| शुक्रबार, साउन १५, २०७८

पुन:संचालन हुन मुस्किल छ गोरखकाली रबर उद्योग (अहिले यस्तो छ उद्योग, फोटो फिचर)

दरौँदी समाचारदाता : उद्योग झाडीले झपक्कै छोपेको छ । मुख्य गेटमा छ जना सुरक्षा गार्ड आलोपालो बन्द उद्योग रुँगिरहेका छन् । २०७२ को भुकम्पपछि पुर्ण रुपमा बन्द गोरखकाली रबर उद्योगले २०७५ माघमा उद्योगमा रहेका दुई सय ४२ जना, डिपो र काठडमाण्डौँ स्थित सम्पर्क कार्यालयका सहित दुई सय ८० भन्दाबढी कर्मचारीलाई अबकास दियो । हाजिर गर्न कर्मचारी गईरहँदा चहलपहल देखिने उद्योग त्यसयता सुनसान छ ।

उद्योग भित्र चारवटा साना गाडी थोत्रिएका छन् । गुड्दा गुड्दै थन्किएका गाडी थोत्रो भईसक्यो । केही मोटरसाईकल पनि उद्योगभित्र थन्किएको छ । करोडौँका मेसिनहरु धुलो र खियाले थोत्रिएको छ । टायर उत्पादनको काम नहुँदा मेसिन कवाडीमा परिणत भएको छ । ‘हामीलेभित्र मेसिनहरु हेर्दैनौँ, जान्दैनौँ’ सुरक्षा गार्ड गंगाप्रसाद गौतमले भने ‘हामीले उद्योगको भबन, कम्पाउण्ड भित्रको सुरक्षा गर्ने जिम्मेवारी मात्रै पाएका छौँ ।’ उद्योगमा अहिले कोही आउँदैनन् ।

सरसफाई गर्ने, मेसिनहरुको अवस्था जाँच्ने गरिँदैन । ठुला र स्तरीय भबन झाडीले छोप्ने, झ्यालका सिसा फुट्ने भएको छ । उद्योगभित्र बाँकी रहेका कच्चा पदार्थ मिल्किएका छन् । झाडीले उद्योगको हरेक ब्लक छोपेको छ । उद्योग भित्रको झाडी जंगली जनावरको बासस्थान बनेको छ । एक्लै उद्योग परिसर घुम्न सुरक्षा गार्ड पनि डराउँछन् । सयौँ रोपनी क्षेत्रफलमा रहेको उद्योगका छुट्टाछुट्टै भबन छ । कार्यालय, उत्पादन कक्ष, प्रशोधन, स्टोर लगायत कुनैमा पनि ताला चावी लगाइएको छैन । उद्योगको कोठा, शौचालय फोहोर र दुर्गन्धित छ ।

उद्योग परिसरमा जताततै बिजुलीको फलामे पोट स्टोर गरिएका छन् । वर्षौँदेखि राखिएका पोल कति छ कसले राखेको भन्ने बारे उद्योगका गार्ड बेखबर छन् । विद्युत प्राधिकरण बितरण केन्द्रले स्टोर गर्न सजिलो भएर राखेको जनाएको छ । तर त्यहाँ यत्रतत्र छरिएर पोल राखिएको छ । उद्योगको वरपर ठुलो संख्यामा खयरको रुख छ । रुख काटेर काठ चोरी हुने क्रम बढेको गुनासो आईरहन्छ । कतिपय रुख थोत्रिएर कुहिएका छन् । महँगो मूल्यमा बिक्री हुने लडेका, पुराना खयरका रुखको ब्यवस्थापन उद्योगले गर्न सकेको छैन ।

तीनवर्षअघि उद्योगले खयरको रुख काटेर बिक्री गर्न डिभिजन बन कार्यालयमार्फत प्रक्रिया अघि बढाएको थियो । लडेका रुख मात्र नभई सबै रुख काटेर बिक्री गरी कर्मचारीलाई तलब भत्ता खुवाउने उद्योगको योजना थियो । चौतर्फी आलोचनापछि बन बिभागले रुख काट्ने अनुमती दिएन । रुख काट्न नपाएपछि उद्योगले सडेगलेका रुखको प्रयोग गर्न तर्फ पनि चासो नदिएको सेवा निवृत्त एक कर्मचारीले बताए । अहिले उद्योग क्षेत्रमा घाँस दाउरा गर्ने, नदीले कटान गर्ने गरेर रुख नासिँदै गएको छ ।
बन्द भएको तीनवर्षसम्म उद्योगले बिना काम कर्मचारीलाई पुरा तलब दिएर पाल्नुप¥यो । यसले उद्योगमा घाटा थपिएको छ । ‘२०७२ देखि उद्योगमा उत्पादन ठप्प भयो, २०७५ मा कर्मचारीलाई अबकास दिईयो’ उद्योगका करार कर्मचारी दिनेश कार्कीले भने ।

२०४९ सालदेखि टायर उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एक मात्रै टायर उद्योग हो । यसमा नेपाल सरकारको ३८, साल्ट ट्रेडिङको २३ प्रतिशत शेयर र सर्वसाधारणको पनि लगानी छ । उद्योग सुरु भएदेखि नै उत्पादन राम्रो नभएको कर्मचारीहरु बताउँछन् । ४० प्रतशितसम्म उत्पादन गर्न उद्योग सफल भएको थियो । त्यती मात्रै उत्पादन गरेको वर्षपनि उद्योग नाफामा चलेको रेकर्ड उद्योगसँग छ । उत्पादन ठप्प भएपछि उद्योग वर्षेनी घाटामा छ ।

टायर उत्पादनका लागि चाहिने ७० प्रकारका कच्चा पदार्थ मध्ये सबैजसो खाडी मुलुकबाट ल्याउनुपर्छ । कच्चापदार्थ ढुवानी समस्या, अन्तर्राष्ट्रिय बजारको सस्तो टायरले बजारमा बिक्री बितरण गर्न समस्या हुँदा उद्योग टाट पल्टिने अवस्थामा पुगेको हो । भारतीय बजारमा उत्पादन हुने टायरको मूल्य भन्दा पाँचदेखि १० हजारसम्म यस उद्योगले उत्पादन गरको टायर महँगो पथ्र्यो । अबैध रुपमा कर छलेर नेपाली बजारमा आउने टायरले गोरखकाली टायरको बजार बिक्री घटेपछि बन्द हुन पुगेको अनुभव मजदुरहरुको छ ।