| बिहिबार, कार्तिक ४, २०७८

गुट होइन, कांग्रेसको रथ हाँक्छु : न्यौपाने


१४ औँ महाधिवेशनको क्रममा हालै नेपाली कांग्रेसको गोरखा जिल्ला अधिवेशन सम्पन्न भयो । वडातहदेखि जिल्ला तहसम्मका सबै संरचनाले नयाँ नेतृत्व पायो । महाधिवेशनमा भोट हाल्न जाने प्रतिनिधि(महाधिवेशन प्रतिनिधि) चयन भए । पार्टी विशेष मोडमा पुगेका बेला नीति, सिद्धान्तको बारेमा छलफल गरी निश्कर्ष निकाल्ने महसमिति सदस्यहरु चयन भए ।


कतिपय पालिकाको नेतृत्व मतदानबाट चुनिए । महाधिवेशन प्रतिनिधिमा घमासान चुनाव भयो । जिल्ला समितिका प्राय पदाधिकारी मतदानबाट चुनिए तर जिल्ला नेतृत्व बिना बिरोध(निर्विरोध) चयन भए । यसअघिका धेरै अधिवेशनमा चुनावबाट जिल्ला नेतृत्व चयन भएका थिए तर यसपटक सर्वसम्मत(निर्विरोध) रुपमा जिल्ला नेता बनेर सबै कांग्रेस जनलाई चकित पार्न सफल नेता हुन् नन्दप्रसाद न्यौपाने ।


यसअघिको कार्यसमितिमा सचिवको भूमिकामा रहेका न्यौपाने कार्यकालभरि गाउँघर चाहारे । पालुङ्टारदेखि साम्दोसम्म, सिउरेनीटारदेखि छेकम्पारसम्म पुगेर जनमत(कार्यकर्ताको मत) बटुल्न सफल भएका न्यौपानेले पार्टी चलाउनचाहिँ सफल हुन्छन् कि हुदैनन्, हेर्न बाँकी छ ।
नेतृत्व सम्हाल्दै गर्दाको उत्साहमा उनीसँग गरिएको कुराकानीको सार अंश :


१. तपाईलाई कांग्रेसको जिल्ला सभापति चाहिँ किन हुनुपरेको ?


हेर्नुस्, म लोकसेवा पास गरेर जागिर खान कांग्रेसको सभापति बनेको होइन । विद्यार्थी कालदेखि नै राजनीतिमा समर्पित भइयो । पार्टीको पनि विभिन्न तहमा रहेर काम गरेँ । भर्खरै पनि पार्टीको जिल्ला सचिवमा निर्वाचित भएर काम गरेँ । जिन्दगीको पूरै समय पार्टीलाई समर्पित गरेर जिम्मेवारी पूरा गरेँ । अब सभापति बन्ने पालो आएको छ । त्यसैले मैले तीनबर्ष अघिदेखि नै घोषणा गरेर अहिले सभापति बन्नेछु भनेर इच्छा जाहेर गरेको थिएँ । कसैले फरक मत राख्नु भएन । सबैले विश्वास गर्नु भयो । त्यसैले सभापति बनेको हुँ ।


फेरि अर्को कुरा, राज्यसत्तामा जनाधिकार स्थापना गर्न, आर्थिक, सामाजिक परिवर्तन गरी देशको विकास गर्न कांग्रेस पार्टी जन्मेको हो । यसका लागि जिल्लाको भूगोलमा रहेर अहोरात्र खट्नेछु भन्ने उद्देश्यले म जिल्ला सभापति बनेको हुँ ।


२. सभापति बनेपछि कस्तो महशुस भएको छ ?


अरुले त विजयी भयो सोचेका होलान् तर मैले जिम्मेवारी थपिएको, चुनौति र अवसर दुवै थपिएको रुपमा लिएको छु ।


३. यो जोश र उमंगका बेला तपाईँसँग के के प्रतिवद्धता छन् ?


पार्टीमा ज्येष्ठ नेतृत्वहरु भन्दा नयाँ अनुहार धेरै देखिएको छ । यो अबस्थामा ज्येष्ठ नेता, कार्यकर्तालाई सम्मान गर्नु र युवा नेतृत्वलाई सशक्त बनाउनु मेरो पहिलो कर्तव्य हुनेछ । त्यसैले पुराना पुस्ताका नेतृत्वसँग सँधै सम्पर्कमा रहेर उहाँहरुसँग रहेको पार्टी सञ्चालन गर्ने कला, सीप, क्षमता, विविध विचार र सिद्धान्त सिक्नेछु । त्यसको साथै उदीयमान नयाँ पुस्तालाई पार्टीको नीति, सिद्धान्तका बारेमा घनिभूत रुपमा तालिम, प्रशिक्षण चलाएर सशक्तिकरण गर्नेछु ।


हिँजोका दिनमा राजनीतिक गतिविधि गर्ने मात्र पार्टीको काम हुन्थ्यो । अब बदलिँदो परिस्थितिमा पार्टीको कर्तव्य र जिम्मेवारी पनि बदलिन्छ । त्यसैले जनचाहना बमोजिम पार्टीको आन्तरिक क्रियाकलापसँगसँगै बिभिन्न खाले समस्यामा रहेका जनताको सवाल सम्बोधन गर्नुपनि राजनीतिक पार्टीको कर्तव्य हो । त्यसैले मेरो ध्यान त्यसतर्फ पनि केन्द्रित हुनेछ ।


४. पार्टीलाई पृथक तरिकाले अघि बढाउने कुनै योजना छ ?


