| सोमवार, असार १३, २०७९

जनप्रतिनिधि भन्छन् : यो गतिले कुन्दुरटार सिंचाई पुरा हुँदैन, बिकल्प खोजौँ

२०५८/५९ सालमा रातो किताबमा समेटिएर महत्वपूर्ण योजनाको रुपमा गोरखाको कुन्दुरटार सिंचाई आयोजना सुरु भयो २० वर्ष बित्यो । तर अहिले सम्म १७ किलोमिटर नहर निर्माण पुरा भएको छैन ।

तत्कालिन समयमा आयोजना सुरु हुँदा गरेको सर्वेक्षण र अहिलेको अवस्था धेरै फरक छ । नहर हुनुपर्ने ठाउँमा अहिले घर, सडक, नयाँनयाँ संरचना निर्माण भएका छन् । आयोजना बन्छ भन्नेमा स्वयम उपभोक्ता शंका गर्छन । २० वर्ष सम्म १७ किलोमिटर निर्माण हुन नसकेको नहरमा तीन वर्षयता फेरी पुन निर्माण सुरु गरिएको छ ।

वर्षेनी तीन÷चार करोड बजेट खर्च भएको छ तर नहरमा पानी बग्नुको सट्टा पैसामात्रै बग्यो । अहिले नहरको मुहानदेखि नै पानी बग्न समस्या छ । त्यस क्षेत्रका जनप्रतिनिधि कुन्दुरटार सिंचाई आयोजनाले जनतालाई भ्रममा पारेको, पैसा मात्रै धेरै खर्च भएको भन्दै बिकल्प खोज्नुपर्ने बताउँछन् ।

चुलबहादुर कुँवर

‘नहर मुहान छेउकै खेतमा पानी छैन’
नहरको विषयमा धेरै पटक कुरा उठाउँदै आएका छौँ । पानी चलिहाल्यो भने पनि कुलोभन्दा मुनिका खेत, बस्तीमा पानी चुहिने हुन्थ्यो । संरक्षण र मर्मत संहार हुन सकेको थिएन । वर्षौँ देखिको समस्या अहिले पनि उस्तै छ ।

नहर रहेको स्थान दरौँदीको मुहानबाट दायाँबायाँ ढलान गर्दै बनाउनुपर्छ । अहिले त छेपेटारमा नहर ढलान गर्ने तर मुहनबाट पानी बगेको छैन । त्यसको के अर्थ ? नहर लाने भनिएको ठाउँमा अहिले छेपेटारमा घर घडेरी बनिसक्यो ।

पहिले त्यहाँ खेत थियो भनेर नहरको योजना बनाइएको थियो । बोहोराफाँट र बेनीखोला फाँटलाई पनी सिंचाई सुविधा पुग्न नसकेको बेला कसरी कुन्दुरटार पुग्ला र ।

वर्षेनी नहर मर्मतलाई पैसा आउने रहेछ । त्यो सबै झार उखाल्ने सिध्याउने गरे । जहाँ पहिरो गएको छ त्यहाँ बलियो बनाउने हो । मुहान देखि सुरु ग¥यौँ भने त्यहाँदेखि राम्रो बनाउँदा नहर बन्छ भनेका हौँ । करोडौँ पैसा वर्षेपिच्छे आउँछ ।

मुहानबाट बलियो बनाउँदै ल्याउने हो भने अहिले भएजस्तो धेरै खर्च लाग्दैन । अहिले त नहरको मुहान नजिकै खेत भएकाले पनि सिंचाई गर्न पाएका छैनन् ।

खिलबहादुर राना

जहाँ सम्म पानी लैजान सकिन्छ त्यहाँ सम्म मात्रै चलाऔँ
नहरको विषयमा सिंचाईमा म आफैँ गएँ । प्रमुख भेट भएन । निमित्त प्रमुख भेटेँ । सुचना माग्दा पनि दिएनन् । स्टमेट हेर्न पनि दिएनन् । काम कसरी कहाँ के भईरहेको छ भन्ने बारेमा जनप्रतिनिधिलाई सुचना नदिने कार्यालयले कस्तो काम गरिरहेको होला ? यसमा पनि अनियमितता हुन सक्छ ।

नहरमा काम नै भएको छैन । जहाँ सजिलो छ त्यहाँ काम भएको छ । हरेक वर्ष ५० लाख भन्दाबढि झार उखल्ने, नहर सफा गर्ने नाममा सकिएको छ । तीन चार करोड वर्षेनी खर्च भएको छ पानी पहिले बगेको ठाउँ सम्म पनि पुगेको छैन ।

