| शुक्रबार, बैशाख ३, २०७८

चुमनुब्री २ का बासिन्दालाई खाद्यान्न राहत वितरण


गोरखाको हिमालपारि रहेको अति दुर्गम चुमनुब्री गाउँपालिका वडा नं. २ का बासिन्दालाई खाद्यान्न राहत वितरण गरिएको छ । कोभिड महामारीका कारण आयआर्जन गर्न नसकेका त्यहाँका २८० घरधुरीका परिबारलाई चामल र दाल वितरण गरिएको स्थानीय ल्हाक्पा लामाले जानकारी दिए ।


‘अमेरिकाका १५ जना र अस्ट्रेलियाका एकजनाबाट संकलन गरिएको आर्थिक सहायताबाट खाद्यान्न खरिद गरी यहाँको ल्हो, स्यो, ल्ही, हिनाङमा वितरण गरेका हौँ’, खाद्यान्न राहत सामग्री संकलनमा समन्वय गरेका उनले भने, ‘प्रत्येक परिबारलाई २५ किलोग्रामको एक बोरा चामल र पाँच किलोग्राम दाल वितरण गरेको हो ।’

पर्यटकीय पदमार्गमा पर्ने सो गाउँमा कोरोनाका कारण पर्यटक नआउँदा आयआर्जन ठप्प भएको थियो । विपदका बेला खाद्यान्न राहत पाएकोमा गाउँले धेरै खुशी भएको ल्हाक्पा लामाले बताए । लामाका अनुसार ल्हीका ५१ घर पबिार, हिनाङका ३० घर परिबार, स्योका ६२ घर परिबार र ल्हो गाउँका एकसय ३७ घर परिबारलाई राहत सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्