| शुक्रबार, बैशाख ७, २०८१

गोरखा ट्राफिकको प्राथमिकता : बढी भाडा लिनेलाई कारवाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले दशैँको बेला यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई कारवाही गर्ने भएको छ ।

चाडबाडको बेला सवारी साधन कम र यात्रु धेरै भएको मौका छोपेर यात्रुबाहक बस, माईक्रोबस, ट्याक्सीहरुले बढी भाडा असुल्न सक्ने भएकाले चेकजाँचलाई तिब्र बनाइएको ट्राफिक प्रहरी प्रमुख प्रेमप्रसाद पोखरेलले बताए
‘बढीभाडा लिएका, मादक पदार्थ सेवन गरेर सवारी चलाएका र क्षमता भन्दा धेरै यात्रु बोकेका सवारी साधनलाई निग्रानी बढाएका छौँ’ गोरखाका ट्राफिक प्रमुख पोखरेलले भने ।

केहीदिन अघि मात्रै गोरखा आएका उनले शुक्रवार पत्रकारहरु सँगको भेटघाटका क्रममा जिल्लाको ट्राफिक ब्यवस्थापन ब्यवस्थित गर्न आफु लागि पर्ने बताए ।
दशैँ लागेसँगै हरेक दिन तीन ठाउँमा सवारी चेकजाँच सुरु गरिएको छ । मझुवा, बाह«किलो र गोरखा सदरमुकाम आसपास चेकजाँचलाई कडाई गरिएको उनले बताए ।

गण्डकी गाउँपालिकाको घ्याल्चोक, आरुघाट, नयाँ साँघु, जौवारी, पालुङटार लगायत ठाउँमा पनि ट्राफिक प्रहरी खटाइएको छ । जिल्लाभर १३ जना मात्रै हुँदा काम गर्न समस्या भएको ट्राफिक प्रमुख पोखरेलले बताए ।


गोरखा सदरमुकाममा पार्कीङको समस्या भएको बताउँदै उनले स्थानीय तहसँगको सहकार्यमा ब्यवस्थापन गर्ने, ट्राफिक संकेतहरु राख्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्