| शुक्रबार, साउन १५, २०७८

क्यान्सरको औषधी नेपालमै उत्पादन

नेपालमा नै पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो ।    
    
 यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सर उपचारमा प्रयाेग हुने औषधिको उत्पादन शुरु गरिएको बताए । औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए ।
    
 कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी करीब रु ३२ करोड लगानीमा औषधि उत्पादन शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्