| सोमवार, मंसिर १३, २०७८

अपर माछाखोला जलविद्युत आयोजनाको कार्य प्रगति ५५ प्रतिशत

गोरखाको धार्चे ४ मा निर्माणाधीन अपर माछाखोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भएको छ । आउँदो नयाँबर्षभित्र विद्युत उत्पादन गरी प्रशारण गर्ने लक्ष्य रहेको प्रवद्र्धक विकास हाइड्रोपावर कम्पनीले जनाएको छ ।


४.५५ मेगावाट विद्युत उत्पादन गर्ने गरी विकास हाइड्रोपावर कम्पनीले जेर्बुखोलामा निर्माण भइरहेको जलविद्युतको काम तीब्रगतिमा अघि बढिरहेको प्रवद्र्धकमध्यका एक सरोज धितालले जानकारी दिए ।

‘पावरहाउस निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ । पाईप एलाईमेन्टको काम ५० प्रतिशत र हेडवक्र्सको काम ९० प्रतिशत सम्पन्न भएको छ’, उनले भने, ‘जेनेरेटर, टर्बाइन र ट्रान्सफर्मर तयारी भइसकेको छ । अब ढुवानी गर्न मात्र बाँकी छ । बाटोको समस्याले हामीले ल्याउन नसकेका हौँ । बाटो राम्रो बनेपछि ल्याउनेछौँ ।’


कोरोना महामारीका कारण काममा अबरोध आएको विकास हाइड्रोले जनाएको छ । ‘कामको गतिलाई हेर्दा गएको दशैँभित्र विद्युत उत्पादन गर्न सफल हुन्छौँ भन्ने लागेको थियो, तर कोरोना महामारीले गर्दा काममा अवरोध भयो । काम गर्न पाइयो भने २०७८ सालभित्र नै काम सकेर नयाँबर्षमा विद्युत उत्पादन गर्ने टार्जेट छ’, धितालले भने ।


कूल ८१ करोड ६५ लाख रुपैयाँमा बन्ने लक्ष्य राखिएको अपर माछाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय वाणिज्य वैँकले गरेको छ । बैंकले सो आयोजनामा ४९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । वाणिज्य वैँकको लगानी कुल लगानीको ६० प्रतिशत हो । बाँकी ४० प्रतिशत लगानी स्वदेशी तथा विदेशमा रहेका नेपालीले संयुक्त रुपमा गर्नेछन् ।


आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । सो आयोजनाबाट उत्पादित विद्युत धादिङको बसेरी सबस्टेशनमा लगेर जोड्ने प्रवर्धक धितालले बताए ।


जेर्बुखोलामा बाँध बाँधेर १८०० मिटर नहरबाट रेसीफाँटमा पावरहाउस बनाइने छ । २०८० सालको असारसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयभन्दा अगावै कार्यसम्पन्न गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्