| बिहिबार, कार्तिक ४, २०७८

डोजरको इन्धनमा पानी मिसाएको बिषयमा अजीरकोट गाउँपालिकाको बैठकमा तनाब


गाउँपालिकाको डोजरको इन्धनमा पानी मिसाएर प्रयोग गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्छ भन्ने आवाज उठेपछि अजीरकोट गाउँ कार्यपालिकाको बैठकमा तनाब सिर्जना भएको छ ।

पानी मिसिएको इन्धन प्रयोग गरेका कारण गाउँपालिकाको डोजर बिग्रिएपछि आक्रोशित भएका कार्यपालिका सदस्यहरुले सो इन्धन ल्याउने दुई करार र एक स्थायी कर्मचारीलाई कारबाहीको माग गरेका थिए ।


बैठकमा चर्काचर्की भएपछि आक्रोशित भएका गाउँपालिकाका प्रमुख फणिन्द्र धिताल वडाअध्यक्ष जंगबहादुर गुरुङतर्फ आक्रोशित भएर लम्किएका थिए । आफूतिर आइरहेका प्रमुख धितालतर्फ लक्षित गरी वडाअध्यक्ष गुरुङले कुर्ची उठाएर फ्याँकेपछि स्थिति थप तनाबग्रस्त भएको गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङले बताइन् । अध्यक्ष धिताललाई कर्मचारीहरुले सम्झाइबुझाइ गरेर शान्त बनाएको उनले बताइन् ।


‘तेलमा पानी मिसावट भएका कारण डोजरको इञ्जिन सिज भएर थन्किएको छ । त्यसमा बदमासी गर्ने पालिकाको गाडीका ड्राइभर, कार्यालयका पियन र सहायक लेखापाललाई कारबाही हुनुपर्छ भनेर हामीले जोडदार माग राखेका थियौँ’, वडा नं. ४ का अध्यक्ष गुरुङले भने, ‘तीनघण्टासम्म चर्को आवाजमा कुरा उठ्दा पनि गाउँपालिकाका अध्यक्ष एक शव्द बोल्नु भएन । त्यसपछि हामी सबैले उहाँले केही न केही बोल्नुपर्छ भनेर कराउन थाल्यौँ । त्यतिकैमा गाउँपालिकाका अध्यक्ष उठेर मतिर झम्टिन लाग्नुभयो । अनि मैले आफ्नो बचाउ गर्न कुर्ची उठाएर उहाँतर्फ फ्याँकेको हुँ । पछि कर्मचारीहरुले उहाँलाई फर्काएर लगे ।’


गाउँपालिकाले खरिद गरेको छसय लिटर ब्याकहुलोडर(डोजर)को तेलमा पानी मिसिएको प्राविधिकहरुले पुष्टि गरेका छन् । पानी मिसिएको तेल प्रयोग गर्दा बिगत १५ दिनदेखि सो डोजरको इञ्जिन सिज भएर थन्किएको उपप्रमुख गुरुङको भनाइ छ ।


सो बिषयमा छलफल गर्न आइतबार गाउँ कार्यपालिकाको बैठक आव्हान गरिएको थियो । ‘यस बिषयमा आज कुनै निर्णय हुन सकेन । अब दशैपछि अर्को बैठक गरेर निर्णय गर्ने समझदारी भएको छ’, उपप्रमुख गुरुङले भनिन् ।


तर गाउँपालिकाका प्रमुख धितालले भने बैठकमा बाहिर हल्ला भएको जस्तो कुनै अप्रिय घटना नभएको दाबी गरेका छन् । ‘बैठकमा सामान्य भनाभन, चर्काचर्की हुनु स्वभाविकै हो । त्यति मात्र भएको हो । अरु केही भएको छैन’, धितालले भने ।


गाउँपालिकाले दुई हप्ताअघि तनहूँको डुम्रेस्थिति ऋषि आयल स्टोर्सबाट तीन वटा ठूलो ड्रममा छसय लिटर इन्धन ल्याएर कृषि र पशु शाखाको भवनमा स्टोर गरेको थियो । सोही इन्धन प्रयोग गरेर डोजर चलाउँदा इञ्जिनमा समस्या आएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्