| शनिबार, कार्तिक ८, २०७७

बन्दिपुरमा १० देखि ५० प्रतिशत सम्म छुट प्याकेज सहित होटेल सञ्चालन

कोरोनाको त्रासका कारण वाक्क हुनुहुन्छ ? भीडभाड र सहरी त्रासका कारण वाक्क तपाईं त्रासरहित वातावरणमा दसैं मनाउन चाहनुहुन्छ भने बन्दीपुर तपाईंको आकर्षण बन्न सक्छ।

 
सहरी कोलाहलबाट पर यस प्राचीन सहरले लकडाउनका कारण थिलथिलो परेको पर्यटन व्यवसायलाई ब्यूँताउन दसैंलक्षित पर्यटक प्याकेज ल्याएको छ। झन्डै डेढ सयको संख्यामा रहेका यहाँका अधिकांश होटलले १० देखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेका छन्। ‘पर्यटक आकर्षित गर्न सबैले केही छुट दिने निर्णय गरेका छौं’, क्षेत्रीय होटल संघ बन्दीपुर बजार एकाइ समितिका अध्यक्ष विपिन प्रधानले भने, ‘सबैले छुट दिनुहुन्छ।’

संघमा ७७ होटल दर्ता छन्। तर, झन्डै सोही संख्याको हाराहारीमा पर्यटक राख्ने होटल र गेस्ट हाउस बन्दीपुरमा छन्। अरू बेला भएको भए अहिले मुख्य पर्यटकीय सिजन थियो। पर्यटन वर्षमा धेरै पर्यटक भित्र्याउने योजना बनाएर लगानी गरे पनि लकडाउनको मारमा परेपछि व्यवसायीले यस योजनाबाट राहत लिने सोचेका छन्। 
सुरक्षित स्वागत र सुरक्षित बिदाइ

चहलपहल कम हुने ठाउँ भएकाले सहरमा जस्तो कोरोना जोखिम नहुने ठानेर व्यवसायीले पर्यटक भित्र्याउन खोजेका हुन्। तर, आफ्नै र पर्यटकको सुरक्षाका लागि पनि उनीहरूले स्वास्थ्य मापदण्डको भने पूर्ण पालना गर्ने बताएका छन्। ‘सरकारले तोकेको मापदण्ड पालना गरेर मात्र होटल सञ्चालन हुनेछ’, बन्दीपुर भिलेज इन्का सञ्चालक विकास श्रेष्ठले भने, ‘आधा संख्यामा मात्र कोठा सञ्चालन गर्ने योजना छ।’ 

क्षेत्रीय होटल संघका एकाइ अध्यक्ष प्रधान भन्छन्, ‘सुरक्षित स्वागत र सुरक्षित बिदाइ हुनेछ। पूर्ण मापदण्ड पालना गरेर मात्र होटल चलेका छन्।’ केहीले भने चिनेका र पुराना ग्राहकलाई मात्र भित्र्याउने गरेका छन्। ‘चिनेका र पुराना ग्राहक आउँदा मात्र बास दिएका छौं’, हिल्स हेभेन होटलका सञ्चालक सुमन श्रेष्ठ भन्छन्, ‘जोखिम कम हुने हिसाबले होटल चलाइरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्