भर्खरै अधिवेशन भएको छ । यतिबेला कतिपय विजयीहरु उत्साहित छन् । पराजित बनेकाहरु निरुत्साहित होलान् । दुवैथरीलाई एउटै मूलधारमा उभ्याउने मेरो प्रयास रहन्छ । त्यस्तै कांग्रेसको विधानले निर्दिष्ट गरेअनुसार पारदर्शी, जवाफदेही बनेर अघि बढ्नेछु । कांग्रेस जिल्लाभित्र मात्र होइन, देशका अन्य सहरमा र विदेशमा पनि छन् । उनीहरु सबैलाई समय समयमा जोड्ने प्रयास गर्छु । पार्टी सञ्चालनमा हरेकको ज्ञान, सीप बाँड्ने वातावरण मिलाउँछु ।


५. जिल्ला अधिवेशनमा त राम्रैसित गुट, उपगुट देखियो नि ? गुट, उपगुटका नेता कार्यकर्तामा बोलचालै बन्दको अबस्था छ । यस्तो बिषम परिस्थितिमा पार्टी कसरी चलाउनुहुन्छ ?


खै, अरुले के देखे, कसरी देखे, मैले त त्यस्तो देखिन । न मैले गुट उपगुटको नेतृत्व गरेँ, न म कुनै गुट उपगुटको पछाडि लागेँ । हिँजो पनि कांग्रेस सबैको साझा हो, आज पनि साझा छ, भोलि पनि हुनेछ । यदि कुनै कालखण्डमा यस्तो दृश्य देखियो भने, मचाहिँ विजयीलाई हौसला दिँदै पदीय जिम्मेवारीबाट पन्छिनु परेकाहरुलाई निरन्तर पार्टीमा जोड्छु । उहाँहरुसँग बारम्बार औपचारिक, अनौपचारिक रुपमा भेटघाट, बैठक गर्छु । उहाँहरुको सही सल्लाह, सुझाव अबलम्बन गरी अघि बढ्ने प्रयास गर्छु ।


६. भावी दिनमा चुनौति के–के देख्नु भएको छ ?


तपाईँले भने झैँ साथी, सहकर्मीहरु बीच मनमुटाब देखियो भने अप्ठेरो हुनसक्छ । जित्नेहरुको मात्र पार्टी होइन, हार्नेहरुको पनि पार्टी हो । कुनै घटना क्रमले गर्दा कार्यकर्ताले विश्वास नगर्दा एकफेर हारेको हुनसक्छ । सँधै हार्ने त हुदैन त्यसैले अधिवेशनले सिर्जना गरेको मनमुटाब साम्य पार्नु चुनौति छ ।


नेता बन्ने इच्छाले हो, नेता बनाउने जनता, कार्यकर्ताले हो । तिनै जनता, कार्यकर्ता रिझाउनु पनि सजिलो छैन ।
बदलिँदो परिवेशमा नेतृत्व पनि समय सापेक्ष हुनसक्नुपर्छ । आधुनिक जनता, कार्यकर्ताको माग पूरा गर्न सक्षम हुनसक्नुपर्छ । जसरी सबै खाले नेता कार्यकर्ताले मलाई विश्वास गरेर नेतृत्वमा चुनेका छन्, मैले पनि सबैको नेताको व्यवहार गर्नसक्नुपर्छ । सबै टुटे, फुटेका मनलाई सिलाउनु, मिलाउन सक्नुपर्छ ।


यी चुनौतिहरु हुन् ।


र अन्त्यमा ?


अन्त्यमा मलाई र मेरो सबै टिमलाई यो ठाउँमा पु¥याउनु हुने सबैलाई धन्यवाद । राजनीतिक सभा, सम्मेलन, प्रशिक्षण, भेला, गोष्ठीहरु त भइ नै हाल्छ, गोरखाको हरेक भूगोलमा पुगेर त्यहाँका जनमनको दुख पीडा समाधान गर्ने प्रयास निरन्तर भइरहन्छ । राजनीतिक मुद्धामा मात्र नभै जनजीविकासँग जोडिएका सवालहरुलाई हर बखत सम्बोधन गर्ने प्रयास हुन्छ ।

प्रतिक्रिया दिनुहोस्