| शनिबार, बैशाख ८, २०८१

भच्चेकमा आन्तरिक पर्यटक बढे

दशैँ बिदामा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आन्तरिक पर्यटक बढेका छन् । ‘पिच’ सडक भच्चेक जान सकिने भएपछि गोरखा सदरमुकाम, तनहूँ, चितवन, पोखरा लगायत ठाउँबाट भच्चेक घुम्न आउनेहरु बढेको स्थानीय बताउँछन् ।


‘वर्षातले दुई दिन कम भयो, नभए त यहाँ अत्याधिक मान्छे आउने जाने गरिरहेका छन्’ उद्योग बाणिज्य संघ भच्चेक बजार ईकाईका अध्यक्ष रेशम गुरुङले भने । जिल्ला भित्रका पर्यटक धेरै भच्चेक पुगेको उनी बताउँछन् । ‘बास बस्ने पनि छन्, बिहान आउने बेलुका फर्कने पनि धेरै छन्’ होटल ब्यवशायी समेत रहेका गुरुङले भने । आन्तरिक पर्यटक बढेसँगै स्थानीय बजारमा चहलपहल बढेको छ ।


गोरखा सदरमुकाम देखि बाह«किलो हुँदै साना गाडी सहजै भच्चेक पुग्न सक्छ । बाह«किलोबाट करिब ४५ किलोमिटरको दुरीमा भच्चेक छ । पालुङटार नगरपालिका हुँदै पनि कालोपत्रे सडक भएर भच्चेक पुग्न सकिन्छ । उच्च पहाडी भेग र त्यहाँ सम्म पुग्ने सडक कालोपत्रे भएका कारणले पनि आन्तरिक पर्यटकको रोजाईमा भच्चेक परेको छ ।


भच्चेक बजार भन्दा केही माथि नम्की होमस्टे छ । त्यहाँबाट केही माथि सिरानडाँड छ । सिरानडाँडा सम्म गत वर्ष सडकब कालोपत्रे भएको हो । भच्चेकबाट गोरखा र लमजुङका बेसी समथर फाँटपनि देखिन्छ । उच्च पहाडी भेग भएकाले त्यहाँको हावपानी चिसो छ । सफा मौसम भएका बेला हिमाल पनि नजिकै देखिन्छ । भच्चेक, नम्की, सिरानडाँडाबाट मनै लोभ्याउने दृष्य देख्न सकिन्छ ।


‘दशैँ बिदा सुरु भएदेखि टिकाको दिन पछि पनि मानिसहरु घुम्न धेरै आएका थिए’ अजिरकोट गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङले भनिन् । गाउँपालिकाले अजिरकोटको नम्की, सिरानडाँडा, भच्चेकलाई पर्यटकीय केन्द्रको रुपमा अघि बढाउने गरी बजेट बिनियोजन गर्दै आएको उनले बताईन ।


गाउँपालिका, गण्डकी प्रदेश सरकार र स्थानीयको साँझेदारीमा होमस्टे पनि संचालनमा छ । १० घरधुरीमा २० देखि ४० जना सम्म पाहुना राख्ने गरी होमस्टे संचालन गरिएको बुद्ध सामुदायिक होमस्टेकी अध्यक्ष प्रेममाया तामाङले बताईन । ‘धेरै जसो आउने जाने गरेका छन्’ उनले भनिन् ‘केही समुह होमस्टेमा पनि बसेका छन् ।’


टिकाको भोलीपल्टदेखि दुई दिन भच्चेक देखि नम्की हुँदै सिरानडाँडा जाने सडक एक छिन पनि खाली नभएको र गाडी, मोटरसाईकलको चाप अत्याधिक रहेको उनले बताईन । ‘एक दिन बसेको, एक छाक खाना खाएको पाँच सय रुपैयाँ प्रतिब्यक्ति शुल्क होमस्टेमा लाग्छ’ अध्यक्ष तामाङले भनिन् ‘थप खानेकुरा खाएमा थप लाग्छ ।’ कोरोनाको बेला बन्द होमस्टेमा पर्यटक जान थालेपछि आम्दानी सुरु भएको छ ।