| सोमवार, मंसिर १३, २०७८

दरौँदी लिफ्टिङ खानेपानीको मोडल र महसुलको बारेमा छलफल, मंसीरदेखि पानी वितरण हुने


लामो समयदेखिको प्रतिक्षामा रहेको दरौँदी लिफ्टिङ खानेपानी आयोजना मंसीरदेखि सञ्चालन हुने भएको छ । यसअघि थपिएको म्याद मंसीरदेखि सकिने र फेरि म्यादथप गर्न पनि नमिल्ने भएकाले मंसीरदेखि आयोजना सञ्चालन हुने दरौँदी लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बद्रीबहादुर मास्केले जानकारी दिए ।


सञ्चालनको अन्तिम तयारीमा रहेको सो आयोजनाले सञ्चालनको मोडल र पानीको महशुलको बारेमा शनिबार गोरखा सदरमुकाममा विस्तृत छलफल गरेको छ । ‘पानी सञ्चालन गर्ने दुईवटा मोडलको बारेमा छलफल भयो’, मास्केले भने, ‘तीमध्य दरौँदी समितिले प्रभाव क्षेत्रभित्र पर्ने २१ वटा समितिलाई पानी दिने र स्थानीय स्तरमा ती समितिले नै वितरण गर्ने मोडलकै पक्षमा सर्वसहमति जुटेको छ ।’

आयोजनाले निजी क्षेत्र(ठेकेदार)लाई पानी बेच्ने र निजी क्षेत्रले उपभोक्ताहरुलाई पानी वितरण गर्ने मोडलमा सहमति नभएको उनले बताए ।
केही दिनभित्र आयोजनाले मोडेल र महशुल दरको बारेमा ड्राफ्ट तयार गरेर अनुमोदनका लागि ल्याउने छन् ।


गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा खानेपानी तथा ढल निकास बिभागका चार जना प्रतिनिधि, संघीय खानेपानी डिभिजन कार्यालय लम्जुङका प्रतिनिधि दरौँदी समिति, प्रभावित क्षेत्रका २१ वटा समितिका अध्यक्षहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्