पुरै नहर बन्ला जस्तो लाग्दैन । पहिलेको योजना अनुसार अहिलेको अवस्था छैन । जहाँ सम्म पानी लैजान सकिन्छ त्यहाँ सम्म निर्माण गरेर अघि बढ्नुपर्छ ।

अहिले नहरमा तीनवटा ठेक्का छ तर काम भएको छैन । मेरो वडा क्षेत्रमा काम भएको छैन । निर्माण ब्यवशायीको काम जनताले चित्त बुझाएका छैनन् । तुरुन्त काम गर्नुहोस् भने । बैशाख भित्रमा पानी चलाउनुपर्ने थियो तर अहिले सम्म काम गरेको छैन ।

धेरै अघि बनाएको उपभोक्ता समितिले पनि पनि त्यही हुँदा आएको बजेट समितिले पनि टालटुल गरेर सक्ने गरेको छ । नहर जाली जस्तो छ । हरेक वर्ष बनाएको चाँही कहाँ हो ? नहर वरपरका ब्यक्तिको घर, आगन, खेतबारीमा नहरले पानी चलाउँदा क्षती पुग्ने अवस्था छ ।

प्रदिप कुँवर

जहाँ सजिलो छ त्यहाँ काम गरेर नहर बन्दैन
२०५८/५९ मा जुन योजनाका साथ नरह बनाइएको थियो त्यो बेलाको अवस्थान परिस्थिती अहिले छैन । छेपेटारमा हिजो भन्दा धेरै बस्ती बढेको छ ।

अहिले बस्ती भएको फाँटमा पहिले खेतीयोग्य जमिन बढी थियो । त्यो टारलाई सिंचाई गर्ने उद्देश्य राखेर नहरको योजना बनेको हुनुपर्छ । पुरै नहर बन्छ जस्तो लाग्दैन ।

सिर्दिखोलाको मुहान सम्म पानी ल्याउन सकियो भने त्यहाँको फाँट सम्म सिंचाई हुन्छ कि भन्ने हो । तर त्यहाँ भन्दा अघि बन्ने संभावना छैन । नहर लाईनमा घर, सडक बनेको छ । हाम्रो समस्या भनेको चाँही समिति बन्ने राजनीतिक पहुँचको आधारमा बन्ने समितिले आएको पैसा सही सदुपयोग नगर्ने पनि देखियो ।

केही ठेक्का लगाउने केही समितिलाई काम गर्न दिने गर्ने गरिँदो रहेछ । समितिले पनि काम ठेकेदारलाई दिने रहेछन । वर्षेनी काम समितिले गरेको छ । झार फालेको बिल नै लाखौँ खर्च गर्छन । यो वर्ष पनि त्यस्तै अवस्था छ ।

सबैभन्दा ठुलो समस्या चाँही गत वर्ष नहरमा पानी आजै आउने झैँ गरेर काम गर्दा किसानको घर चर्किने, टहरा भत्किने कृषिको खोरहरु पनि भत्काईयो । ति किसानलाई क्षतीपूर्ती दिने भनियो ।

तर अहिले पनि वडा कार्यालयमा गत वर्षको चेक सटही नभएको भन्दै सर्वसाधराण गुनासो लिएर आएका छन् । न कुलामो पानी बगेको छ न त जनताले क्षतीपूर्ती पाएका छन् ।

बिच भागमा ढलान गरिएको छ । नहर पुरिएको छ । त्यहाँ हिलो सहितको लेदो जमेको छ । त्यो निकाल्न सहज छैन । त्यसै बजेट मात्र खन्याएर सजिलो ठाउँमा काम गराउन कार्यालय र निर्माण ब्यवशायी शक्रिय देखिन्छन् ।

यो नहरमा करोडौँ बजेट सक्नु भन्दा आवस्यकता अनुसार ठाउँ छुट्याएर सिंचाईको अर्को बिकल्प खोज्दा बेश हुन्छ ।

रामबहादुर खड्का

‘अब पम्पिङ सिंचाईमा लागौँ’
यसको बारेमा धेरै पटक कयौँ ठाउँमा आवाज उठाईयो । पहिले पनि म समिति थिएँ । त्यतीबेला बरु छेपेटार सम्म पानी झारेका थियौँ । तर अहिले खै त्यो पनि छैन । बजेट परेको प¥यै छ बजेट खर्च हुन्छ त कहाँ जान्छ खै, नहर बन्दैन ।

