लगानी गर्नेहरु अहिले आत्तिसकेको उनको भनाइ छ । पर्यटकको आवागमन बढेपछि चुम उपत्यकामा घरैपिच्छेजसो होटल, लज बने ।

विदेश तथा अन्य सहरहरुमा पलायन भइसकेका युवाहरु पनि गाउँमा होटल, लज सञ्चालन गर्न फर्केका थिए । तर कोरोनाका कारण यो बर्ष लगानी डुबेको उनीहरु बताउँछन् ।

‘भर्खर होटल बनाएर अब यो सिजनमा सञ्चालन गर्ने भन्ने योजना बनाएको थिएँ’, स्थानीय छिरिङ तेन्जिन भन्छन्, ‘लकडाउन लागिहाल्यो । साहुको रिन तिर्नुपरिहाल्यो । तर व्यवसाय चलाउन पाइएन ।’ उनले पनि ऋणमा डुबेको पिरलो सुनाए ।

प्रतिक्रिया दिनुहोस्