| शनिबार, बैशाख ८, २०८१

लखन थापासंगै शहीद भएकाहरुको काज किरिया गर्न प्रदेश सरकारले सघाउने

गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले प्रथम शहीद लखन थापा र उनीसंगै सहादत पाएका छ जना शहीदहरुको काजकिरियाका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


सोमबार शहीद लखन थापा स्मृति स्मारकको अवलोकन भ्रमण गर्दै मन्त्री शर्माले उनीहरुको संस्कार, संस्कृतिअनुसार काजकिरिया गर्न प्रदेश सरकारले सघाउने घोषणा गरेका शहीद लखन ७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।


‘बि.सं. १९३३ फागुन २ गते काउले भँगारमा लखन थापा र उनीसंगै सहादत पाएका अरु छ जनाको मौलिक संस्कार र संस्कृति अनुसार काजकिरिया गर्ने कार्यक्रमलाई प्रदेश सरकारले बजेट तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ’, श्रेष्ठले भने, ‘शहीद स्मृति स्मारकको गुरुयोजना तयार भइसकेको छ, तर संरचना निर्माणको काम १० प्रतिशत पनि भएको छैन । त्यसका लागि पनि सघाउने मन्त्रीज्यूले घोषणा गर्नुभएको छ ।’ सो अवसरमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न पनि प्रदेश सरकारले प्रक्रिया अघि बढाउने जनाएका थिए ।


प्रथम शहीद लखन थापाप्रति देशभर श्रद्धा गर्ने, उनको बारेमा अनुसन्धान गर्ने काम भइरहेकाले उनीहरुलाई लखन किल्लासम्म डोहो¥याउन आवश्यक रहेको भन्दै मन्त्री शर्माले त्यसका लागि प्रदेश सरकारले प्रचार प्रसारमा सघाउने घोषणा गरेका थिए । ‘लखन थापालाई जनस्तरमा धेरै सम्मान छ ।

उनको बारेमा खोज, अनुसन्धानहरु भइरहेका छन् त्यसैले उनीहरुलाई लखन किल्लासम्म डोहो¥याउने खालको कार्यक्रम बनाउन गण्डकी प्रदेश सरकार तयार छ’, मन्त्री शर्माको भनाइ उद्धृत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले भने, ‘शहीद स्तम्भ बनाउन, लखन थापा र जैसिङ चुमीको पूर्ण कदको शालिक बनाउन, लखन थापाले स्थापना गरेका मनकामनाको सांकेतिक मन्दिरको जीर्णोद्धार गर्न, ढुंगेधारा, पार्क निर्माण गर्न चालु आर्थिक बर्ष बजेट तर्जुमा गर्न प्रदेश सरकार तयार छ ।’


साथै मन्त्री शर्माले लखन थापासंगै सहादत पाएका जैसिङ चुमी, विराज थापा मगर, जीतमान गुरुङ, जुठ्या मगर, अजवसिँह थापा मगर र अछामी मगरलाई पनि शहीद घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता गरेका आलेले बताए ।


जंगबहादुर राणाविरुद्ध लड्न समानान्तर सैनिक तयार गरी तालिम चलाइरहेका बेला जंगबहादुरको सेनाले १९३३ फागुन २ गते काउले भँगारस्थित ब्यारेकभित्रै नाइके लखन थापासहित अन्य छ जनालाई झुण्ड्याएर मृत्यूदण्ड दिएका थिए । उनीहरुलाई मृत्यूदण्ड दिएको सो स्थानमा गाउँपालिकाले विभिन्न संरचना बनाउने गरी गुरुयोजना बनाएको छ ।


भ्रमणको क्रममा मन्त्री शर्माले बुंकोटकाली मन्दिर र सन्तानेश्वर महादेव मन्दिरको पनि अवलोकन गरेका थिए ।