| शुक्रबार, साउन १५, २०७८

साहसिक पर्यटन विकास गर्न यमगाउँमा गुफाको अध्ययन

साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले धार्चे मनास्लु पर्यटन विकास समितिले धार्चे गाउँपालिकामा दुईवटा गुफाको अध्ययन गरेको छ ।


गुफाविद् दविन्द्र तामाङ र भक्तकुमार विकसहित प्राविधिक टोलीले धार्चे ५ यमगाउँमा गुफाको अन्वेषण तथा अध्ययन गरेको समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।

धार्चे गाउँपालिका वडा नं. ५ को कार्यालय र नेपाल पर्यटन बोर्डको सहयोगमा समितिले त्यहाँका सातकन्या गुफा र भोटेलामा गुफाको अध्ययन तथा अन्वेषण गरेको गुरुङले जानकारी दिए ।
सातकन्या गुफा यमगाउँ नजिकै सडकको छेउमा रहेको छ । सो गुफाको लम्बाइ करिव ३० मिटर र चौडाइ दुईदेखि पाँचमिटरसम्म रहेको उनले बताए ।


सातकन्या गुफाभन्दा केहीमाथि रहेको भोटेलामा गुफाको दुईठाउँमा ढोका रहेको छ । भोटेलामा गुफा ३० मिटर लामो र भित्र ठुलो कोठा रहेको अध्ययन टोलीका सदस्य दविन्द्र तामाङले जानकारी दिए ।

अन्य ठाउँमा पनि गुफाहरु रहेको हन सक्ने उनले अनुमान गरे । दुवै गुफालाई सरसफाइ तथा मर्मतसम्भार गर्नुपर्ने देखिएको तामाङको सुझाव छ । ‘गुफा आकर्षक र सहासिक छ’, उनले भने, ‘गुफाभित्रका प्राकृतिक संरचनालाई कत्तिपनि असर नपु¥याई सरसफाइ गर्नु जरुरी देखिन्छ । ढुङ्गा खस्न सक्ने अबस्थामा रहेकाले केही पूर्वाधार निर्माण गर्नु आवश्यक देख्छु ।’ साथै गुफा के हो भन्ने बारेमा यसको महत्व स्थानीयवासीलाई पनि बुझाउन जरुरी छ ।


गुम्दा गाउँको आसपासमा अन्य गुफाहरु रहेकाले गुम्दालाई ‘गुफागाउँ’को रुपमा चिनाउँदै पर्यटन प्रवद्र्धन र विकासमा जोड दिनुपर्ने धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङको भनाइ छ । ‘यमगाउँ र खानीबेशीमा सानोपोखरी गुफा, खानीबेशीगुफा, पाङगुफा, तान्त्रीगुफा, आग्रीगुफा छन्’, उनले भने, ‘अब हामी अध्ययन भइसकेका गुफाको प्रचारप्रसार र अन्य गुफाको थप अध्ययन र खोजी गर्नेछौँ ।’ गाउँपालिकासंग समन्वय गरेर गुफाको खोज अनुसन्धान र प्रवद्र्धन गर्ने उनले बताए ।


सातकन्या गुफाबाट करिव सयमिटर माथि सातकन्या पोखरीसमेत छ । पुरातत्व विभागले पर्खाल निर्माण गरी सो पोखरीको संरक्षण गरेको छ । त्यहाँ देवीको मन्दिर पनि छ । प्रत्येक वर्ष पुस २९ गते त्यहाँ मेला लाग्ने र स्थानीयवासीले कुखुरा, बोका आदिको बली दिने र झाँक्री नाच्ने स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्