| आइतवार, बैशाख २६, २०७८

प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित सातजनाविरुद्ध अख्तियारद्वारा मुद्धा दायर

धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे र वडा नं. ७ का अध्यक्ष सूर्यमान गुरुङसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्धा दर्ता गरेको छ ।


स्थानीय नौलीखोला तेश्रो लघुजलविद्युत् आयोजना मर्मतको क्रममा भुक्तानी गर्दा भ्रष्टाचार पुष्टि भएपछि आयोगले आयोगले काठमाडौं विशेष अदालतमा १० लाख ६३ हजार ५७ रुपैयाँ मागदाबी सहित मुद्दा दायर गरेको हो ।

२५ लाख रुपैयाँको सो आयोजनामा वास्तविक सम्पन्न भएको कामभन्दा बढी मूल्याङ्कन गरी झुटो बिल पेश गरेको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनियर प्रविन वस्ती र सव–इन्जिनियर रामनारायण चौधरीमाथि आयोगको आरोप छ ।


आफ्नो वडाभित्रका योजनाहरुको अनुगमन÷सुपरीवेक्षण गरी भए गरेका कार्यहरुको मात्र भुक्तानीको लागि सिफारिस गर्नुपर्नेमा आफ्नो पदीय दायित्व पूरा नगरी उपभोक्ता समितिका अध्यक्ष र प्राविधिक समेतको मिलेमतोमा राज्यको सम्पत्ति हानिनोक्सानी गरेको वडा नं. ७ का वडा अध्यक्ष तथा वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङमाथि आयोगले आरोप लगाएको छ ।


त्यस्तै आयोजना मर्मत गर्दा उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङले प्राविधिक समेतको मिलेमतोमा कामभन्दा बढी मूल्याङ्कन गरी÷गर्न लगाई झुलो बिल भरपाई गरेको पुष्टि भएको अख्तियारको भनाइ छ ।


आयोजनाको भुक्तानी दिने चरणमा उक्त आयोजनाको अनुगमन÷निरीक्षणपछि काम भए नभएको यथार्थ विवरण एकिन नगरी बढि भुक्तानी दिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्