त्यहीबेला नहर कुलोको आवश्यकता थियो । संभावना पनि थियो । अहिले सम्म नहरले निरन्तरता नपाउँदा पुरै नहर निर्माण गरेर कुन्दुरटार सिंचाई गर्छु भन्ने कुरा सान्र्दभिक नहुने देखियो ।

कुन्दुरटारको लागि लक्षित गरेर बनाउनु लागिएको योजना थियो । अहिले त्यहाँ घर घडेरी बस्ती बिकास हुने क्रम बढेको छ । नहर कुलो निर्माण त होला पानी पनि जाला तर त्यो पहिले गरिएको योजना र आवस्यकता अनुसार हुँदैन ।

हाम्रो फाँट खोलाको नजिक छ । बरु त्यो योजना हटाएर दरौँदीबाट लिफ्ट गरेर हरेक फाँटमा छुट्टाछुट्टै योजना बनाउने हो भने त्यो छिटो र दिगो पनि हुन सक्छ । पम्पिङ गरेर छेपेटार, सिर्दिफाँट, कुन्दुरटारमा सिंचाई सुविधा पु¥याउँदा सस्तो, छिटो, भरपर्दो देखिन्छ ।

त्यो उपयुक्त हुन्छ । राज्यको पनि खर्च कम हुन्छ । कुन्दुरटार नहर बनाउँदा सडक पनि बनाउुनपर्ने हो । खर्च धेरै लाग्छ । लामो समय निर्माण नभएको कारण कुलो नहरको क्षेत्रमा बस्ती, घडेरी घर, स्कुल छ । सिंचाई गर्नुपर्ने खाली जग्गा पनि ब्यवस्थित छैन । खेतीपाती गरेका छैनन् ।

कुलो ल्याउनका लागि ल्याउने हो भने पानी पनि आउला । राज्यले सजिलो छिटो काम गर्ने हो, कम खर्च गर्ने हो भने पम्पिङ नै बैकल्पिक उपाय हो । स्थानीय पनि कुन्दुरटार कथा भयो मागि खाने भाडो भयो भन्छन् ।

समितिले ठेक्का लगाउने कम गरे झैँ गर्ने हो । अहिले सम्म राज्यको सम्पत्ती दुरुपयोग भएको छ । यसरी कुन्दुटार नहर बन्दैन ।

डिलबहादुर थापा मगर

अहिले भएको काम पैसा सिध्याउने मेलो मात्रै हो
कुन्दुरटार सिंचाई भनेको २० वर्ष भयो । तर अहिले त्यहाँ सम्म नहरले छोएकै छैन । जुन ढंगलजे काम गरिरहेको छ त्यो योजना र कार्यालयले काम गरेको हिसाबले यो सिंचाई योजना सम्पन्न हुँदैन ।

छेपेटारमा डिजाईन गरिएको तरिकाले पानी ल्याएर कुन्दुरटार सम्म पानी आउँदैन । आज त्यहाँ हेर्ने हो भने अन्डरग्राउण्ड बाट हावा पनि पास हुँदैन पानी कसरी आउला ?

मागिखाने भाँडो मात्रै भयो । विज्ञहरुले एउटा ढंगको भिजिट गरेर योजना बनाएर अघि बढ्यो भने ठुलो लगानीमा पानी त आउला तर दिगो हुन समस्या छ । यतिकैमा पानी आउन गाह«ो छ ।

२० वर्ष अघिको योजना अनुसार केही मिल्दैन । हरेक वर्ष दुई चार करोड सिध्याउने गरी काम भएको छ । यो उपलब्धीहिन छ । उपभोक्ता समितिमा एउटै मान्छे धेरै कार्यकाल भयो ।

काम गर्न नसकेको महशुस भएको छ । उयपभोक्ताबाट हुनुपर्ने काम पनि भएको छैन । सबै उपभोक्ताको भेलाले नयाँ समिति बनाएर अघि बढ्नुपर्छ । तर यो योजना २०५८ सालको लक्ष्य अनुसार पुरा हुन भने सहज अवस्था छैन ।

यहाँका ठुला टार सिंचाई गर्न नयाँ बिकल्प खोजिनु राम्रो हुन्छ । तल्लो कान्लामा दरौँदी बग्ने माथिल्लो टार सुख्खा हुने अवस्था अन्त्य हुनुपर्छ । कुन्दुरटारको आसले आज सम्म यस क्षेत्रमा अन्य कुनै सिंचाई योजना बनेनन् । माग भएन ।

अब त्यो पनि बन्ने छाँटकाँट देखिन्न । जनताहरु पनि कुन्दुरटार बन्ला भन्नेमा विश्वस्त छैनन् ।

प्रतिक्रिया दिनुहोस्