| शनिबार, बैशाख ८, २०८१

चौंथो पटक मितिमा समेत पूरा भएन नारायणगढ–मुग्लिन सडक

चौंथो पटक मितिमा समेत पूरा भएन नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन्।

 

चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको १० मे २०१८ मा मिति सकिएको छ भने दोस्रो खण्डको छ दिन र तेस्रो खण्डको १६ दिन बाँकी रहेको छ। यसअघि मिति थप हुँदा दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय दिइएको थियो।

सो आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार हालसम्म समग्रमा ८६।३८ प्रतिशत काम सम्पन्न भएको छ। पहिलो खण्डको ८३।३ प्रतिशत, दोस्रो खण्डको ९५।७३ प्रतिशत र तेस्रो खण्डको ८०।१३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ।

सो सडकको पहिलो खण्डको कालोपत्रे ४०० मिटर बाँकी छ भने दोस्रो खण्डको कालोपत्रेको पहिलो तह सम्पन्न भइसकेको छ। तेस्रो खण्डको एक हजार ८०० मिटर कालोपत्रे गर्न बाँकी रहेको रेग्मीले बताए।

पहिलो खण्ड बिएलए–श्रेष्ठ जेभीले थप ४०० दिन समय माग गरेको छ। समय सकिनु एक साताअघि थप मिति चाहिएमा माग गर्नुपर्ने हुन्छ। दोस्रो खण्ड उड हिल–लामा जेभीले थप ४० दिन अर्थात् जुन मसान्तसम्मको समय माग गरेको छ। तेस्रो खण्ड सुप्रिम–रौताहा जेभीले मिति थप मागिसकेको छैन। सो खण्डको मिति ३० मेमा सम्पन्न हुँदैछ।

पहिलो र दोस्रोले थपिएको समयमा पनि पानी परेको, बन्द भएको, सडक जामका कारण काम गर्न नपाएको, काम थपिएको र पहिले थप मागेअनुरुप समय नपाएकाले मिति थप गर्नुपर्ने कारण देखाएको रेग्मीले बताए।

उनका अनुसार यही गतिमा काम भएमा जुन अन्त्यसम्ममा सडक सुरक्षाबाहेकका काम सकिने देखिएको छ। सडक सुरक्षाका लागि बढीमा १५ दिन समय लाग्ने उनले बताए। यद्यपि उनीहरुले कति समय थप पाउँछन् सम्झौतामा उल्लेख भएअनुसार सिफारिस गरिने उनले बताए।

नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले चौथो पटकको मिति सम्पन्न भएको भन्दै सम्झौताअनुरुप के कति समय थप पाउने वा नपाउने परामर्शदाता कम्पनीबाट आएपछि भन्न सकिने बताए। सम्झौताभन्दा बढी समय उनीहरुले नपाउने बताउँदै उनले पछिल्लो समय कामले भने गति लिएको बताए।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो। लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्